PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

दश मिलिसेकेन्डले जित दिलाउने सन्तोषीको त्यो ‘किक’ जसले नेपाली महिला एथ्लेट्समा रच्यो इतिहास



स्वेच्छा राउत

दश मिलिसेकेन्डले जित दिलाउने सन्तोषीको त्यो ‘किक’ जसले नेपाली महिला एथ्लेट्समा रच्यो इतिहास

१३ औं सागको एथ्लेटिक्सको महिला १० हजार मिटर दौड सुरु हुन केही बेर बाँकी थियो। एथ्लेट सन्तोषी श्रेष्ठको मुटुको गति बढ्न थाल्यो। किनकि उनीसँगै ट्र्याकमा दौडन तम्तयार थिए दक्षिण एसियाका उत्कृष्ट एथलेट्स। श्रीलंकाकी एथ्लेट हिरोइन। भारतकी कविता यादव त सेलिब्रेटी नै, जसबाट सन्तोषी प्रेरित छिन्। उनीहरुलाई सामाजिक सञ्जालमा फलो समेत गर्छिन् सन्तोषी।

आफूले सधैं समाचार वा इन्टर्नेटमा देखिरहेकाहरु एउटै ट्र्याकमा उभिएका थिए, उनको प्रतिस्पर्धी बनेर।

खेलअघि सन्तोषी हड्बडाउनुको अर्को कारण थियो - अन्य देशका एथलेट्स विशेषत: दश हजार मिटरको दौडकै लागि निखारिएका। त्यसैले उनलाई लागेको थियो- 'मैले उनीहरुलाई जित्न सक्दिन। तर, पनि आफ्नो शत् प्रतिशत दिन्छु।'

दौडन सुरु गर्नुअघि सन्तोषीले योजना बनाइन् - पाँच किलोमिटरसम्म प्रतिस्पर्धीहरुको पेस हेर्ने। त्यतिन्जेल नआत्तिने। योजनासँगै हौस्याएको थियो- दर्शक दीर्घामा बसेर आफ्नो समर्थनमा कराउनेहरुको आवाजले।

दौड सुरु भयो। त्यसपछि उनको पूर्ण ध्यान पाइलाको गतिमा। कुद्दाकुद्दै जब उनको ध्यान दर्शकका लागि राखिएको डिजिटल टाइममा पर्‍यो तब उनी छक्क परिन्। 'रेस त मैले सोचेको भन्दा बिल्कुल फरक भयो। त्यति स्लो पेस होला भन्ने सोचेको पनि थिइन। त्‍यति त हामी सामान्य ट्रेनिङ गर्दा पनि सजिलै पार गर्थ्यौं,' उनले ट्र्याकमा दौडँदै गर्दाको क्षण सम्झिइन्।

लगत्तै प्यारापिटमा बसेर उनी कुदेको हेरिरहेका प्रशिक्षक रघुराज वन्त कराए- 'जाउ नानी जाउ।'

त्यसपछि सन्तोषीले आफ्ना अघि पछि दौडिएकाहरुको ‘स्टारडम’ बिर्सिइन्। उनीहरुको विशेषतामाथि उनको ध्यान हट्यो। उनीहरुलाई हराउँछु भन्ने भाव पनि जागेन। तर, आफू जित्नुपर्छ भन्नेमा चाहि समर्पित। वर्षौदेखि उनलाई प्रशिक्षण गराउँदै आएका रघुराज वन्तको मिहेनत सम्झिइन्। सागका लागि उनलाई तयार पार्ने वन्तले गरेको मेहनत सम्झदा उनको गति बढ्दो। आफ्ना परिवारले दौडनका लागि बनाइदिएको वातावरण सम्झिइन्। एथ्लेटिक्समा लाग्न प्रेरित गर्ने एथ्लेट लक्ष्मण मल्ललाई पनि झलक्क सम्झिइन्।

'रङ्गशालाको ट्र्याकमा लगाएको त्यो २५ चक्करमा मैले धेरै कुरा सम्झिएँ। त्यो अवस्थामा सम्झना आउने भनेकै निकै महत्वपूर्ण घटना र मान्छेहरुको रहेछन्। र, ती सम्झनाले मेहनत गर्न हौस्याउँदो रहेछ,' उनले केही गम्भीर भएर सुनाइन्।

दौडँदादौडँदै अन्तिम ल्याप सुरु भयो। ५० मिटरको दुरी बाँकी हुँदा उनीभन्दा केही मिटरमात्र दुरीमा रहेकी भारतीय एथ्लेट्स कविता यादव ठाउँ ‘किक’ दिएर उनी नजिकै आइपुगिन्। सन्तोषी केही हच्किइन्। ठाउँ साँघुरियो। सन्तोषीले तत्काल टेक्निक लगाइन्। केही सेकेन्डलाई टक्क अडिइन् र पछाडि सरिन्। उनी उभिँदा कविता उनीभन्दा अलिकति अघि पुगिन्। सन्तोषीले दाहिने ट्र्याक समातिन् र किक गर्ने मौका पाइन्। जुन किकले सन्तोषीलाई कविताभन्दा दश मिलिसेकेन्डले अघि बनायो।

र, त्यो दश मिलिसेकेन्डले जितायो सन्तोषीलाई। यो जित सन्तोषीका लागि रेकर्डमात्र थिएन। नेपाली महिला एथ्लेटिक्समा नयाँ इतिहासको सुरुवात पनि थियो। साग इतिहासमा नेपालका लागि स्वर्ण पदक जित्ने पहिलो महिला एथ्लेट बनिन् उनी। र, दर्शक दीर्घामा खुशीको चिच्याहट् सुनियो।

'दर्शक खुशीले कराउँदा थाहा पाएँ, नेपालले स्वर्ण जितेछ। मलाई आफूले होइन देशले जितेजस्तो लाग्यो। मेरो कोचले जितेजस्तो लाग्यो,' दङ्ग परेर सुनाउँदा उनको मुहार चहकिलो देखियो।

जितको खुशीमा रमाइरहेका थिए सबै। उनका आँखाले भने पालैपालो आफ्नाहरुलाई नियालिरहेको थियो। प्यारापिटमा गुरु रघुराज वन्त रोइरहेका रहेछन्। उनीसँगै प्रशिक्षण गरेका साथीहरु रमाइरहेका थिए। पहिलोपटक आफ्नो खेल हेर्न पुगेका आमा लक्ष्मीदेवी श्रेष्ठ र बुबा विष्णुकुमार श्रेष्ठलाई भने देखिनन्।

दाजु केदार श्रेष्ठ पनि आफ्नो खेल हेरिरहेका छन्, आफूले जितेपछि गर्विलो छाती लिएर उभिएका छन् भन्ने सोचेकी थिइन् उनले। तर, दाजु रङ्गशाला भित्र छिर्नै पाएनछन्। बहिनी दौडिइरहँदा उनी बाहिर बसेर पटकपटक भित्र भइरहेको खेलको अपडेट लिइरहेका थिए।

'मेरो दाइले मलाई दौड्न उर्जा नथप्नु भएको भए म आज साग खेलिरहेको हुन्नथेँ। स्वर्ण वा अन्य कुनै पदकले अर्थ राख्दैन थियो। म पढाई वा कामको बहाना बनाएर यो सबैबाट टाढा हुन्थेँ,' उनी दौडका लागि परिवारबाट पाएको समर्थनप्रति अनुग्रहित सुनिइन्, 'दाइले सधैं भन्नुभयो - पूरै समय खेलमा दिनेहरुको खेल बाहेक केही हुँदैन। उनीहरुले त जितिहाल्छन्। तिमी पढाई सँगसँगै खेलेर देखाउ। जागिर सँगसँगै जितेर देखाउ।'

दाइ केदारले अन्य रेसहरु, च्याम्पियनसीपहरु कहाँ छन् खोजिदिन्थे। फारम भरिदिन्थे। कलेज पढिरहेकी बहिनीलाई दौडमा भाग लिनका लागि हौस्याउँथे। आवश्यक सहयोग गर्थे। दाइले त्यस्तै गरी पठाएका थिए 'एडिडास टेन क' नामक रेसमा दौडन। त्यहाँ उनले तस्रो स्थान ल्याइन्। तर, प्रस्तुति र लगनशीलताको हिसाबले अब्बल ठहरिन् एथ्लेट रघुराज वन्तको नजरमा। वन्त पूर्व ओलम्पियन तथा नेपाल एमेच्योर एथ्लेटिक्स संघका पूर्व अध्यक्ष। २०७१ को अन्त्यमा भएको त्यस रेसपछि रघुले सन्तोषीलाई प्रशिक्षण दिन थाले। पारिवारिक सम्बन्ध समेत रहेको वन्तले सन्तोषीलाई प्रशिक्षण दिनुपूर्व अघि सारेको एउटै सर्त थियो- खेलमा लागे पनि पढाई छाड्न पाइँदैन।

'किनकि यहाँ क्षमता भएर पनि अवसरहरु निकै कम छन्। जसका कारण खेलाडीहरु एक दुईवटा खेलमा नाम कमाउने र त्यसपछि गुमनाम हुने गर्छन्। खेलसँगै आफ्नो पढाई, पढाई अनुरुप काम भयो भने खेलकै भर पर्नुपर्दैन। विदेशिनु पर्दैन,' वन्तले तर्क अघि सारे, 'फेरि एथ्लेटिक्स सहज छैन। शारीरिक साथै मानसिक कसरत् गर्नुपर्छ। शरीरिक मेहनतबाहेक मानसिक रुपमा फिट रहन, टेक्निकहरु बुझ्न पनि पढाईले निकै ठूलो भूमिका खेल्छ।'

वन्तको पूर्ण साथ र सहयोगकै कारण सन्तोषीले खेल र पढाईलाई सँगसँगै लिएर अघि बढ्न सकिन्। लिटल बुद्ध कलेजबाट पब्लिक हेल्थमा ब्याच्लर्स सकिन्। पढ्दै गर्दा तालिममा पनि नियमित सक्रियता रह्यो उनको। विदेशमा 'गेस्ट एथ्लेट' को रुपमा सहभागी पनि भइन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार खेलमा भाग लिएकी थिइन् उनले। एउटा रिले रेस बाहेकमा पन्ध्र सय मिटरको रेसमा उनले रजत पदक जितिन्। त्यस्तै पाँच हजार मिटरको रेसमा स्वर्ण नै जितिन्। र, दश हजार मिटरमा कास्य।

राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको त्यही सफलताले उनलाई सागका लागि क्लोज क्याम्पमा पार्‍यो।

'त्यसपछि खुशीको सीमा रहेन। मैले पनि अन्तर्राष्ट्रिय खेल खेल्ने भन्ने कुरा सम्झँदै दङ्ग पर्थेँ। पहिले त मम्मीले तँ छोरी मान्छे धेरै कुद्न सक्दिनस् भन्नु हुन्थ्यो। तर, सागका लागि छनौट भएपछि तैँले जसरी पनि सबैभन्दा छिटो कुद्नु पर्छ भन्न थाल्नु भयो,' आमामा आएको परिवतर्न सुनाउँदा उनी मुस्कुराइन्, 'मेरो साग तयारीका लागि घरको माहोल नै पूरै फेरियो।'

साग नेपालले आयोजना गर्ने वा नगर्ने निश्चित भइसकेको थिएन। तर, पनि तालिम जारी थियो। त्यसैले सन्तोषीलाई काम र तालिमको समय मिलाउन साह्रै कठिन। एकातिर अन्तर्राष्ट्रिय खेलको मौका र अर्कोतिर निकै राम्रो तलबसहित एनजिओको जागिर। त्यो ५०-५० वाला परिस्थितिमा धेरै अल्मलिनन्। जागिर त्यागिन्।

साथीहरुले भने- ‘सन्तोषीलाई पैसा बढी भएको।‘

'घरमा पैसा मागेर खेल्नका लागि कुद्न निकै अप्ठ्यारो हुन्थ्यो। तर, पनि हरेक दिन ट्रेनिङ पछि म केही गरेरै छाड्छु भन्ने आँट भरिन्थ्यो,' उनले भनिन्।

र, त्यो आँटले दिलाएको सफलताको उत्सव आज उनीसँगै थुप्रै खेलप्रेमीले मनाइरहेका छन्। देशले नै मनाइरहेको छ।

खेल हुने बिहान उनी बसेको होटलको तल गाडी लिन आयो। गाडीमा उनी र सँगै कुद्न तयार यस वर्षका राष्ट्रिय च्याम्पियन विश्वरुपा बुढा थिए। त्यो भव्य गाडीमा उनीहरु अनि अघिअघि प्रहरीको स्कर्टिङ!

'हाम्रो लागि यो सुविधा, यो सुरक्षा दिइएको छ। यसबाहेक ट्रेनिङका लागि त्यत्रो समय र खर्च! लाग्यो- हामीले पनि देशको लागि केही न केही त दिनै पर्छ,' प्रतियोगिताको बिहानको घटना सुनाइन्, 'त्यहाँदेखि बढेको मुटुको ढुकढुकी देशको झण्डा घाँटीमा भिरेर रङ्गशालामा नघुम्दासम्म साम्य भएन।'

त्यसपछि उनको फोनको घण्टी निरन्तर बजिरहेको छ। बधाई र धन्यवादको ओइरो उत्तिकै। हिजोसम्म आएका 'अल द बेस्ट' मेसेजहरुले चुनौतीहरु सम्झाउँथे। आज आएको बधाई मेसेजहरुले थप जिम्मेवारीवोध गराएको छ।

'हिजोको आजै कति धेरै परिवर्तन,' भनिन्, 'यस्तो मेसेज र फोन त कहिले पनि आएको थिएन।'

नजिकै बसेर कुरा सुनिरहेका प्रशिक्षक वन्तको मुहारमा सन्तुष्ट देखिन्थ्यो। 'यस्तो खेल पनि त कहिले खेलेको थिएनौं। यस्तो मेडल पनि त कहिले जितेको थिएनौं। तिमीले आफूसँगै थुप्रै महिला एथ्लेट्सलाई अवसरहरुको ढोका खोलिदिएको छौं,’ सन्तोषीलाई उनी भन्दै थिए, ‘अब गर्न सक्ने नसक्ने तिमीहरुकै मेहनत र लगनशीलतामा भर पर्छ।'

सन्तोषी भने आजको जितको उत्सवलाई ऊर्जामा बदल्न तयार छिन्। उनी भोलिदेखि नै आगामी २० गते हुने पाँच हजार मिटर रेसको तयारीमा जुट्दैछिन्। अहिलेलाई चाहिँ सन्तोषीलाई सबैले भनौं – अल दी बेस्ट। 

*यसअघि १० मिलिसेकेन्ड हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। -सं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell