- सुमित मिश्र-
जनकपुर : १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जनकपुरधामस्थित कभर्डहल तयारी भएको छ।
जनकपुरमा साग खेल हुने भएपछि जीर्ण अवस्थामा रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ। जनकपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो। यहाँ सागअन्तर्गत कुस्ती प्रतियोगिताका सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ।
पहिलो पटक जनकपुरधाममा सागको आयोजनाका अवसरमा प्रतियोगिता हुने भएपछि तीव्र रुपमा कभर्डहललाई तयार भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरीले जानकारी दिए। प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए।
सागको कुस्तीका लागि ५ देशका पुरुष र महिला गरी ७५ खेलाडीसहित १ सय २५ अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक, निर्णायक जनकपुर आउने अध्यक्ष चौधरीले बताए।
साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल र बंगलादेशबाट खेलाडीहरु सहभागी हुन जनकपुर आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए।
जनकपुरमा मंसिर २० गतेदेखि कुस्तीमा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आइपुगेका छन्। त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन्।
त्यसैगरी खेलकुदको क्रममा खेलाडी वा दर्शकसँग हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तत्काल उपचारको सम्पूर्ण व्यवस्था समेत मिलाइएको छ। यसको लागि आइसियू कक्षसहित भेन्टिलेटर, एम्बुलेन्स सेवा समेत चौबिसै घण्टा उपलब्ध रहने जनाइएको छ।