PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साग फुटबल : अंक तालिकामा भुटान अघिअघि, नेपाल पछिपछि



साग फुटबल : अंक तालिकामा भुटान अघिअघि, नेपाल पछिपछि

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा भुटानले आज उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ। दशरथ रंगशालामा आज भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले हराउँदै ६ अंक जोडन सफल भएको हो।

भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। यो जितले पाँच टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्ष स्थानमा उक्लेको छ।

भुटानको तीन खेलबाट छ अंक भएको छ। माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह्यो। माल्दिभ्सले आफ्नो शुरुवाती दुवै खेल बराबरी खेलेको थियो। यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने स्वर्णको बलियो दावेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन हुनेछ।

दशरथ रंगशालामा भएको यू-२३ फुटबलमा भुटानले गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो। उसका लागि ५५ औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे। यस्तै ८४ औं मिनेटमा फुब थिन्लले दोस्रो गोल गरे। खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए तर खेलमा फर्कन यो काफी हुन सकेन।

जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक भएको प्रतिकृया दिए। उनले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं। हामी आज जितका लागि पूर्ण हकदार थियौं।’

बिहीवार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो। बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे।

जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आफ्नो सम्भावनालाई जीवन्त पारेको छ। बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो। श्रीलंका भने दुई अंकमै सीमित रह्यो। आयोजक नेपाल चार अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell