PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एउटा साइकल सपना : वर्कसपको मिस्त्रीदेखि राष्ट्रिय च्याम्पियनसम्म



स्वेच्छा राउत

एउटा साइकल सपना : वर्कसपको मिस्त्रीदेखि राष्ट्रिय च्याम्पियनसम्म

पाँच रुपैयाँ तिर्दा एक घण्टा साइकल भाडामा मिल्थ्यो। साइकल भनेपछि हुरुक्कै हुने अजय पण्डित र उनका साथीहरु आरुबारीबाट हिँड्दै जोरपाटी पुग्थे। बल्लबल्ल जोहो गरेको पैसा बुझाउँथे र पुरानो साइकल लिएर निस्कन्थे।

साइकल पुरानो भए पनि चलाउने जोश हरेकपटक नयाँ हुन्थ्यो। त्यसैले, साइकल लिएर उनीहरु शहरदेखि टाढा टाढासम्म पुग्थे - कहिले दक्षिणकाली त कहिले नारनथान।

तर, सधैं साइकल भाडामा लिन पैसा हुन्थेन। त्यस्तोमा सबैजना मिलेर पैसा जम्मा गर्थे। एउटा साइकल भाडामा लिन्थे। एउटैमा तीनजना चढ्थे। अगाडि फ्रेम (डन्डी) माथि बस्नेको जिम्मा ह्यान्डिल कभर गर्नु हुन्थ्यो। सिटमा बस्नेले भने प्याडल चाल्ने जिम्मा लिन्थे। पछाडि क्यारियरमा बस्नेको चाहिं अगाडिका दुईमध्ये एकलाई पालो दिने।

भाडामा राखिने पुराना साइकलमा त्यसरी तीनजना बस्दा साइकल बिग्रने, टुट्ने, फुट्ने त सामान्य नै हुन्थ्यो। बनाउने पैसा नहुँदा सुटुक्क लगेर राखिदिन्थे र भाग्थे। कतिपटक भने बनाउन लिएर जान्थे।

साइकल पसलहरुमा डोहोर्‍याउँदै पुर्‍याएको साइकल चलाएर फर्काउन मिल्ने हुन्थ्यो। बिग्रिएको साइकलहरु बन्थे।

अजयलाई भने घरको त्यो पूरानो इन्डियन साइकल याद आउँथ्यो। त्यो साइकल जसको उनले पहिलोपटक ह्यान्डिल समातेका थिए। प्याडल पनि चालेका थिए। त्यो साइकल बिग्रिएर घरको एउटा कुनामा थन्किएको थियो, धुलाम्य बनेर। साइकल बनाउनेबारे उनले सोचेका समेत थिएनन्। त्यसैले उनलाई लाग्थ्यो साइकल बनाउन सक्नु निकै साहसिक काम हो। मनमनै ठान्थे - ‘म पनि कुनै दिन साइकल बनाउन सक्ने हुन्छु।’

रहरैले उनलाई कमलाक्षी बजारभित्रको साइकल बनाउने पसलसम्म पुर्‍यायो। त्यहाँ थियो जितेन माउन्टेन बाइक वर्क सप। एसएलसी परीक्षा लगत्तै उनले त्यहाँ साइकल बनाउन सिक्दै पसलको काममा सघाउन थाले। त्यहाँ काम गरेपछि थाहा पाए - साइकल त धेरैखाले हुने रहेछ। घरमा थोत्रिएर रहेको र जोरपाटीको साहुले भाडामा लगाउने खालका मात्र नहुँदा रहेछन्। तरकारी बेच्नेले चलाउने र कवाडी सामान लिन आउनेले घिच्याउँदै लैजाने भन्दा फरक साइकलहरु त कति हुन् कति! माउन्टेन, ट्र्याक, रोड बाइक, बिएमएक्स आदिआदि। यी सबै साइकलका फरक विशेषताबारे थाहा पाउँदा चकित परेका थिए उनी।

साइकल पनि सडक अनुरुप फरक हुने र यो खेल पनि हुने थाहा पाउनु उनका लागि अनौठो नै थियो। साइकलको मूल्य लाखौं पर्ने भन्ने पनि पसलमा काम गर्न थालेपछि मात्र थाहा पाए उनले। त्यहाँ बनाउन ल्याइने साइकल र सामानबारे जिज्ञासु थिए उनी। कुनैले साइकलले त निकै लोभ्याउथ्यो पनि।

वर्कसपमा साइकल बनाउन आएकाहरुसँग बिस्तारै अजयको हिमचिम बढ्न थाल्यो। अजयको लगनशीलता र मेहनतको तारिफ गर्ने ती ग्राहकहरुसँग माउन्टेन बाइक हुन्थ्यो, उकालोमा पनि गुड्ने। ती बाइकर्सहरु हरेक साता साइकल टुरका लागि निस्किन्थे। अनि टुरबाट फर्किएपछि साइकल सर्भिसिङ गराउन ल्याउथे।

‘साइकल रेस र टुरको बारेमा उहाँहरुको कुरा सुनेर म दङ्ग पर्थें। मलाई पनि साइकल चलाएर डाँडाकाँडा घुम्न मन लाग्थ्यो। साथीहरुसँग दक्षिणकाली पुग्ने कच्ची बाटोमा साइकल घिसारेको याद आउँथ्यो,’ अजयले सुनाए।

उनीहरुको कुरा सुनिरहेका अजयले एक दिन मन थाम्न नसकी भने - मलाई पनि टुरमा लिएर जानुस् न।

तर, उमेरले भर्खरै १६ लागेका उनलाई त्यस समयका माउन्टेन बाइकर्सहरुले पत्याएनन्। ठाँडै भने - तिमी सक्दैनौं।

फेरि टुरका लागि उनीसँग आफ्नो साइकल थिएन। घरबाट वर्क सपसम्म ओहोर दोहोरका लागि पसलकै मालिकले सामान्य साइकल दिएका थिए। तर, पनि राइड जाने जिद्धी छाडेनन्। त्यस्तो अवस्थामा साथ दिए एकजना राइडरले, जसले अजयको जिम्मेवारी लिने भए।

‘को थिए याद छैन। पसलमा आइराख्नु हुन्थ्यो। उहाँले दिलाउनु भएको त्यो एउटै टुरको मौकाले मेरो साइकल जीवनको ट्र्याक परिवर्तन गरिदियो,’ अजयले सुनाए।

एक हुल माउन्टेन बाइकर्स साइकल सहित निस्किए। तीमध्ये धेरैलाई साइकल सोखको विषय थियो। महङ्गो साइकल र खासै चर्चामा नआएको खेल भएकाले राइडर्सहरुको सान बेग्लै। त्यो भिडमा थिए कान्छा राइडर अजय जो आफू काम गर्ने पसलको साइकल लिएर प्रोफेसनल राइडरहरुसँगै मिसिएका थिए।

नगरकोटको उकालोमा सबैजना सक्दो बल लगाएर प्याडल चाल्दै थिए। केही थाके अनि थकाइ मार्न थाले। केही भने ट्वाँ परेर त्यो फूच्चे केटो सबैभन्दा अघि पुगेको हेरिरहेका थिए।

‘सबैले तारिफ गरेपछि पो ए मैले राम्रै चलाउँदो रै'छु भन्ने भयो,’ विगतको अनुभूति सेयर गर्दा अजय मख्ख देखिन्थे।

अनि सफलताले ट्र्याक लियो...

त्यो पहिलो टुरपछि नै अजयका वर्कसपको साहुले उनलाई प्रतिस्पर्धाका लागि पठाए। सन् २००५ मा ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)ले भक्तपुरदेखि कासी भञ्ज्याङसम्मको रेसमा जुनियरतर्फ खेले। पहिलो प्रतिस्पर्धात्मक खेलमै उनी प्रथम भए। साइकल भाडामा लिएर ठाउँठाउँ पुग्नु प्रशिक्षण सरह भयो उनका लागि।

‘त्यस जितले निकै मोटिभेट गर्‍यो। त्यसपछि मैले झन् धेरै मिहेनत गरेँ। साइकल चलाएरै सन्तुष्ट दाइहरु जस्तै बन्छु भन्ने भयो,’ उनले भने।

जोश र जाँगर थियो। आत्मविश्वास पनि, सिकाइ र मेहनतको भोकसँगै। तर पनि उनीसँग आफ्नो साइकल भने थिएन। गाउँमा साइकल चलाउनुलाई राम्रो काम मानिन्नथ्यो।त्यसमाथि उनको विधाको साइकल निकै महँगा। त्यसैले घरमा साइकल मागेनन्। रेस वा राइडहरुमा प्राय काम गर्ने पसल वा प्रोफेसनल राइडरहरुले नै उनलाई साइकल दिन्थे।

‘आवश्यक पर्दा जहाँबाट पनि म्यानेज हुन्थ्यो त्यसैले घरमा साइकल मागिन। त्यसमाथि साइकल बनाएर, चढेर हिँडेकाले घरमा कोही खुशी थिएनन्। त्यसैले पनि घरमा भन्नु उचित थिएन,’ उनले कारण सुनाए।

साइकल बनाउने र साइकल चलाउने काम एकैसाथ अघि बढाइरहेका उनलाई आफ्नै एउटा साइकल आवश्यक महसुस हुन थालेको थियो। तर, मासिक तलब सामान्य खर्चमै सकिन्थ्यो, आम्दानीको अरु स्रोत थिएन। त्यस्तोमा उनले जुक्ति लगाए- बिग्रेर छाडिएका पार्टपूर्जा जम्मा गरे। र, तिनलाई जोडेर साइकल बनाए। उनको पहिलो आफ्नै साइकल।

‘भनेकै थिएँ नि आवश्यक परेपछि जहाँबाट पनि जुट्छ,' उनी मुस्कुराए।

अजयसँग नयाँ अनि महँगो साइकल थिएन। तर, साइक्लिङमै करियर बनाउने सोचिसकेका थिए उनले। जसका लागि मिहेनत पनि गरे। सन् २००५ देखि निरन्तर हरेक रेसमा भाग लिए स्थानीय देखि राष्ट्रिय तहसम्म। उत्कृष्ट नतिजा त देखिएन तर अजयका लागि भने ती रेस र राइडहरु प्रशिक्षण झै बनिरह्यो।

नतिजा भने सन् २००९ को राष्ट्रिय च्याम्पियनसीपमा देखियो। उनी त्यस वर्ष माउन्टेन बाइकिङतर्फ राष्ट्रिय च्याम्प्यिन बने।

‘नसोचेको कुरा भयो। घरमा गाली खाइखाइ, अरुको साइकल चलाएर मैले पूरा समय साइकललाई दिएँ। साइकलले मलाई नाम दियो,’ उनले भने, 'मेरो नाम राष्ट्रिय च्याम्पियनका रुपमा समाचारमा बज्दा पहिलोपटक परिवारका सबै मेरो रुची र कामसँग खुशी भएको देखेँ।’

त्यसपछि उनको सफलताको श्रृङ्खला निरन्तर अघि बढिरह्यो। उनी सन् २०१४ सम्म लगातार राष्ट्रिय च्याम्पियन बनिरहे। नेपालमा मात्र होइन भारतको एमटिभी हिमान्चल रेसमा दुईपटक प्रथम स्थानमा आए। त्यस्तै सन् २०१० र २०११ मा केरलामा भएको एसियन साइक्लिङ च्याम्पियनसीप तहको रेसमा पनि उनी प्रथम नै रहे।

भूटानमा हुने टुर अफ ड्रागन २०१४ को प्रतिस्पर्धामा २६८ किलोमिटरको रेस १० घण्टा ४० मिनेटमा सक्काए। सर्वाधिक छोटो समयमा उक्त रेस पूरा गर्ने खेलाडी बने। उक्त रेकर्ड हालसम्म पनि कसैले तोडेको छैन।

यसैबीचमा उनी बेलायत पनि गए। त्यहाँ उनले अन्तर्राष्ट्रिय कोचबाट तालिम पाए। युरोपका विभिन्न रेसहरुमा भाग लिए। कति रेस जिते, कतिमा उत्कृष्ट प्रस्तुत भए।

नेपालमा हुने अन्नपूर्ण याक अट्याक स्टेजमा पनि उनी पाँचपटक च्याम्पियन बने जुन रेस आठ दिन लामो हुन्छ।

तर, दिन सधैं एकनास हुँदैन

२०१५ को याक अट्याक रेसपछि भने अजयको समय उस्तै रहेन। रेसमै थिए उनी। साइकल कुदाउँदा कुदाउँदै थकाइ लाग्यो। एकछिन सुस्ताउन ठाउँ खोज्दै थिए, उनको गोडा हिउँमा पर्‍यो र अचानक चिप्लिएर लडे। दुर्घटनाका कारण उनको ढाडको लिगामेन्ट च्यातियो। र, महिनौ आराम गर्नुपर्‍यो।

‘त्यसपछि मैले पहिलेजस्तो पर्फर्म गर्न सकिँन। तर, पनि आफ्नो बेस्ट दिन कोसिस गरिरहेको छु,’ उनले सुनाए, 'दुर्घटना जानेर भएको होइन। त्यसैले सक्दो सतर्क भएर गेममा फर्किएँ। साइकल चलाउन छाडिँन, प्रतिस्पर्धामा भाग लिन छाडिँन।’

दैनिक तीनदेखि चार घण्टा साइकल चलाउने उनले पूरा समय भने दिन सकेनन्। नतिजा पनि केही खस्कियो। तर, उनको माउन्टेन बाइकसँगको प्रिती भने कायमै रह्यो।

साइक्लिङलाई नशा हो उनको जुन जस्तो अवस्थामा जसरी पनि चाहिने। जित्नै पर्छ भन्ने लोभ उनमा छैन तर खेल्न छाड्न सक्दैनन्।

१३ औं साग चलिरहँदा भने उनी केही दु:खी थिए। किनकि उनको खेल अर्थात् माउन्टेन बाइक पहिलोपटक सागमा समावेश हुँदै थियो। अनि रेसको ट्र्याक गोकर्णेश्वर नगरपालिकामा, अजयकै घर गाउँमा।

अस्वस्थताका कारण उनले यस पटक सहभागिता जनाउन पाएनन्। प्रतिस्पर्धीको सूचीमा उनको नाम त थियो तर उनलाई स्वास्थ्यले साथ दिएन।

‘सानोमा कसैको साइकल पाए कुद्दै पुगिने डाँडामा अन्तर्राष्ट्रिय स्तरको ट्र्याक बन्नु, खेल हुनु मेरा लागि निकै खुशीको कुरा हो,’ उनले भने, 'धेरै अन्तर्राष्ट्रिय खेलमा बनाइने कृतिम ट्र्याकहरुको तुलनामा त्यो डाँडा प्राकृतिक रुपमा उत्कृष्ट ट्र्याक सरह छ।’

उनी खेल्न पाएनन् तर सागका कारण उनको टोल पहिलोपटक साइकलमय भएको पाए। जसका लागि धन्यवादका पात्र मान्छन्, साइकलिस्ट देवेन्द्र मानसिंह बस्नेतलाई जसले गत राष्ट्रिय खेलकुदमा नै उक्त ठाउँमा खेल गराउन पहल गरेका थिए।

बुधवार र बिहीवार साग अन्तर्गतका डाउन हिल रेस र क्रस कन्ट्री रेस दुवैमा नेपालले स्वर्ण पदक पाएको दृश्यले भने उनलाई निकै खुशी बनायो।

‘नयाँ साइकलिस्टहरु उदाउँदै छन्। साहसिक खेल माउन्टेन बाइकिङमा नेपाल उत्कृष्ट छ भन्ने कुरा स्थापित गर्दैछन्। हामी जिन्दगी नै साइकललाई मान्नेका लागि सागमा नेपालको प्रस्तुति र नजिता खुशी हुनुपर्ने ठूला कारण हुन्,’ उनले नेपालले जित्नुको खुशी व्यक्त गरे।

साइकलिङ महँगो हो तर कसले भन्यो करियर छैन?

खेलका रुपमा माउन्टेन बाइकिङले एसियामा राम्रो प्रस्तुत गर्दै आएको सन् २००० देखि नै हो। तर, नेपालमा साइक्लिङलाई व्यवसायिक खेलका रुपमा स्वीकार्ने निकै कम छन्। ती कममध्ये एक हुन् अजय। महँगो साइकलदेखि आवश्यक सामाग्री, अनियमित रेस र पुरस्कार- मानिस यस्तै कारणहरु देखाउँछन् साइक्लिङमा भविष्य छैन भन्नका लागि।

तर, अजयका लागि ती कारणहरु बाहनामात्र बने। किनकि ८ लाखसम्म महँगो साइकल चडेका उनले आजसम्म एउटा पनि साइकल आफैँ किनेका छैनन्। सुरुवातमा काम गर्ने वर्कसप र सिनियर दाइहरुको साइकल सापटी लिएर रेस गरे।

पहिलोपटक प्रतिस्पर्धा जितेपछि छिमी उर्गेन गुरुङले उनलाई नयाँ जागिरसहित साइकल स्पोन्सर गरे। त्यस यता पोलिगन, ट्रेक, स्टेटलाइज, मेरिडा, क्यानेन्डल लगायत साइकल चढे। सबै स्पोन्सर्ड। राष्ट्रिय च्याम्पियनसीप र अन्तर्राष्ट्रिय रेसहरु जित्दै जाँदा आफ्ना लागि अवसरहरुको ढोका खुल्दै गएको उनको विश्वास छ। साइकल, त्यसको एसोसेरिजदेखि डाइटसम्म प्रायोजनमा पाउनुलाई आफ्नो मिहेनतको फल मान्छन् उनी। माउन्टेन बाइकिङकै कारण उनी दुई दर्जनभन्दा बढी देश घुमिसकेका छन्।

उनले पाएको अन्तर्राष्ट्रिय मेडल र ट्रफीहरु ‘साइकल चढेर कही पुगिँदैन’ भन्नेहरुका लागि दरिलो झापड हो। भने, 'यो पश्चिमाहरुको खेल भएकाले राम्रो गर्न सक्नेका लागि पश्चिमी मुलुकहरुबाटै अवसरहरु आउने देख्छु म त। साइक्लिङमा करियर छैन भन्नुको तुक नै देख्दिन।‘

अजय माउन्टेन बाइकिङमा नयाँ युवाहरुलाई तयार पार्न चाहन्छन्। जसका लागि माउन्टेन बाइकिङ नेपाल मार्फत् साइक्लिङ कोचिङको तयारी थालेका छन्। साइक्लिङ प्रशिक्षणसँगै साइकल टुर र रेस आयोजनाहरु उनको लक्ष्य छ।

भने- 'यो साहसिक खेल हो। गरेर नदेखाएसम्म हत्तपत्त कोही यसमा लाग्दैन। त्यसैले अब साइकल चलाउनेसँगै चलाउन चाहनेहरुलाई हौसला दिन लागि पर्नेछु। सागसँगै अन्य अन्तर्राष्ट्रिय गेमहरुमा स्वर्ण जित्नु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell