काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले श्रीलंकामाथि जित हासिल गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ३-० गोल अन्तरले जित निकालेको हो।
जितसँगै नेपाललाई पछि पार्दै भुटान फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेल खेलेको भुटानले ३ मा जित र १ मा हार बेहोर्दै ९ अंक बटुलेको छ। पहिलो खेलमा बंगलादेशलाई १-० ले हराएको भुटान दोस्रो खेलमा नेपालसँग ४-० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा माल्दिभ्सलाई २-१ र आज श्रीलंकालाई ३-० ले पराजित गरेको हो।
३ खेल खेलेको नेपाल २ मा जित र एकमा बराबरीको नतिजा निकाल्दै ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
नेपालले आज माल्दिभ्सलाई पराजित गरेपछि तालिकाको पहिलो स्थानमा उक्लिएको थियो तर भुटानले श्रीलंकालाई हराएपछि नेपाल फेरि पछि पर्यो।