PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'राङभाङ'तिर लोभिँदै पर्यटक, हिमालको काखमा संस्कृतिदेखि प्राकृतिक सम्पन्नता

'राङभाङ'तिर लोभिँदै पर्यटक, हिमालको काखमा संस्कृतिदेखि प्राकृतिक सम्पन्नता


  • राजु आचार्य-

केही समयअघि यो ठाउँमा जाने मौका मिल्यो। मेरो लागि नामै नौलो थियो। अर्थात् राङभाङ। स्याङ्जाको घुम्ती (सदरमुकाम नजिक)बाट १०  किलोमिटरको कच्ची बाटो छिचोलेर यहाँ पुगिने रहेछ।

पोखरादेखि घुम्तीसम्म ३५ किलोमिटर पक्की बाटोले जोडेको छ। नियमित २ वटा जिपहरू स्याङ्जादेखि राङभाङ पुग्छन्। प्रति व्यक्ति १२० रुपैयाँ भाडा। राङभाङ आउन काठमाडौँ- पोखरा पृथ्वी राजमार्ग अन्तर्गत दुले गौँडाबाट पनि सकिन्छ। पोखरा पृथ्वी चोकबाट पनि स्याङ्जा, ज्यामिरे, हुँदै ओराश्टे जाने सानो बसले ज्यामिरेसम्म लगिदिन्छ। ज्यामिरेबाट करिब ४५ मिनेट हिडें पछि राङभाङ पुग्न सकिन्छ। मोटरसाइकल लिएर आउनेहरूको लागि यो उत्कृष्ट गन्तव्य हो।

गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो क्षेत्र प्राकृतिक रूपले पनि धनी छ। धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल लगायतका हिम शृङ्खला आँखैमा ठोकिएला जस्तो गर्छन्। रतुवा, कालिज र लुइचेको आवाज बिहान सहजै सुन्न सकिन्छ।

गाउँ आसपास   घाटु, सोरठी, कृष्ण चरित्र, भजन, झोरा  लगायतका सांस्कृति अझै जीवित रहेको छ। करिब ८० फिट  गहिरो रहस्यमय भ्वाङ (भग्गान), जार काट्ने ढुङ्गा, खाल्टो गुफा, कालिका भैरव, रोल बराह क्षेत्र, सिउँडी (गुफा र मन्दिर), सिद्ध बाबा मन्दिर, निल पोखरी, खाँडदेवी मन्दिर, चिरुवाको लहरी छुट्ने स्थान (चिरुवाको अलैँची) आदि यो क्षेत्रका हेर्न लायक प्राकृतिक ,धार्मिक तथा सांस्कृतिक सम्पदाहरु हुन्।

पछिल्लो समयमा राङभाङमा  सञ्चालनमा ल्याइएको सामुदायिक होमस्टेको कारणले यो क्षेत्र आन्तरिक तथा बाहिरी पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। एक दिन सहजै बित्छ यहाँ। सूर्योदय र सूर्यास्तको लागि पनि यो उत्कृष्ट गन्तव्य हो।

राङभाङ मिलेनियम पदमार्गमा पर्छ। तनहुँको शुक्लागण्डकी गाछेपानीबाट (दुलेगौंडा) सुरु भई स्याङ्जाको वालिङ राम बाच्छामा टुङ्गिने यो मार्गमध्ये पहाडी क्षेत्रमा पर्दछ। ७२ किलोमिटर लामो यो पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ। करिब ३० वटा परम्परागत गाउँहरू हेर्दै छिचोल्न सकिने यो क्षेत्रमा  १७ वटा गाउँहरूमा सामुदायिक होमस्टेहरू सञ्चालित छन्।

यो भेगमा करिब ४२ प्रजातिका स्तनधारी, १४७ प्रजातिका चराहरू, ११३ प्रजातिका पुतलीहरू अभिलेख छन्। सो क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell