- फूलमाया पुरी-
काठमाडौं : त्रिपुरेश्वर चोकबाट थापाथलीतिर लगभग एकसय मिटर लागेपछि अगाडि सानो प्रहरी बिट देखिन्छ। त्यसै बिटले आड लिइरहेको दुईतल्ले मन्दिरजस्तै घर छ।
’नेपाली लोकबाजा संग्रहालय’ लेखिएको बोर्ड टाँगिएको छ यही घरमा। संग्रहालय पस्न भने यहाँ ढोका छैन। यसका लागि प्रहरी बिटलाई दाहिने पार्दै जाँदा जस्तापाताले बेरिएको बार भएको ठाउँमा पुगिन्छ। बारकै बीचमा छ एउटा सानो ढोका।
भित्र पुग्नसाथ देखिन्छ त्रिपुरेश्वर महादेवको मन्दिर। कुनै समयको भव्य मन्दिर २०७२ को भूकम्पले क्षति पुग्यो। हाल मन्दिरको पुनर्निर्माण भइरहेको छ।
मन्दिरसँगै एउटा दुई तले भवन छ। यही रहेछ लोकबाजा संग्रहालयको प्रवेशद्वार। संग्रहालयको ढोकामै भेटिए संग्रहालयका संस्थापक अध्यक्ष तथा संञ्चालक रामप्रसाद कँडेल।
उनीसँग म पनि उक्ले संग्रहालय। काठको भर्याङ चढेर केहीबेरमै पुगियो बाजा राखिएको ठाउँ।
संग्राहलयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु।
संग्राहलयमा बौद्धिक कालदेखिका तीनतारे वीणादेखि मन्दिरमा बिहान बेलुका पूजा गर्दा बजाइने नगरासम्म सजिएका छन्। त्यस्तै र्याटी टुना, अष्टसुर, आठतारे वीणा जस्ता पौराणिक कालदेखि बजाउँदै आएका बाजा पनि छन्।
नेवार जातिले पूजामा बजाइने देउखी, तामाङ जातिको टुङ्ना पनि थियो। त्यतिमात्र होइन काठमाडौंका शाक्य जातिको प्रख्यात बाजा धा पनि रहेछ।
१ सय ८ जातिका नेपाली लोकबाजा राखेर शुरु गरिएको संग्राहलयमा अहिलेसम्म विभिन्न जातजातिका ६ सय ५६ थरीका बाजा राखिएको कंडेलले बताए। त्यतिमात्र हैन यहाँ ती बाजाका धुनहरु पनि संग्रहित छन्।
संग्रहालय प्रवेशका लागि शुल्क पनि तोकिएको छ। त्यही शुल्कबाट गुठी संस्थानलाई भाडा तिर्न र अध्ययन अनुसन्धानमा खर्च गर्दै आएको कँडेलले बताए।
उनले भने “यहाँ सजिएका बाजा हेर्न संग्राहलयले विद्यार्थीका लागि पचास, अन्य नेपालीका लागि १ सय र विदेशी नागरिकका लागि एक हजार प्रवेश शुल्क तोकेको छ।'
संग्रहालयमा लोक सांगीतिक यात्रा नामक कार्यक्रम पनि संचालन गरिँदै आएको रहेछ। उक्त कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार गरिने कँडेलले बताए। भने, 'यात्रामा ५० जनाभन्दा बढी लोक गीत गाउने र लोकभाका प्रेमीहरुको उपस्थित हुन्छ।'
संग्रहालयको शुरुवाती समय
शुरु गर्दाको अवस्था कस्तो थियो त? जवाफमा कँडेलले भने, '२०५२ मा यसको स्थापना गरिएको हो। संग्राहलय ऐन छुट्टै नभएकाले २०५४ साल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सामाजिक संस्थाको रुपमा दर्ता गरी विधिवत रुपमा काम सुरु भयो।'
काम सुरुवात गरेसँगै संस्थाले विभिन्न जिल्लामा लोकबाजाका विषयमा अध्ययन, अनुसन्धान र संकलन थाल्यो।
'सुरुवाती दिनमा नेपालमा कति प्रकारका बाजा छन् भन्ने थाह थिएन,' कँडेल भन्छन्, 'त्यसैले संग्राहलयको पहिलो र मुख्य काम भनेकै खोज अनुसन्धान बाट शुरु भयो।'
लोक बाजाको इतिहासलाई संरक्षण संवर्दन र प्रवर्दनमात्रै नभइ त्यसको प्रदर्शन गर्ने उद्देश्य बोकेर नै संग्राहलय स्थापना गरिएको उनले बताए।
संकलन भएका सामग्रीलाई व्यवस्थापन र प्रदर्शन गर्न २०५८ सालमा भद्रकालीमा कोठा भाडामा लिएर शुरु भएको सो संग्राहलय २०६४ सालबाट त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी संस्थान अन्तर्गत पर्ने यही भवनमा आइपुग्यो।
तर, अहिले संग्राहलय संरक्षणमा चासो कमैकोमात्र छ। त्यसैले लोकबाजा संग्राहलयको भविष्य पनि संकटमा परेको छ।
भूकम्पपछि गुठी संस्थान काठमाडौं शाखाले जीर्ण भवन पुनः निर्माण गर्ने भन्दै संग्राहलयलाई पत्र पठाएको थियो। उक्त पत्रमा भवन पुनः निर्माण गर्नुपर्ने भएकोले खाली गर्न भनिएको थियो।
भवन मर्मत हुने भएपछि पहिला संग्रहालय सकारात्मक नै थियो। तर पछि भने गुठीप्रति उनीहरुको असन्तुष्टि बढ्दै गयो।
कारण – भवनको प्रयोग अरुलाई गर्न दिनु।
कहाँ लैजाने सयथरी बाजा?
गुठीको यो पत्रसंगै भवन पुनः निर्माण गर्ने पक्षमा संग्राहलय रहे पनि उक्त भवन काठमाडौं विश्वविद्यालयलाई संगीत विद्यालय संचालनका लागि दिने निर्णय प्रति भने संग्रहालय संचालक असन्तुष्ट छन्।
कंडेल भन्छन्,’२०६२ सालमा संस्कृति मन्त्री बुद्धीराज बज्रचार्यको रोहबरमा मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट जीर्णाद्वार गरेको यस भवनमा संग्राहलय रहन दिने निर्णय गरेको थियो। उक्त निर्णयका आधारमा गुठी संस्थानसंग सम्झौतामा संग्राहलय रहदै आएको छ। तर एक्कासी यहाँ अरुलाई नै राख्ने प्रयास भयो।’
तर, गुठी संस्थानले संग्राहलयसँग गरिएको सम्झौताको अवधि सकिसकेकोले नयाँ प्रक्रिया सुरु गरिएको दाबी गरेको छ। गुठी संस्थान काठमाडौं शाखाका प्रमुख शैलेन्द्र पाण्डे भन्छन् ’पाँच वर्षको सम्झौता सकिए पनि संग्रहालयले भवन खाली गरेको छैन। सम्झौतामा आवश्यक परेको खण्डमा गुठी संस्थानले जुनसुकै बेला भवन खाली गराउन सक्छ भनेर उल्लेख नै छ। फेरी हामीले त जीर्ण भवन पुनः निर्माण गर्न लागेका हौं।’
भूकम्पका कारण चर्किएको संग्राहलय रहेको भवन अहिलेसम्म जीर्ण अवस्थामा नै छ। अब भने जीर्ण भवनलाई बलियो बनाएर संगीत अध्ययन गराउने उद्देश्यका साथ पुनर्निर्माण सुरु गर्ने बताइए पनि विवादका कारण रोकिएको छ।
संग्राहलय संचालकले उक्त भवन आफूले नै प्रयोग गर्न पाउनुपर्ने भन्दै गुठी र काठमाडौं विश्वविद्यालय विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा गरेको थियो। तर फैसला संग्राहलयको पक्षमा आएन।
त्यसैले अदालतको फैसला आफ्नो पक्षमा नरहेपछि अब लोकबाजा संग्रहालय कहाँ कसरी व्यवस्थित हुने भन्नेमा अन्यौल देखिन्छन् कँडेल। गुठी संस्थान भने भवन खाली गराएर पुनर्निर्माण गर्ने पक्षमा देखिएको छ।
नेपाली बाजाको धुनमा गुन लगाएका कँडेलको मन संग्रहालयबाट बाहिरिँदै गर्दा भौतारिएको देखिन्थ्यो। बहुमुल्य बाजाहरु राख्ने ठाउँको टुंगो नहुँदाको पिरलो उतिकै देखिन्थ्यो उनको अनुहारमा। एकसरो संग्रहालय फन्को मारेपछि निराश मुद्रामा कँडेलले भने,’यतिका बाजाहरु कहाँ लिएर जाने?’