PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अनि चेन्चोले भुटानबाट नेपाल निम्त्याए श्रीमती सोनाम र छोरा जिमीलाई, पूरा गरे आफ्नै संकल्प



स्वेच्छा राउत

अनि चेन्चोले भुटानबाट नेपाल निम्त्याए श्रीमती सोनाम र छोरा जिमीलाई, पूरा गरे आफ्नै संकल्प

सन् २०१७। भुटानको राष्ट्रिय फुटबल टोलीका कप्तान चेन्चो ग्याल्सेन भारतमा थिए। उनको मिनर्भा पञ्जावबाट ११ औं भारतीय राष्ट्रिय फुटबल लिग खेल्नका लागि एक वर्षको सम्झौता थियो। भारतमा गएर फुटबल खेल्ने चेन्चोको सपना यही फुटबल क्लबले पूरा गर्दै थियो जसका लागि उनले बंगलादेशका अन्य तीन क्लबको प्रस्ताव अस्वीकार गरेका थिए।

क्लब प्रवेशको एक महिना नबित्दै उनकी श्रीमती सोनाम याङ्कीको फोन आयो। फोनमा उनले खुशीको खबर सुनाइन्। सोनाम आमा र चेन्चो बुबा बन्दै थिए। उनलाई लाग्यो- 'अब फुटबल करिअरमा सबै कुरा राम्रो हुँदै जान्छ।'

उनको प्रशिक्षण सोचे अनुरुप चल्दै थियो। आफ्नो खेलमा पनि सुधार महसुस गरिरहेका थिए उनले। चेन्चोमाथि क्लबको भरोसा पनि दह्रै थियो। प्रशिक्षणकै दौरान, एकदिन उनलाई सोनाम याङ्कीको अप्रत्याशित टेलिफोन आयो।

 

'म प्रेग्नेन्ट हुँदा पनि तिमी मसँगै छैनौं। तिमीलाई फुटबल नै सबै कुरा रहेछ' - उनकी श्रीमतीले भनिन्।

याङ्कीको त्यो बोलीले उनलाई एकाएक असमन्जस्यमा पार्‍यो। उनलाई छट्पटी भयो - के भनौं? कसो भनौं?

'प्रशिक्षणमा मिलिरहेको ऊर्जा एकाएक कम भयो। मलाई निकै नराम्रो लाग्‍यो। उनलाई साँच्चै गाह्रो भइरहेको थियो होला। उसलाई मेरो साथको खाँचो थियो,' त्यतिखेरको अवस्थालाई चेन्चो सम्झिए, 'उनी गर्भवती थिइन्, सामान्य अवस्थामा थिइनन्।'

अभ्यासमा जुटेका उनलाई अब भने पटकपटक सोनाम याङ्कीको फोन आउन थाल्यो। चेन्चो अधैर्य भए। र, उनले क्लबसँग केही दिनका लागि बिदा मागे। दुर्भाग्य, उनले बिदा पाएनन्। किनकि प्रशिक्षण पूर्ण रुपमा जित लक्षित थियो। उनीमात्र होइन, टिमका कसैले पनि बिदा पाइरहेका थिएनन्। त्यसपछि चुपचाप प्रशिक्षणमा रहनु र खेलमा ध्यान दिनुको विकल्प रहेन उनीसँग।

प्रेग्नेन्ट अवस्थामा सोनामको मुड स्विङ हुनु र बारम्बार गर्नुलाई सामान्य रुपमा लिए। तर, सोनामको अवस्था सम्झन्थे र त्यतिखेर उनीसँग हुन नसकेकोमा पछुताउँथे पनि। जबजब उनलाई श्रीमतीले फोन गर्थिन्, तबतब उनको घरी मलिन अनि घरी रुष्ठ आवाज सुनिन्थ्यो। र, दु:खी हुन्थे चेन्चो। उनलाई आफू निरीह महसुस हुन्थ्यो। त्यस क्षण उनी फुटबललाई लिएर देखेको सपना सम्झन्थे। ऊर्जा बटुल्थे र आफैसँग संकल्प गर्थे- कुनै दिन भुटानलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुर्‍याउँछु र त्यस दिन मेरी श्रीमतीलाई पनि खेल हेर्न लैजान्छु, सन्तान सहित।

श्रीमती र सन्तानले आफ्ना लागि र आफ्नो देशका लागि प्यारापिटमा बसेर चिच्याएको कल्पनामात्र गर्दा पनि रोमाञ्चित हुन्थे उनी।

चेन्चोको त्यही कल्पना यथार्थ बन्यो नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा।

गएको शनिवार श्रीलंकाविरुद्ध भुटानी राष्ट्रिय फुटबल टोलीले ३ गोल गर्‍यो। उक्त खेलमा गोलरहित श्रीलंकन फुटबल टोली सागबाट बाहिरियो। भुटानी राष्ट्रिय फुटबल टोली भने फाइनलमा पुग्नुको उत्सव मनाउन थाल्यो।

सबै मैदानमा रमाइरहँदा चेन्चोलाई भने कतिखेर होटल पुगौं भन्ने छट्पटी भइरहेको थियो। उनी चिच्याइचिच्याइ भन्न चाहन्थे – ‘सोनाम हामी फाइनलमा पुग्यौं। हामी स्वर्ण पदकको नजिक छौं। तिमी आउ अनि हाम्रो जीतको कामना गर।‘

होटल पुग्नुअघि भुटानले फाइनलका लागि बाटो तय गरेको खबर उनकी श्रीमतीसम्म पुगिसकेको थियो। सोनामले फोन गरेर बधाई दिँदा चेन्चोमा खुशीको सीमा रहेन। आइतबार नै प्लेन टिकट बुक गर्न र नेपाल आउन भनिहाले, उनले।

सोनाम छोरा जिमी नोर्वु लिएर नेपाल आइन्, भुटानी टोलीलाई 'चियर अप' गर्न। चेन्चोको सपना साकार भयो। भुटान पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको थियो। पदक तालिकाको पुछारमा उनको देशको नाम, स्वर्णरहित। फुटबलमा आखिरी खेल जिते देशका लागि एउटा स्वर्णको अवसर हुने। त्यस ऐतिहासिक क्षणको साक्षी बन्ने अपेक्षासहित आइपुगे उनकी श्रीमती सोनाम र छोरा जिमी।

खेलअघि उनी परिवारसहित बौद्ध गए, दर्शनका लागि। हरेक खेलअघि उनी आमा वाङ्चु र बुबा जिमदोर्जीसँग आशिर्वाद लिने गर्छन्। यसपटक आमाबुबाको आशिर्वाद, श्रीमतीको साथसँगै आफ्नो टिमले देखाएको प्रतिवद्धताले उनलाई जितको मुखैमा पुर्‍याएको थियो।

मङ्गलबार नेपाली समय अनुसार दिउँसो तीन बजे खेल सुरु भयो - नेपाल भर्सेस भुटान।

घरेलु मैदान र घरेलु दर्शक - नेपाली टोलीले फाइदा उठाउने धेरै ठाउँ देखेका थिए चेन्चोले। तर, पनि हार्ने पक्षमा भने थिएनन्। क्याप्टेन हुनुको जिम्मेवारीले पनि उनलाई सधैं आत्मविश्वासी रहन हौस्यायो। मैदान छिर्नुअघि उनले सबैलाई भनेका थिए- 'हामी नेपाली मैदानमा नेपाली खेलाडीसँग भिँड्दै छौं। यहाँ नेपाली दर्शकको आवाज चर्को सुनिन्छ। त्यसैले खेलुन्जेल पूरा ध्यान खेलमामात्र दिउँ।'

मैदानमा उत्रिएपछि प्यारापिटबाट आएको आवाज उनको कानमा पटक पटक ठोक्कियो। ठूलो स्वरमा गुञ्जिएको 'नेपाल, नेपाल' बीच भुटानको पक्षमा रहेकाको आवाज निकै मधुरो। उनी सोच्थे- त्यो मधुरो आवाजमा पक्कै भुटानी कोच, म्यानेजर अनि श्रीमती सोनामको पनि स्वर मिसिएको छ। त्यसपछि उनलाई जित्नै पर्छ भन्ने हुटहुटीले पच्छ्याउँथ्यो।

नेपाली टोलीले १६ मिनेटमा हानेको गोलले पनि दवाव सिर्जना गरेको थियो। नभन्दै चेन्चोले खेलको ३७ औं मिनेटमा जवाफी गोल फर्काए र खेललाई बराबरीमा पुर्‍याए।

'जसले सुरुवाती गोल गर्छ, त्यही टिमले जित्छ भन्ने माइन् मेकअप गरिसकेका थियौं। तर, पनि खेल बराबरीमा पुगेपछि हामीले जितको आश छाडेनौं। हाम्रो टिमले अन्तिमसम्मै कोसिस जारी राख्यो,' उनले सुनाए, 'तर, भाग्य हाम्रो पक्षमा रहेनछ। हार्‍यौं तर बिस्मात् भने एक रत्ती पनि छैन। किनकि पहिलोपटक अन्तर्राष्ट्रिय खेलको फाइनलमा पुग्नुले दिएको खुशी अथाह छ।'

भुटानले माल्दिभ्सको फुटबल टोलीलाई पहिलोपटक यही सागमा हरायो। श्रीलंकालाई हराएपछि भुटानका प्रधानमन्त्री लोते छिरिङले भुटानी फुटबल टोलीलाई फाइनलमा प्रवेश गरेको बधाइ संदेश पठाएका थिए। उनले ट्विटसमेत गरेका थिए - चेन्चोको टिमको समर्थनमा। सागमा एउटा 'अन्डरडग' टिमको रुपमा फाइनलमा प्रवेश गर्नु चेन्चोको आशाभन्दा माथिको विषय रहेको उनले बताएका थिए।

'हाम्रो देशका सम्पूर्णको लागि यस प्रतियोगिताले निकै महत्व राखेको छ। फुटबल क्षेत्रको विकासका लागि राज्यले केही गर्छ भन्ने आशा पलाएको छ,' उनी आशावादी सुनिए।

हाल भुटानका राष्ट्रिय टोलीका खेलाडीले मासिक दश हजार गलट्रम (भुटानी मुद्रा) अर्थात् १६ हजार नेपाली रुपैयाँ पाउँदै आएका छन्। उनीहरुलाई प्रशिक्षण र आवश्यक डाइट संघले नै उपलब्ध गराउँछ। अन्य क्लबहरुमा भने खेलाडीको क्षमता र जिम्मेवारी अनुरुप पन्ध्र हजार गलट्रमसम्म पाउँदै आएका छन्। शहरमा बसेर, खान र अन्य खर्च पुर्‍याउन यो रकम अपर्याप्त नै हो। भने, 'खेलाडीको उपलब्धी राष्ट्रको गौरवसँग जोडिएको कुरा हो। त्यसैले यसपटक सरकार हाम्रो प्राप्तिप्रति सकारात्मक देखिएको छ।'

'नकारात्मक त नेपाली पनि छैनौं नि त!'

चेन्चो नजिकै उभिएकी उनकी श्रीमती सोनाम नेपाली भाषा बुझ्छिन् तर बोल्न जान्दिनन्। उनले भनिन्, 'खेलमा भुटानी टिमले नेपाली टिमलाई दवावमा राखेको थियो। नेपाली टिमलाई पनि हार्ने डर त थियो। तर, पनि भुटानजस्तो सानो देशबाट आएको टिम जसरी प्रस्तुत भयो, त्यो हेर्न लायक थियो।'

उनको कुरा सुनिरहेका चेन्चोको मुहार केही उज्यालो देखियो। अनि, आफ्नो खेल करिअरमा सोनामले पुर्‍याएको सहयोगको चर्चा गर्न पनि भ्याइहाले उनले।

उनीहरुको यो जोडी स्कूले जीवनदेखि नै प्रेम सम्बन्धमा थियो। सोनाम पढाईमा अब्बल अनि चेन्चो पढाई भन्दा बढी खेलमै रमाउने। भुटानमा फुटबलको क्रेज उस्तो धेरै थिएन। यस क्षेत्रमा पैसा नहुनुले गर्दा पनि कसैले फुटबलमा करिअर देख्थेनन्। तर, चेन्चोलाई त फुटबल नै खेल्नु थियो। भुटानमा खेलकुदको आदर्श कोही थिएनन्, त्यसैले उनी विदेशी खेलाडीहरुजस्तै बन्ने सपना देख्थे। अनि उनी भुटानको त्यो 'आदर्श व्यक्ति' आफैँ बन्न चाहन्थे।

'करिअर नै नभएको क्षेत्रमा लाग्न मैले मरिमेटेको देख्दा पनि उनी नकारात्मक भइनन्। बरु मेरो सपनालाई हाम्रो साझा सपना बनाइन्। उनी मेरो करिअरको ठूलो मोटिभेसन हो,' उनी सोनामको प्रशंसा गरेर थाक्दैनन्, 'मलाई फुटबल करिअरमा अघि बढ्न साथ दिने ऊ नै मेरो श्रीमती बन्न सक्छ भन्नेमा ढुक्क थिएँ।'

तर, चेन्चोका बुबा त उनलाई आर्मी अफिसर भएको हेर्न चाहन्थे। चेन्चोलाई हाइ स्कूल पढ्न मन थिएन। उनी पूरै समय खेल र प्रशिक्षणमै दिन चाहन्थे। तर, बुबाको करबलले पढे। हाइ स्कूलको स्कोर आर्मीमा भर्ती हुन पुग्ने थिएन। त्‍यसपछि बुबाले पनि भने- 'फुटबलमै करिअर बनाउने भए खेललाई सिरियस्ली लिनु। करिअर भनेको जोक होइन।'

बुबाको त्यही भनाइले उनमा खेलेरै जित्ने जोश भरिदियो।

सन् २००७ मा भुटान फुटबल फेडेरेसन अन्तर्गत अन्डर १२ को फुटबल एकेडेमीमा भर्ना भएका थिए उनी। त्यो पनि अप्रत्यासित रुपमा। तेक्वान्दो प्रशिक्षणका लागि पुग्दा फुटबलका लागि छनौट प्रक्रिया चलिरहेको थियो। उनका दाजुले हौसाए। उनले पनि फारम भरे। अनेपेक्षित रुपमै उनी टिमका लागि छानिए।

त्यसअघि घर छेउको खाली जग्गा र स्कूलको चौरमा मोजाको डल्लो बनाएर बलमात्र खेलेका उनी एकाएक फुटबल खेल्ने भए। त्यसपछि पारिस्थिति घरबाट ५१ किलोमिटर टाढा रहेको थिम्पुस्थित आवासमा बस्न थाले। त्यहाँ पाएको नयाँ स्कूल ड्रेस, ब्याग, जुत्ता र किताब कापीले निकै खुशी दिएको थियो, उनलाई। ‘त्यसो भन्दा बढी खुशी त नयाँ सेट जर्सी, बुट र फुटबल पाउँदा भएँ,’ उनले भने।

'त्यस समय सोचेको पनि थिइँन म देशको लागि खेल्छु भन्ने। आखिर फेडेरेसनले मलाई सानैदेखि त्यसैका लागि तयार पारेको रहेछ, ' उनले भने।

अब त उनको सरकार पनि उनको कप्तानी प्रति उत्साहित छ। उनको बुबाले पनि थाहा पाए- छोराले पढाईमा राम्रो स्कोर गर्न नसके पनि फुटबलमा मजाले गर्छ। उनी ढुक्क भएका छन् - छोराले करिअरलाई जोकको रुपमा लिएको छैन। आमाको आशिर्वादमा फुटबलको सफलता कहीँ न कहीँ पक्कै जोडियो भन्ने विश्वास छ उनमा। अनि, सोनामले आफू गर्भवती हुँदा गरेको फोन र बोलेको संवादहरुमा आफू पर हुनुको पीर बाहेक केही रहेनछ भन्ने बुझेका छन् उनले।

त्यस समय उनी आवद्ध क्लब मिनर्भा पञ्जावले लिग जितेको थियो। जितको खुशी बोकेर भुटान फर्किए उनी। उनी फर्किएको केही दिनमै उनको खुशी थपियो- उनी बुबा बने।

'सबै कुराको पालो आउने रहेछ। मेरा खुशीहरु पालैपालो आए। आउने क्रम जारी छ। सायद दक्षिण एसियामा भुटान फुटबल च्याम्पियन बन्ने दिन पनि धेरै टाढा नहोला। अब त्यही लक्ष्य राखेर मेहनत गर्छौं।'

सन् २०११ मा राष्ट्रिय टिमबाट खेल्न सुरु गरेका हुन् उनले। त्यसपछि क्लब यडजिनबाट सन् २०१४ सम्म खेले। २०१४ मा ड्रक युनाइटेड र केही महिना फुटबल क्लबका लागि खेलेपछि २०१५ मा लागि थाइल्यान्ड पुगे, बुरिराम युनाइटेडको फुटबल एकेडेमीमा एक महिने प्रशिक्षण लिन।

फर्किएर केही समय थिम्पुमा रहेका उनी २०१६ मा बंगलादेशी क्लबमा आवद्ध भए। त्यसपछि पञ्जाव फुटबल क्लब हुँदै बंगलुरु फुटबल क्लबसम्म पुगे।

'बंगलुरुसँगको सम्झौता सकिएपछि भने मैले पूरै समय सागको तयारीमा दिने बारे सोचेँ। योजना अनुरुप भुटान फर्किएर आफ्नो टिमसँग प्रशिक्षण गरेँ, उनीहरुको तरिका बुझेँ। उनीहरुसँग आत्मीय बनेँ। हामी खेलका लागि प्रतिवद्ध बन्यौं,' उनले सुनाए।

खेलाडी, व्यवस्थापक, प्रशिक्षक र सरकार सबैले आफ्नो तहबाट शत् प्रतिशत दिनुले भुटानी टोली फाइनलसम्म पुग्न सम्भव भएको उनको कथन छ।

खेल सकिएपछि नेपाली खेलप्रेमीबाट पाएको मायाले उत्साह थपेको छ उनलाई। फेसबुक र इन्स्टाग्राममा भुटानी साथसाथै नेपाली दर्शकले प्रशस्तै संदेश पठाएका छन्। नेपाली भाषा उनीहरुले पनि बोल्ने भाषा हो, बुझ्ने भाषा हो। एकएक गर्दै जवाफ फर्काउन सम्भव नै नहुने गरी म्यासेज पाएका छन्।

'नेपालमा त फुटबलको क्रेज धेरै रहेछ। भुटानमा पनि अब त्यो वातावरण सिर्जना हुन्छ भन्ने लागेको छ,' उनलाई कसैले सुनाएछ।

अब चेन्चो र उनको टोलीको एउटै लक्ष्य - भुटानमा फुटबलमा करिअर बन्छ भन्ने तथ्य स्थापित गर्नु। राज्यलाई खेलाडीको तलब सुविधा बढाउन नैतिक दवाव दिनु। र, जितको एउटै नाम 'मेहनत' हो भन्ने सन्देश प्रवाह गर्नु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell