
काठमाडौं : नेपाली काँग्रेसले मन्त्रिपरिषदको हालैको कदमप्रति असन्तुष्टि जनाएको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले उक्त असन्तष्टि जनाएको हो।
सरकारले हालै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान विपरित रहेको कांग्रेस केन्द्रीय समितिको दाबी छ।
'संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त माथि नै आघात पुर्याएर प्रकारान्तरले संविधानलाई समाप्त पार्ने कुत्सित मनसायसाथ सरकारले संवैधानिक परिषद् सम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोज्दैछ,' बैठकपछि जारी विज्ञप्तिको बुँदा ४ मा भनिएको छ, 'मन्त्रिपरिषद्ले केही अघि राष्ट्रपति समक्ष प्रस्तुत गरेको यससम्बन्धी अध्यादेशले यसको पुष्टि गरेको छ।'
काँग्रेसले प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिहरुलाई राजनैतिक पूर्वाग्रहका आधारमा लान्छीत गर्ने, झुठ्ठा मुद्दा चलाउने गरी संवैधानिक आयोग जस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ। यस्ता प्रतिशोध लिएमा काँग्रेसले प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'यसरी दुराग्रह र वद्नियत राखी कोही कसैमाथि पनि गरिने कुनै पनि प्रकारका गैर संवैधानिक र प्रतिशोधपूर्ण कार्यको प्रतिवाद नेपाली कांग्रेसले गर्ने चेतावनी यो बैठक सरकारलाई दिन चाहन्छ।'