पोखरा : नेपाल साहित्य महोत्सव २०७६ को दोस्रो दिन १२ सत्र सञ्चालन भए। शनिबार फेवा तालको किनारमा भएको कार्यक्रममा नेपाली लोक संगीतदेखि राजनीतिसम्मका विषयहरुमाथि छलफल भए।
पहिलो सत्र ‘लोकगीत कि लोकप्रियता?’ भन्ने शीर्षकमा लोक गीत अध्यता झुमा लिम्बु, लोक गायिका हीरादेवी कोइराला र गायक प्रकाश सपुतले विषयमाथि मन्थन गरे। उक्त सत्रको सहजीकरण सम्पादक नारायण अमृतले गरेका थिए।
छलफलमा लोकगीत क्षेत्रको ‘त्यस समय’ र वर्तमान अवस्था बारे हरिदेवी कोइरालाले आफ्नो अनुभव व्यक्त गरिन्। उनले लोकगीतले पाउने गरेको चर्चाको माध्यम र त्यसको विकासको बारेमा बोलेकी थिइन्। ‘पाइन खबर’ बोलको गीतको लोकभाकालाई उनले लम्जुङका लाहुर गएका श्रीमानलाई पर्खने श्रीमतीहरुको अनुभूति गीतमा उतारेको बताइन्। ‘तर गीत चर्चित भएपछि त गीतमा बोलिएको विरह मेरै कथा भन्ने चर्चा भएछ’, उनले सुनाइन्। लोकगीत दिलाएको लोकप्रियता, यसमाथि अध्ययन र लोक भाका संरक्षण आदि बारे पनि कुराकानी भयो।
‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक?’ शीर्षकमाथि छलफलमा थिए करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे। उनीहरुले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे कुराकानी गरे।
महोत्सवको दोस्रो सेसनअन्तर्गत दुई कार्यक्रम सञ्चालन भए, सपनाको सम्मान र नारायण ढकालको पुस्तक तमसमाथि अन्तर्क्रिया। सपनाको सम्मान सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए। यो सेसनमा उनीहरुले मान्छेका सपना र समय एवम् परिस्थितिले कसरी मानिसलाई सपनाको दास बनाउँछ भन्नेमा संवाद गरे। साथै तमस पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का। यो ससनमा ढकालको यही पुस्तकमाथि वक्ताहरुले चर्चा गरेका थिए। कार्यक्रममा संग्रौलाले पुस्तकसँगै नारायण ढकालको व्यक्तित्वमाथि आफ्ना धारणा राखे।
कार्यक्रममा अध्ययनको भोक शीर्षकमा अन्तक्रिया भयो। यसमा संवाद गरेका थिए, शान्ता चौधरी, करिश्मा मानन्धर र सविना कार्कीले। यसमा उनीहरुले नेपालमा बढ्दै गएको पठन संस्कृति र शिक्षा एवम् पठन अभिरुचिबारे छलफल गरेका थिए। साथै पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्नेमा उनीहरुको जोड थियो। यही सेसनको अली मियाँ कक्षमा कारागारमा किताबी संसार शीर्षकमा संवाद चल्यो। यसमा संवाद गरे, महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले। उनीहरुले नेपालमा कारागारको अवस्था र त्यहाँका दुरवस्थाबारे चर्चा गरे। साथै कारागारमा कतिपय अवस्थामा निर्दाेष मानिस पनि परेको र उनीहरुका लागि लडिदिने कोही नभएको गुनासो गरे।
चिकित्सक सन्दुक रुइतसँग छलफलको सेसन रह्यो, दृष्टिदान। यो शीर्षकमा संवादमा थिए, नेत्रचिकित्सक सन्दुक रुइत र रवि लामिछाने। यसमा उनीहरुले नेपालमा अन्धोपनको समस्या मात्र केलाएनन्, त्यसमा भइरहेका पहलबारे पनि छलफल गरे। साथै डा. रुइतले पुर्याएको योगदानबारे पनि प्रस्तोता लामिछानेले केही सन्दर्भ उजिल्याए। रुइतले आफूले नेपालमा नेत्रचिकित्साको क्षेत्रमा गरेका र गर्न खोजेका विषयबारे आफ्ना धारणा राखे।
महोत्सवको अर्को सेसन थियो, बतासमा बारुदको गन्ध। यसमा सहभागी भए, मनोरञ्जन व्यापारी र दिनेश काफ्ले। रोचक किसिमको यो सेसनमा मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनुपरेका अनौठा घटनाबारे रोचक प्रसंग सुनाए। साथै आफ्नो अध्ययन एवम् बाल्यकालका कठिन एवम् रोचक प्रसंगबारे पनि व्यापारीले आफ्ना अभिव्यक्ति दिए।
यही समयमा राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण शीर्षक सेसन रह्यो। यसमा गफिए, देवेन्द्र सुवेदी, हरिबहादुर थापा र जनकराज सापकोटा। उनीहरुले नेपालमा बढ्दै गएको आपराधिक गतिविधि र तिनका नियन्त्रणका उपाय मात्र सुझाएनन्, राजनीतिक वृत्तमा पनि हाबी भएको अपराधीकरणले कसरी समस्या निम्तिँदै गएका छन् भन्नेबारे छलफल गरे।
महोत्सवको अर्को सेसन थियो, जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श। यसमा मीरा राई, ननिता बज्राचार्यसँग छलफलमा जुटिन्, शिवानीसिंह थारु। उनले नेपालको खेलकुदको अवस्था, यसका समस्या मात्र केलाएनन्, यसमा जम्न, अघि बढ्न र जित्न कति कठिन छ भन्नेबारे पनि चर्चा परिचर्चा गरे। साथै यस क्रममा आफूहरुले भोग्नुपरेका समस्याबारे पनि उनीहरुले आआफ्ना धारणा राखे।
यसै समयमा अर्को सेसन पनि चल्यो, राइटिङ होम एन्ड होमल्यान्ड शीर्षकमा। यसमा गफिए, जमिल जन कोचाई र इतिशा गिरी। यसमा उनीहरुले आफ्नो जम्नस्थान र देशका बारेमा गरिने सिर्जना एवम् साहित्यबारे चर्चापरिचर्चा गरे।
यसैगरी नेपाल नेक्सस: राजनीतिमा भूराजनीति सेसन पनि महोत्सवको आकर्षणका रुपमा रह्यो। यसमा नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरे। उक्त अवसरमा शर्माद्वारा लिखित अंग्रेजी पुस्तक नेपाल नेक्सस सार्वजनिकीकरण पनि गरियो। सेसनका अवसरमा नेपालमा बढ्दै गएको राजनीतिक हस्तक्षेप एवम् सीमा समस्या, राजनीतिक नेतृत्वमा देखिएको अदूरदर्शीपन, त्यसले निम्त्याएका समस्या, सीमा समस्या समाधानमा नदेखिएको पहल आदि विषयमा छलफल गरे। साथै भूराजनीतिमाथि भइरहेको राजनीतिबारे उनीहरुले विषद् व्याख्या विश्लेषण पनि गरे।