PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिरोधको माग गर्दै जर्मनीमा रहेका नेपालीले सरकारलाई बुझाए ज्ञापन पत्र



भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिरोधको माग गर्दै जर्मनीमा रहेका नेपालीले सरकारलाई बुझाए ज्ञापन पत्र

बर्लिन : भारतीय हस्तक्षेपको तत्काल कडा प्रतिरोध गर्न माग गर्दै जर्मनीमा रहेका नेपालीहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। बर्लिनस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारलाई एनआरएनए जर्मनी, नेपाली जनप्रगतिशिल मोर्चा जर्मनी र प्रवासी नेपाली एकता मन्च जर्मनीले संयुक्त रुपमा दबाब एवं सुझाबका रुपमा ज्ञापन पत्र बुझाएका हुन्।

उक्त संगठनका प्रतिनिधिहरुको टोलीले राजदूत रमेश प्रसाद खनालमार्फत ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा भारत सरकारद्वारा हालै जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपालको सार्वभौमिकतामाथि प्रहार भएको जनाइएको छ। भारतको बिस्तारबादी चरित्रका विरुद्ध देशभित्र र बाहिर प्रतिरोध हुँदा पनि नेपाल सरकारले आवश्यक पहल गरेको प्रमाण नदेखिनु नेपाली जनताका निम्ति अनपेक्षित रहेको उल्लेख गरिएको छ।

साथै ज्ञापन पत्रमा नेपाल सरकार एउटा बक्तब्यमा मात्रै सिमित हुन नहुने जनाउदै नेपालको कूटनीतिक प्रयासलाई पनि भारतले बेवास्ता गरी रहेको अवस्थामा यस मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न ढिलो गर्न नहुने सुझाब पनि समेटिएको छ। नेपालमाथिको भारतीय अतिक्रमणको सम्बन्धमा नेपाली उच्च राजनीतिक तहबाट दोधारे अभिव्यक्ति सुनिनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताइएको छ।

ज्ञापन पत्रमा भारतीय अतिक्रमणको प्रतिरोधमा निस्किएका आम सर्वसाधारण जनतालाई गिरफ्तार, दमन र प्रतिबन्धित गरिनु खेदजनक रहेको बताउदै बर्तमान सरकारलाई भारतीय हस्तक्षेपसामु लाचार नबन्न आग्रह गरिएको छ। नेपाल सरकारलाई भारतद्वारा जारी गरिएको भारतीय राजनीतिक नक्सा पूर्ण रुपले खारेज गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको वास्तविक नेपाली नक्सा आधिकारीक रुपले प्रकाशित माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell