PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कालिञ्चोक दर्शनपछि राति नै फर्केकी निर्मला भन्छिन् : 'बाटो अफ्ट्यारो छ भन्दै मुडेमै बस रोकियो, बिहानै दु:खद् खबर सुन्नुपर्‍यो'



कालिञ्चोक दर्शनपछि राति नै फर्केकी निर्मला भन्छिन् : 'बाटो अफ्ट्यारो छ भन्दै मुडेमै बस रोकियो, बिहानै दु:खद् खबर सुन्नुपर्‍यो'

  • फूलमाया पुरी-

काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ६ किलोमा आइतवार बिहान बस दुर्घटनामा पर्‍यो। कालिञ्चोक दर्शन गरी फर्केका यात्रु रहेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो भने १७ बढी घाइते भए।

१४ जना घाइतेलाई राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको छ। बस दुर्घटनाको खबर सुनेर निर्मला श्रेष्ठ पनि अस्पताल आइपुगेकी रहेछिन्।

निर्मला यही बसमा साथीहरुसँगै कालिञ्चोक दर्शन गर्न पुगेकी थिइन्। तर, उनी भने हिजै भक्तपुर फर्केकी रहेछन्।

अस्पतालमा अत्तिदै आइपुगेकी निर्मलाले भनिन्, 'हामी आफन्त साथीभाइ मिलेर हिजोमात्रै कालिन्चोक दर्शन गरेर फर्क्यौ। साथीहरु मुडेमा बसे। आज यस्तो घटना भएछ। एकदम दु:ख लाग्यो।'

दुई छोरीलाई पनि साथमा लगेकी निर्मलालाई अपर्झट काम परेकोले चाँडै आउनु परेको रहेछ। उनले भनिन्, 'दुई छोरी करिश्मा र करिनासँगै थियौं। मन्दिर दर्शनपछि फर्कँदा रात पर्‍यो। बाटो अफ्ठेरो छ भन्दै मुडेमा बस्ने कुरा भयो। मलाई भने ओखलढुंगामा सामान पठाउनैपर्ने भएकाले भक्तपुर पुग्नैपर्ने भयो र अर्कै रिजर्भ गाडी भेटें। अनि त्यसैमा फर्क्यौ हामी तीनै आमाछोरी।'

बिहान साथीहरु कता आइपुगे भनेर फोन सम्पर्कसमेत गरेकी रहेछिन् निर्मलाले। भनिन्, 'अघि बिहान साथीभाइ कहाँ आइपुगे होलान् भनेर फोन गरें। तर पहिलो पटक फोन उठेन। दोस्रोपटकमा एकजनाले फोन उठाए। तर साथी हैन रहेछ। उनी त अर्कै मान्छे पो रहेछ। उनैबाट दुर्घटनाबारे थाहा पाएँ।'

सँगै रमाउँदै कालिन्चोक दर्शन गरी रमाउँदै फर्केका साथीहरुको खबर सुनेर निकै दु:ख लागेको उनले बताइन्। निर्मलाले भनिन्, 'हिजोमात्र रमाउँदै कालिन्चोक मन्दिर दर्शन गरेको एकै ठाउँ सँगै बसेर खाजा खाएका सबै साथी बस दुर्घटनामा परेछन्। एकदमै दु:ख लाग्यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell