सन्तुमाया श्रेष्ठ हरेक बिहान बिउँझिएपछि ओच्छ्यानबाटै छेउमा राखेको पावरवाला चस्मा झिक्छिन्। मुखबाट बाफ निकाल्दै चस्माको सीसा पुस्छिन् र लगाउँछिन्। त्यसपछि आडैमा निदाइरहेका नाति प्रयानको देब्रे गालातिर ध्यानपूर्वक हेर्छिन्। उस्तै सुस्तरी समाउँछिन् देब्रे हात। र, स्नेहपूर्ण आँखाले एकटक लगाएर हेर्छिन्। सुम्सुम्याउन मन लाग्छ तर छुँदिनन्। निदाइ रहेको नाति बिउँझनु हुन्न, उनी सतर्क छिन्।
भर्खर त एक वर्ष भयो प्रयानको गाला र हातका घाउमा टाटा बस्दै गएको। डाक्टरले ती चोट ठीक हुन सात वर्षसम्म लाग्नसक्छ भनेका छन्। उस्तै चोट लागेको छ सन्तुमायाको हृदयमा, जुन ठीक हुने नहुनेबारे कुनै पनि डाक्टरले भन्न सक्दैनन्।
प्रयान र उसका आमाबुबा अर्थात् सन्तुमायाका छोरी ज्वाइँलाई आगोको रापले जलायो- चिसो छल्न मर्मत गरेर ल्याएको ग्यास हिटर लिक भएर। उनीहरुको बन्द कोठामा आगो सल्कियो। त्यसपछि उपचारका लागि अस्पताल पुर्याटइएका प्रयानबाहेक उसका आमाबुबा फर्किएनन्।
सन्तुमायालाई लाग्छ - आफ्नो मुटुमा लागेको चोट त आँशुले नै भए पनि पुर्छ। बस्, नातिको घाउ ठीक होस्, दाग हटोस्। दाग रहनुको अर्थ प्रयानसँग प्रश्नहरु रहनु हो। बुझ्ने भएपछि सोध्ला - मेरो गालामा यो कस्तो दाग? मेरो हातको छाला किन यस्तो भयो?
बस्, यी प्रश्न नरहुन्। ती घाउ पुरिइउन्।
दुखाई थाहा नहोस् भनेर नियमित औषधी लगाउनु पर्छ। त्यसले दाग मेट्छ मेट्दैन? निश्चित छैन। तर, पनि सन्तुमायाका दिन तिनै घाउ नियालेर सुरु हुन्छ। मन खुशी भएको दिन उनलाई लाग्छ - ठीक हुँदैछ। मन निराश भएको दिन सोच्छिन् - खोइ कसरी पो ठीक होला?
आज भोलि उनलाई थाहा भइसक्यो - सबै कुरा सोचेजस्तो हुन्न।
केही समयअघि सम्म सोच्थिन् - यो नाति केटोलाई एकछिन् पनि आँखाबाट पर राख्न सक्दिनँ।
गएको मङ्सिर १६ गते आफैँ पुगिन् स्कूलको ढोकासम्म, नाति पुर्याउन। सँगै थिए श्रीमान् प्रेमकुमार श्रेष्ठ पनि। नातिले पहिलोपटक नौलो मानिसको हात समातेर कक्षा भित्र पसेको देखे। मन थाम्न सकेनन्, दुवैका आँखा रसाए। घर फर्कँदासम्म एक अर्कालाई हेरेनन्। एकअर्का रोएको चाहिँ दुवैले थाहा पाएका थिए।
प्रयान सधैं हात हल्लाउँदै ‘बाई’ भन्दै स्कूल जान्छ। त्यसैले हिजोआज घर दिनभर सुनसान हुन्छ। ऊ कराएको, रोएको, हाँसेको झझल्को मेट्न टिभी खुला छाडिदिन्छन्, हेरे पनि नहेरे पनि। प्रेमकुमार र सन्तुमायालाई प्रयानको बानी लागिसक्यो। ऊ नहुनु घर रित्तिनु हो। घर रित्तिनु मन मस्तिष्क भरिनु हो, एक वर्षअघिको त्यही घटनाको यादले भरिनु। मुटु निचोरिनु र भक्कानिनु।
+++
गत वर्ष। पुसको जाडो छल्न प्रयानका बुबा पुष्करराज जोशीले बिग्रेर थन्किएको ग्यास हिटर मर्मत गरेर ल्याए। प्रयान भर्खरै १४ महिनाको मात्र। उसलाई चिसोले नभेटोस् भनेरै हिटर बनाएर ल्याएका थिए। ल्याएकै दिन, पुस ७ गते - उनीहरुको कोठा आगोमा सल्कियो। रापले प्रयानका बुबा पुष्करराज, आमा अप्सरा र प्रयान स्वयमलाई पनि पोल्यो। छिमेकीले ब्ल्याङ्केट पानीमा भिजाए र दन्किरहेको कोठाको ढोका फोडे। तीनै जनाको उद्धार गरे, तर अवस्था गम्भीर थियो।
पुष्करराज र अप्सरालाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालबाट कीर्तिपुर अस्पताल पुर्याइएको थियो। त्यहाँ पुग्दासम्म दुवैजना होसमै थिए। अप्सराले नै आफूहरुलाई आगोले नभइ रापले पोलेको बताएकी थिइन्। उनले पटकपटक प्रयानको अवस्थाबारे सोधेकी थिइन्।
प्रयानलाई भने सोही दिन कीर्तिपुरबाट भक्तपूरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्याूइएको थियो। उसको शरीरको देब्रे भागमा रापले धेरै भेटेको थियो।
घटनाबारे सुनेपछि अप्सराका पिता प्रेमकुमार डुम्रेबाट सोही दिन राति १२ बजे काठमाडौं आइपुगे।
छोरी ज्वाइँ र नातिको अवस्था देखेपछि उनले आफैसँग भने- ‘मलाई त देउताले स्वर्गबाट एकैचोटी नर्कमा पुर्याइदिए। बीचमा बस्न दिएनन्।’
छोरा बिर्खराज र कान्छी छोरी मीनाले अमेरिकामा पढाई सके। पढाई अनुसार काम पनि हुँदै थियो। नेपालमै रहेकी छोरी अप्सरा पनि इन्जिनियर। सडक विभागको स्थायी कर्मचारी। उनका लागि कार्यालयले गाडी पनि दिएको थियो। कहिले काहीँ त्यो गाडी चड्न पाउँदा प्रेमकुमार र सन्तुमायाको शिर गर्वले माथि उठ्थ्यो।
‘छोराछोरीको सबै कुरा राम्रै भयो। परिवारमा खुशी थियो। अब म स्वर्गमा छु भन्ने लाग्थ्यो तर मान्छेभन्दा अगाडि समय हुँदो रै'छ, पच्छ्याउनै नसकिने गरी कुद्ने,’ उनको बोली निकै गम्भीर सुनिन्छ।
केही सोच्छन्। आँखा चिम्म गरेर जमेको आँशु झार्छन्। चस्मा तल सारेर आँशु पुस्छन् र भन्छन्, 'सोचे जसरी चल्दैन जीवन।‘
योजनाअनुरुप चल्थ्यो भने त्यस दिन दु:खद् घटना नै घट्दैन थियो।
अप्सराको तनहुँ सरुवा भइसकेको थियो, माइती नजिकै। पूरा परिवार उतै सर्ने योजनामा थिए। केही समय त्यहाँ काम गर्ने, बढुवा हुन्छ अनि काठमाडौंमा घर बनाउने। गुर्जुधारामा जग्गा किन्न बैना रकम बुझाइसकेका थिए। त्यहाँ घर बनाएपछि महेन्द्रनगरबाट सासु ससुरालाई पनि ल्याउने योजना बनेको थियो। केवल सरुवाका लागि रमाना हुन बाँकी थियो। त्यसैले भर्खर १४ महिना लागेको नाति हुर्काइ रहेका बुबाआमालाई पनि गाउँ डुम्रे पठाइन्। पुष्कर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मा कन्सल्टेन्ट थिए। उनको प्रोजेक्ट सकिएकाले केही समय आराम गर्न र जग्गा पास गरिसकेरमात्र नयाँ काम थाल्न सुझाव पनि उनैले दिएकी थिइन्। बसाई सर्दा तनहुँ लैजाने र नलैजाने सामान छुट्याएकी थिइन्। नलैजाने थुप्रोमा थन्काएको थियो बिग्रिएको ग्यास हिटर पनि। भन्थिन्, 'बेक्कार बत्तीको बिल महङ्गो पर्छ।'
तर, काठमाडौंमा ह्वात्तै चिसो बढ्यो। र, पुष्करराजले बनाएर ल्याए, त्यही बेक्कारको ग्यास हिटर। त्यसपछि सबैकुरा बिग्रियो।
दुर्घटना भएको पाँच दिनपछि अर्थात् गत पुस १२ गते पुष्करराजको प्राण गयो। र, उनले प्राण त्यागेको चार दिनपछि अप्सरा पनि रहिनन्। ६ वर्षअघि उनीहरुले गरेको अन्तरजातीय प्रेम विवाहको अन्त्य भयो।
‘आमा हुनु भनेको सन्तानका लागि बाँच्नु रै'छ। ऊ गइ धेरै दिनसम्म सास नै फेर्न बिर्सेजस्तो भयो। यता यो नाबालक हुन्थेन भने म त खै के पो गर्थें?,’ सन्तुमाया सुनाउँछिन्।
+++
प्रयान आक्कल झुक्कल अजा (हजुरबुबा), अजी (हजुरआमा)लाई बाबा, मम्मी भन्छ। प्रेमकुमार र सन्तुमाया सोच्छन् - छोरी ज्वाइँ वरपर कतै छन्, नातिले देखिरहेको छ।
कहिले काहीँ ऊ खान मान्दैन। कहिले नमज्जाले रुन्छ। सोच्छन् - कतै उनीहरुको आत्मामा केही अड्क्यो कि?
त्यसैले जति सुकै दु:ख देओस् न, प्रयानसँग ठूलो स्वरले समेत कुरा गर्दैनन्। अप्सराको रहर थियो- छोरालाई राम्रो स्कूलमा पढाउने र नराम्रो लगाउन र नमिठो खान नदिने। प्रेमकुमार र सन्तुमाया अप्सराको त्यहीँ रहर पूरा गर्दैछन्।
'पढाई नै सबैकुरा हो। मसँग पनि पैसा थिएन तर मेरा छोराछोरीले मन लगाएर पढे। पढेर अर्बौ पैसा भएको मान्छे भन्दा खुशी भएँ,’ आँशु थाम्न एकछिन चुप लागे र भने, 'एउटा इन्जिनियर केटोले आफ्नो परिवार कसरी पाल्छ? मेरी छोरीले त्यो हैसियत बनाएकी थिइ। तर, दुर्भाग्यले गाँज्यो। अब मेरो नाति त्यहाँ पुगोस्।'
सन्तुमाया श्रीमानसँग बोली मिलाउँछिन्, 'बत्ती बले जसरी बलेको थियो मेरो छोरीको परिवार। हुरीले लग्यो।'
उनी बोलेको ट्वाल्ल परेर हेरिरहेका प्रयानलाई मुसार्छिन्। उसले आँशु नदेखोस् भनेर पच्छ्यौरीले अनुहार छोप्छिन्।
प्रयान मामाघरकै हजुरबुबा हजुरआमासँग छ। खाजा, खाना, औषधिको तालिका छ। अब त स्कूल पनि थपिएको छ, त्यसमा। हरेक मिनेट सतर्क छन्। ऊ निदाउँदा मात्र थकाइ मार्छन्, दुवै। नत्र त तीन बजे छुट्टी हुने स्कूलको गेट अघिल्तिर कहिले काहीँ एक बजे नै पुग्छन्, प्रेमकुमार।
उनीहरुले प्रयान हुर्काउने जिम्मेवारी लिएका छन्। उसको मासिक औषधी, उपचारको खर्च प्रेमकुमारको पेन्सन बराबर छ। खर्चको मतलव छैन नाती आफूसँगै हुनुपर्यो। तर, मुल संरक्षक, पुष्करराजको परिवार हो। कुनै दिन उनीहरु लिन आए राजीखुशी पठाउनु पर्छ। प्रेमकुमार चाहन्छन् आफू रहुन्जेल प्रयान आफूसँगै होस्। सन्तुमायाको त पुत्रीशोक भुल्ने बहाना बनेको छ ऊ। प्रयान हुनुलाई छोरी आफूसँगै भएजस्तो मान्छिन् उनी।
कहिले काहीँ मनमा अनेक ताना खेल्छन्। उनले सकेसम्म लुकाउने आँशु देख्दा प्रयानले भन्न थालेको छ - बाबु छ नि, किन रोइसेको?
प्रयान बुझ्ने हुँदैछ।
हजुरबुबा कतै निस्कन लाग्दा सोध्छ- 'मलाई छोडेर कता?'
कतैबाट फर्कदा सोध्छ- 'मलाई किन नलगेको?'
उसले एक वर्षअघि पूजा लगाएको ठाउँमा भजन गाएर नाचेको सम्झन्छ। के उसले एक वर्षअघि उसको आमाबुबाले 'बचाउ बचाउ...' भन्दै चिच्याएको, आगोको रापसँग लाप्पा खेलेको अनि आफूलाई बचाउन उनीहरुको शरीर आगोमा झोसेको सम्झिँदैन होला?
कल्पँदै कहाली लाग्दो त्यस दुर्घटना सम्झाउन चाहँदैनन्, प्रयानलाई। त्यसैले घरमा अप्सरा र पुष्करराजको फोटो राखेका छैनन्। कहिले काहीँ याद आउँदा मोबाइलको ग्यालरी सुटुक्क खोल्छन्। त्यो मोबाइल प्रयानलाई दिँदैनन्। उसको लागि बेग्लै ट्याब छ, जसमा ऊ हेरेर दङ्ग पर्ने मोटू पत्लुको तस्विरहरु छन्।
+++
प्रयानका बुबाआमाका लागि गत वर्ष आगलागी भएलगत्तै भारतबाट छाला मगाइएको थियो। तीमध्ये निकै कम मात्र प्रयोगमा आयो। उनीहरुको निधनपछि थन्किएको ट्रान्स्प्लान्टका लागि प्रयोग हुने आयातित छाला गएको मङ्सिर २२ गते श्रेष्ठ परिवारले दान गरे। उनीहरुले तत्काल आवश्यक परेका बिरामीलाई नि:शुल्क उपलब्ध गराउनु भन्दै ८० हजार बराबरको छाला कीर्तिपुरको लायन्स क्लबलाई दिए, प्रयानकै हातबाट।
उनीहरु प्रयानमा हर तर्फबाट सकारात्मक प्रभाव परोस् भन्ने चाहन्छन्। त्यसैले मङ्सिर ३० गते उसको बुबाको मृत्यु तिथिका दिन वृद्धाश्रम लगे। त्यहाँ रहेका वृद्धवृद्धालाई खाना खुवाए। प्रयानका लागि उनीहरुसँग आशिर्वाद पनि मागे।
पुस ४ गते अर्थात्, आज भने प्रयानकी आमाको मृत्यु तिथि अनि जन्मदिन पनि। कस्तो संयोग! जीवनको सुरुवात अनि अन्त्य पनि एकै तिथि। त्यसैले आजकै दिन प्रयानलाई बिहानै उसको बुबा र आमा पहिलोपटक भेट भएको ठाउँमा लगियो, काठमाडौं इन्जिनियरिङ कलेजमा। त्यहाँ प्रयानको हातबाट किताब दान भयो। कलेजका चार फरक ब्याचका उत्कृष्ट नतिजा ल्याएका एक पुरुष र एक महिला विद्यार्थीलाई पाठ्यक्रमका किताब उपलब्ध गराइयो।
प्रेमकुमार खाली समयमा भागवत् पढ्छन्, ध्यान गर्छन्। उनलाई भगवानमाथि निकै विश्वास छ। त्यसैले कामना गर्न छाड्दैनन्। तर, एक वर्ष अघिदेखि उनका केही बुझाइ भने फेरिएका छन्- सबै चिज अनित्य। त्यसैले सोच्थे आफ्ना लागि सबै बराबर। कसैप्रतिको माया घटी वा बढी छैन।
‘तर माया त छोडेर गएपछि महसुस हुने रहेछ। मलाई सम्झना रुख र पतिङ्गरहरुको आउँदैनन्। म एक्लै टोलाउँदा झर्ने आँशु मेरो छोरीको सम्झनामा झर्छ। मैले उसलाई भन्नु पर्थ्यो छोरी म तिमीलाई धेरै माया गर्छु,’ यति बोलिरहँदा प्रेमकुमारको मुहार सिलिङतर्फ फर्किएको थियो अनि उनका आँखालाई हत्केलाले छोपेको।