PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अस्पतालको सेवा खस्केको आरोपमा चश्मादेखि औषधि पसले आन्दोलनमा, 'अस्पतालकै चिकित्सकले क्लिनिक चलाए'



अस्पतालको सेवा खस्केको आरोपमा चश्मादेखि औषधि पसले आन्दोलनमा, 'अस्पतालकै चिकित्सकले क्लिनिक चलाए'

  • सुमित मिश्र-

जनकपुरधाम : जनकपुरधामको जानकी आँखा अस्पताल नेपाल र भारतका बिरामीहरुका लागि सहज अस्पताल हो। शल्यक्रियादेखि आँखाका विभिन्न रोग उपचार गराउन यहाँ बिरामीको भीड नै लाग्ने गर्छ।

तर पछिल्लो वर्षहरुमा अस्पताल व्यवस्थापनको कमजोरी तथा आन्तरिक किचलोका कारण अस्पतालको सेवा खस्किन थालेको अस्पताल परिसर बाहिरका चश्मा तथा औषधि पसल सञ्चालकहरुले आरोप लगाएका छन्।

उनीहरुले जानकी आँखा अस्पताल सुधार संघर्ष समिति नै गठन गरी आन्दोलन शुरु गरेका छन्। यन्त्र, भौतिक संरचना तथा व्यवस्थापकीय पक्षका कारण अस्पताल धराशायी हुँदै गइरहेको समितिको आरोप छ।

संघर्ष समितिले सोमवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी अस्पतालमा दक्ष मेडिकल डाइरेक्टर नभएकै कारण अस्पताल धराशायी हुँदै गइरहेको आरोप लगाएको छ।

समितिका अध्यक्ष श्यामसुन्दर झाले अस्पतालका मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहे पनि डिप्लोमा डिग्रीमात्रै योग्यता रहेका हेमशंकर झा आफ्नो पहुँचको आधारमा कयौं वर्षदेखि मेडिकल डाइरेक्टर पोस्टमा रहँदै आएको आरोप लगाए। उनले अस्पतालमा तीन जना एमडी तथा चारजना चिकित्सकहरु रहे पनि उनीहरुलाई बेवास्ता गरेर व्यवस्थापन समितिलाई समेत आफ्नो मातहतमा राखी झा मेडिकल डाइरेक्टर पदमा बस्दै आएको दाबी गरे।

समितिका उपाध्यक्ष मनोजकुमार शर्माले मेडिकल डाइरेक्टर झा अवकाश प्राप्त भए पनि विगत ५ वर्षदेखि पटक पटक समय थप गराउँदै पदमा बसेको आरोप लगाए।

उनले भने, ‘मेडिकल डाइरेक्टर झा एक त विना योग्यता कयौं वर्षदेखि मेडिकल डाइरेक्टर पोस्टमा थिए, अवकाश प्राप्त गरे पनि ५ पटकसम्म कन्ट्रयाक्ट थप गराउँदै आइरहेका छन्।’

अस्पतालको अवस्था धारासायी हुँदै जान थालेपछि अस्पताल सुधारका लागि विभिन्न मागहरु राखी संघर्ष समितिले अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ। यद्यपि झाले आफ्नो कन्ट्रयाक्ट डिसेम्बर १९ मै समाप्त भइसकेकोले आफूले ज्ञापन पत्र बुझ्न नसक्ने भन्दै पत्र बुझ्न अस्वीकार गरे।

झाले आफूमाथि समितिले लगाएको सम्पूर्ण आरोपहरु निराधार रहेको दाबी गरे। उनले आफू मेडिकल डाइरेक्टर बन्न पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई अग्रह गरेको बताए। उनले कन्ट्रयाक्टको आधारमा अस्पताललाई सेवा प्रदान गर्दै आएको प्रतिक्रिया दिए।

जानकी आँखा अस्पताल नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित अस्पताल हो। यहाँ उपलब्ध सहज एवं सरल फेको शल्यक्रियाका लागि आँखाका रोगीहरु यस अस्पताल धाउने गर्छन्। बिरामीहरु अस्पताल भित्रै ठगिदै आएकोले बिरामीहरुको चाप घट्दै गईरहेको समितिको आरोप छ।

तर अस्पताल प्रशासनले बिरामी जाँच गराउन आउनेहरुको क्रम नघटेको दावी गरेको छ। जानकी आँखा अस्पतालका कायम मुकायम प्रशासकीय अधिकृत दीपेन्द्रकुमार सिंहले अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म बिरामीहरुले सेवा लिँदै आएको जानकारी दिए। उनकाअनुसार अस्पतालमा दैनिक ४ सयदेखि ५ सयसम्म बिरामीले ओपिडी सेवा लिँदै आएका छन् भने ४० देखि ५० जनासम्म बिरामीले शल्यक्रियाको सुविधा लिने गरेको जानकारी दिए।

अस्पतालमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय बिरामीहरुले जाँच गराउँदै आएको उनले बताए।

यता संघर्ष समितिका उपाध्यक्ष शर्माले बिरामीहरुलाई विशेष प्याकेजको नाममा अस्पताल प्रशासनले ठग्ने गरेको आरोप लगाए। उनले अस्पताल प्रशासनले नै बिरामीहरुलाई अस्पताल बाहिरका विभिन्न पसलमा औषधि तथा चश्मा किन्न प्रोत्साहन गरेको बताए। जसका कारण सेवाग्राहीहरु चर्को मूल्य तिर्न बाध्य भएको उनको भनाइ छ।

शर्माले भने, ‘अस्पतालले प्रिस्क्रिप्सनमा लेखिएको औषधिको साटो कमसल औषधि दिने गरेको छ।’

मेडिकल डाइरेक्टर झाले भने सरकारले अस्पताल हाताभित्रै फार्मेसी खोल्नुपर्ने नीति अनुरुप खोलिएको र बिरामीहरुलाई पहिलेभन्दा झनै सहज भएको दावी गरेका छन्।

संघर्ष समितिका अध्यक्ष श्यामसुन्दर झाले अस्पतालका चिकित्सकहरुले अस्पतालकै नाममा निजी क्लिनिक संचालन गर्दै आइरहेका आरोप लगाएका छन्। उनीहरुले आफ्नो निजी क्लिनिकमासमेत आँखा अस्पतालकै लेटर प्याडको प्रयोग गरेको समितिका अध्यक्ष झाको आरोप छ।

मेडिकल डाइरेक्टर झाले पनि सो आरोपलाई स्वीकार गरेका छन्। उनले यस विषयमा चाँडै नै पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

सन् १९८२ मा स्थापना भएको यस अस्पतालमा अहिलेसम्ममा २१ लाख ७४ हजार ६ सय ५ बिरामीले सेवा लिईसकेको अस्पताल प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell