मुम्बई : दीपिका पादुकोण स्टारर फिल्म 'छपाक'लाई रिलिज अघि नै स्क्रिप्ट चोरीको आरोप लागेको छ। राकेश भारती नामक लेखकले निर्माण टिमलाई कथा चोरी गरेको आरोप लगाँउदै मुम्बई हाई कोर्टमा निवेदन दर्ता गरेका छन्।
एसिड पीडितको कथामा आधारित फिल्म 'छपाक'को कथा आफूले लेखेको र निर्माण टिमले आफूलाई कुनै क्रेडिट नदिएको भारतीले दाबी गरेका हुन्। उनले निवेदनमार्फत फिल्म लेखकको क्रेडिट आफूलाई दिन अपिल गरेका छन्।
भारतीका वकिल अशोक सरोगीका अनुसार हाई कोर्ट जानु अघि निर्माण टिम र भारती बीच फक्स स्टार स्टुडियोमा छलफल भएको थियो।
यसअघि भारतीले एसिड पीडितको कथामा 'ब्ल्याक डे' नामक फिल्म बनाउने निर्णय गरेका थिए। उनले २०१५ मा फिल्म दर्ता समेत गराएका थिए। फक्स स्टार स्टुडियोलाई आफ्नो स्क्रिप्ट अप्रोच गरेको उनले दावी गरेका छन्।
तर त्यति बेला फिल्मको प्रोजेक्ट शुरु हुन सकेन। जुन कथामा फक्स स्टार स्टुडियोले 'छपाक' निर्माण गरेको उनको आरोप छ।
'छपाक'मा आफ्नो कथा प्रयोग भएकोले गर्दा फिल्मको क्रडिट दिनुपर्ने माग भारतीले गरेका थिए। तर 'छपाक' टिमले कुनै चासो नदेखाएपछि उनले हाईकोर्टमा मुद्दा दर्ता गराएका हुन्। अदालतले यस विषयमा २७ डिसेम्बरमा सुनुवाइ गर्नेछ।