PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

समाजवादी आउट भएसँगै सिंहदरबारमा राजपालाई स्वागतको तयारी, 'प्रस्ताव आएको हो, शर्त पूरा भएमात्र जान्छौं'



समाजवादी आउट भएसँगै सिंहदरबारमा राजपालाई स्वागतको तयारी, 'प्रस्ताव आएको हो, शर्त पूरा भएमात्र जान्छौं'

  • प्रकाश भण्डारी-

काठमाडौं : समाजवादी पार्टी, नेपालले आज सरकार छाडेको छ। यो निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले समाजवादीको ठाउँमा अरु दललाई इन्ट्री गराउँला? अहिले यही चर्चाको विषय बनेको छ।

किन बिच्कियो समाजवादी?

समाजवादीलाई पाखा लगाउने तयारीमा एक महिना अघिदेखि नै लागेको नेकपाले पछिल्लो समय राष्ट्रिय जनता पार्टी(राजपा)लाई काख लिने प्रयास जारी राखेको छ।

पुस २ गते प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि दुई पार्टीबीच सुटुक्क चुनावी तालमेल गर्ने सहमतिले नै बिच्किएको थियो समाजवादी।

नेकपाका दुइ अध्यक्ष केपी ओली र पुष्पकमल दाहल तथा राजपाका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेको सहमति पत्रमा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्नेसमेत उल्लेख छ।

निर्वाचनका लागि प्रदेश २ मा गरेको तालमेलबाट यो प्रष्ट भइसकेको छ। यही निर्णयको चोटले होला समाजवादी सहेर सरकारमा बसिरहन सकेन।

सहमति भएको हप्ता दिन बित्न नपाउदै आज समाजवादीले सरकार छाडने निर्णय गर्‍यो। समाजवादीले खाली गराएको मन्त्रालय सम्हाल्ने गरी अब के राजपा सरकारमा सहभागी हुन्छ त? धेरैको जिज्ञासा अब यही छ।

यसो त समाजवादीले पहिल्यैदेखि उठाउँदै आएको मुद्दा हो : संविधान संशोधन। २०६२/०६३ को अन्तरिम संविधानको प्रति जलाएर राजनीतिमा उदाएका यादव आफ्नो एजेन्डाबाट पछि हटेका छैनन्। मधेशमा उनको प्रभाव कायमै छ। यस मुद्दामा पछि एकता भएका पूर्व प्रधानमन्त्री समेत रहेका बाबुरामको पनि साथ थपियो।

यसले झस्किएको प्रधानमन्त्री ओलीले यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएको देखिन्छ। कानुन बनाउने जिम्मा कानुन मन्त्रालयको पर्छ। यसका लागि उनले निकै पापड बेल्नुपर्ने हुन्छ। कानुन मन्त्रालयमा बसेपछि संविधान संशोधनबारे औंलो उनीमाथि नै ठडिने छ। संविधानविरुद्ध अभिव्यक्ति दिँदै राजनीतिमा उदाएका उनलाई त्यसको संशोधनको भारीले नथिच्ने कुरै भएन।

यसरी कानुन बनाउने ठाउँमै यादवलाई राखेपछि उनी संविधान संशोधनको एजेन्डाबाट पछि हट्ने अनुमान ओली लगायतले गरेका थिए। यद्यपि यादवले मुद्दा छाडेनन् र मन्त्रिपरिषद्मै संविधान संशोधनको मुद्द उठाए। संविधान संशोधनको मुद्दालाइ प्रधानमन्त्री  ‌ओलीले मन्त्रिपरिषदको बैठकमै अस्विकार गरेपछि समाजवादी यो निर्णयमा पुगेको अर्थ लाउन थालिएको छ।

कानुनमन्त्रीका रुपमा यादवले हिजोको मन्त्रिपरिषद् बैठकमा संविधान संसोधनका लागि विज्ञ समुह गठन गर्ने प्रस्ताव गरेपनि प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

यादवको राजीनामा पत्रमा '२०७५ जेठ १४ गते संविधान संशोधनको दुई बुँदे सहमतिअनुसार सरकारमा सामेल भएपनि अहिले सरकारले सहमति तोडेको उल्लेख छ।'

यादवको राजीनामा पत्रमा सरकारले एकतर्फी रुपमा सम्झौता तोडेको आरोप लगाइएको छ। यादवले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्। यसअघि पनि बेला मौका उपेन्द्र यादवले सरकारप्रति असन्तष्टी पोख्दै आएका थिए।

यसअघि जिम्मेवारी हेरफेर भएको बेला पनि यादव भारतमा रहेको थिए। पछि नेपाल आएपछि उनले प्रधानमन्त्रीले धेरै माया गर्नुभयो भन्दै व्याङग्य गरेका थिए। त्यतिबेला यादव उपप्रधान तथा स्वास्थ मन्त्रीको जिम्मेवारीबाट कानुन मन्त्रीको जिम्मेवारीमा पुगेका थिए।

प्रस्ताव आएको छ, शर्त पुरा भए जान्छौं : राजपा

यस्तो अवस्थामा के राजपा सरकारमा सहभागी हुन्छ त?

राजपाका महासिचव मनिसकुमार सुमन केही शर्तहरु पुरा भएमात्र सरकारमा सहभागी हुने बताउछन्।

उनी भन्छन, 'सरकारले त प्रस्ताव गरेको छ। तर हाम्रा केही शर्तहरु पुरा हुने भएमात्र सरकारमा जान्छौं।'

संविधान संशोधन, लाल अयोगको प्रतिवेदन सर्वजनिक गर्नुपर्ने, झुट्टा मुद्दा फिर्ता, रेशम चौधरीलाई छोड्नु पर्नेलगायतका विषयमा डिल भइरहेको महासचिव सुमनले बताए। आन्दोलनको क्षतिपुर्ति दिनुपर्ने लगाएतका विषय पनि समाजवादीको शर्तका रुपमा रहेका छन्।

महासचिव सुमन भने आजको भोलि नै सरकारमा जान नसकिने बताउछन्। तर सरकारसँग निरन्तर छलफल भने भइरहेको सुमनले बताए। समाजवादीको बहिर्गमन र राजपाको चुनावी तालमेलले समाजिक सञ्जालमा पनि तातिएको छ।

तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले ट्विटरमा समाजवादी पार्टीको सत्ता बहिर्गमन र राजपाको नयाँ सत्ता समिकरण कृत्यको विषयगत उपलब्धी केही नहुने टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ' प्रधानमन्त्रीले कलापूर्ण ढंगबाट दुवै दासहरुलाई नङ्ग्याएका छन्। यी दुवैले आकाशतिर थुकेर आफ्नै मुखमा खसालेको थुकलाई शीत परेको भनि भ्रमित भै रहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell