चिसो ह्वात्तै बढ्यो। दोलखाको कालिञ्चोकमा हिउँ पर्यो। त्यही हिउँ हेर्न र खेल्न पुग्नेको लस्कर लाग्यो। अरनिको राजमार्गमा गाडीको चाप ह्वात्तै बढ्यो। दोलखातर्फ लाग्ने र तातोपानी जाने बाटो छुट्टिने खाडीचौर बजारमा गाडीहरुको चर्को हर्न बज्यो। उत्तिकै हल्लाखल्ला पनि। बजार पारी रहेको सिन्धु सदाबहार अस्पतालमा पनि सुनियो यस्तै कोलाहालपूर्ण आवाज।
मंसिर २९ गते, बिहान ७ बजे। कठ्याङ्ग्रिँदो चिसोका कारण बजार सुनसान नै थियो। गाडी र मानिसको आवाज सुनिनुभन्दा अगाडि नै खाडीचौर बजार हुँदै सिन्धु सदाबहार अस्पतालसम्म आइपुग्यो अर्को भयावह दुर्घटनाको खबर। दुई महिनाअघि मात्र त भएको थियो त्यहाँबाट १५ किलोमिटर पर सिपाटारमा त्यस्तै बस दुर्घटना। त्यतिखेर घटनास्थलमै ८ जनाले ज्यान गुमाएका थिए। अनि घाइतेमध्ये केहीलाई यही सिन्धु सदाबहार अस्पताल पुर्याइएको थियो।
त्यतिखेर प्राथमिक उपचार गरेर त्यहाँबाट धुलिखेल र काठमाडौं पठाइएका घाइतेहरु ठीक भए कि भएनन् होला? प्रश्नहरु आलै थिए। फेरि अर्को दु:खद् खबर आयो- '६ किलोमिटर पर लामोसाँघुमा कालिञ्चोकबाट काठमाडौं फर्कँदै गरेको बस दुर्घटना। १३ जनाको घटनास्थलमै मृत्यु। अन्यको उद्दार जारी।'
खबर आएको एक घण्टा पनि नबित्दै दुर्घटनामा परेका घाइतेहरुलाई यही अस्पतालमा ल्याउन थालियो।
टाउको, अनुहार, हात गोडामा चोटै चोट लागेका मानिसहरु। केही बेहोस त केही छट्पटाइरहेका। एकछिनमै अस्पतालभित्र बिरामी र उद्दारकर्मीको भिड लागिहाल्यो। बाहिर घाइतेको अवस्था हेर्न र आफन्त त परेनन् भन्दै बुझ्न आउनेहरु ह्वात्तै बढे। 'ऐय्या' र 'आत्था'को चित्कार चलिरहेकै थियो। अस्पतालका डाक्टर अनि नर्सहरु उपचारमा खटिएका थिए।
ओपीडी खुल्ने समय नै भइनसकेकाले घाइतेबाहेक अन्य बिरामी आइपुगेका थिएनन्। करिब १८ जनाको घाउमा ड्रेसिङ भयो। र, एक्स-रे पनि। उनीहरुलाई चिकित्सकले आवश्यकता अनुसार औषधी दिए।
घाइतेहरुको त्यही भिडमा - रातो मोटो ज्याकेट र रातै रङको टोपी लगाएकी नाबालिका आफ्नै सुरमा चल्मलाउँदै थिइन्। अस्पताल आइपुग्दा निदाइरहेकी उनको शरीरमा कहीँ कतै कुनै चोटपटक थिएन। 'सामान्य जाँच र एक्स-रे गरेपछि सबै ढुक्क भयौं, बच्चालाई केही भएको रहेनछ,' अस्पतालकी नर्स विनिता खत्रीले त्यो भयावह अवस्थामा भेटिएकी सकुशल शिशुबारे सुनाइन्, 'हामी नै छक्क पर्यौं। त्यस्तो भयानक दुर्घटनामा पर्नु अनि सानो चोट पनि नलाग्नु! बच्ची त भाग्यमानी रहिछिन्।' सायद, उनकी आमाले छोरीलाई चिसोबाट जोगाउन लगाइदिएको भक्कु लुगाले उनलाई चोट लाग्नबाट जोगायो।
अन्य घाइतेमध्ये प्रायको भने टाउकोमा चोट। अस्पतालमा सिटी स्क्यान मेसिन छैन। त्यसैले घाइतेहरुलाई धुलिखेल वा काठमाडौं रेफर गर्नुपर्ने भयो। प्रक्रिया चल्दै गर्दा घाइतेका आफन्तहरु अस्पतालमा पुगिरहेका थिए।
त्यसरी आएकाहरुले 'यिनी त मेरा मान्छे' भन्दै लिएर जान थाले। तर, दिन छिप्पिँदासम्म पनि ती नाबालिकालाई खोज्न कोही पनि आएन। अस्पतालका कर्मचारीहरुलाई लागेको थियो - दुर्घटनामा परेकै कसैको बच्चा हो। आफन्त आउँलान् र अरुलाई जस्तै लिएर जालान्।
तर, अनौठो! कोही पनि आएनन्।
यी शिशुको उमेर सात महिनाभन्दा माथि पक्कै छैन। त्यसैले न बोल्न सक्छिन् न संकेत नै गर्न। बाबाआमाको नाम अनि ठेगाना त कसरी थाहा पाउनु? अस्पतालका कर्मचारीहरु अब भने अन्यौलमा परे। अस्पतालमा उनी सकुशल ल्याइएकी थिइन् जसलाई जोगाउनु आफैमा 'धर्म' थियो। अस्पतालका निर्देशक आरएस भण्डारीले उनको उपचार र रेखदेखमा कुनै कमी नराख्न निर्देशन दिइसकेका थिए।
भिड केही साम्य भएपछि, शिशुको लुगा फेरिदिए। 'ल्याक्टोजिन' बनाएर खुवाउन पनि खोजे। तर, उनले मानिनन्। तर, कोकोहोलो गरेर रुन थालिन्। सायद, भोकले हुनसक्छ।
त्यतिखेरै अस्पतालमा घाइतेको अवस्था हेर्न आएकी थिइन् स्थानीय माझी गाउँकी सरस्वती माझी (नाम परिवर्तन)। रोइरहेकी शिशु देखेपछि उनले सोधिन्- 'मेरो दुध खुवाउँ?'
आफ्नै काखे बच्चा च्यापेर आएकी उनले अस्पतालको बेवारिसे सूचीमा परिसकेकी बालिकालाई काखमा लिइन्। दुध खुवाइन्। रोइरहेकी उनी तत्काल चुप लागिन्। हो रहेछ, भोककै कारण उनी अताल्लिँदै रोएकी।
अस्पतालले उनको खानपिन, लत्ताकपडादेखि रेखदेखको व्यवस्था थालिहाल्यो।
घटना भएकै रात एक हुल मानिस सिन्धु सदाबहार अस्पताल पुगे। उनीहरुले बहिनीको छोरी भएको दाबी गरे। बच्चासँगै उभिएकी उनकी आमाको फोटो पनि देखाए। उनीहरुले देखाएको फोटोमा थिइन्, सुनिता तामाङ।
सुनिताले अघिल्लो दिन आफ्नी दिदीलाई फोनमा भनेकी थिइन् - 'हामी कालिञ्चोक जान लागेका, हिउँ खेल्न। अब भोलिमात्र फर्किन्छौं।'
तर, सुनिता फर्किनन्। न त उनले हिउँ देख्दाको क्षण सुनाउन नै भ्याइन्। खिचेका फोटो त झन् कसरी देखाउनु? उनको दुर्घटनास्थलमै मृत्यु भइसकेको थियो।
मंसिर २८ गते भक्तपुरबाट ३० जना बस रिजर्भ गरेर कालिञ्चोक पुगेका थिए। त्यसदिन दोलखाकै कुरीमा बास बसी भोलिपल्ट बिहानै भक्तपुर नै फर्किँदै थिए। तर, बस एक्कासी लामोसाँघु जिरी सडकखण्डको ६ किलोनजिकैको घुम्तीबाट खस्यो। बस हाँक्ने अरु कोही थिएन, थिए त सुनिताकै श्रीमान् सुमन भनिने चीपबहादुर तामाङ। दुर्घटना भएलगत्तै सुमन फरार।
आमा मरिन्, बाबु बेपत्ता! छोरी बेवारिसे अवस्थामा अस्पतालमा। अपरिचित काख र काँधहरुमा पालैपालो खेल्दै उनी सकुशल रहिन्। उनलाई कसैले पराई मानेन। भर्खर आमा बनेकी अपरिचित सरस्वती माझीले दुध नै खुवाइन्, आफ्नै सन्तानलाई जस्तै। अस्पतालले पनि कोही नआउँदा उनको जिम्मेवारी लियो।
जिम्मेवारी लिएकै कारण बालिकालाई लिन पुगेका मामा र ठूलीआमासँग पठाएनन्।
'हामीले त संरक्षणको जिम्मा लिएका छौं। बोल्न नसक्ने, कसैलाई नचिन्ने बालिकालाई उनीहरुकै हो भनेर कसरी पठाउनु? नाता प्रमाणित गरेर मात्र लिन आउनु भन्यौं ता कि भोलि केही समस्या आइनपरोस्,' अस्पतालकी मेट्रन सपना शाहले भनिन्। अनि बालिकाका मामाहरु फर्किए। भनेका थिए- 'बहिनीको शब बुझ्छौं, दाहसंस्कार गर्छौं र भान्जी लिन आउँछौं।'
तर, घटना भएको एक साताभन्दा बढी बितिसक्दा पनि अस्पतालमा कोही फर्किएको छैन।
अस्पताल आउँदा एकोहोरिएकी बालिका भने हाँस्न र खेल्न थालेकी छिन्। पूरै घुलमिल भइसकिन्। उनले अस्पतालमा ठूलो परिवार पाएकी छिन्। र, नयाँ नाम पनि - सिन्धु।
सिन्धु आएपछि अस्पतालमा बहार नै छाएको छ। उनलाई हेर्न मानिसहरु आउँछन्। आउनेहरुले लत्ता कपडा र खेल्नेकुरा आफूसँगै ल्याउँछन्। अस्पतालको आफ्नै नर्सिङ कलेज पनि छ। त्यहाँका विद्यार्थी उनलाई स्नेहपूर्वक बोलाउँछन्। बोक्छन्। कतिले 'मुख हेर्ने' भन्दै सय पचास हातमा थमाइदिन्छन्। ती रकम उनकै नाममा जम्मा भइरहेको छ अस्पतालमै।
उमेर अनुसार सिन्धुलाई दिनमा तीन पटक सेरलेक्स र समय तालिका अनुसार ल्याक्टोजिन खुवाउन थालिएको छ। उनको स्याहार सुसारमा अस्पतालका तीन कर्मचारी खटिएका छन् - बिहानलाई लक्ष्मी बिक। सुनिता माझीले राति हेर्छिन्। र, दिउँसो तेल लगाउने, खुवाउने, घाममा खेलाउने गर्छिन्, गोमा सुनदासले।
'आफ्ना छोराछोरी हुर्केको धेरै भयो। यो उमेरमा फेरि आमा भएँ जस्तो लागिरहेको छ,' सिन्धुलाई सुताउन कोसिस गरिरहेकी लक्ष्मीले भनिन्, 'आफ्नो बच्चाजस्तो लागिसक्यो। अब कसरी पठाउने होला?'
सिन्धु भावनात्मक रुपमा अस्पतालका कर्मचारी र आसपासका मानिसको लागि 'खास' भइसकिन्।
दुर्घटना भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनीबारे चासो देखाएको समाचार आयो। उनले गृह मन्त्रालयका पदाधिकारीसँग सडक दूर्घटना न्यून गर्ने कार्ययोजनाबारे छलफल गर्न बसेको बैठकमा भनेका रहेछन्- ‘सिन्धुपाल्चोकको सडक दूर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पाएँ। म निकै भावुक भएँ। हिजो खाना खान र सुत्न पनि सकिनँ।’
प्रधानमन्त्रीले चासो देखाएपछि प्रदेश सरकार र दुर्घटना भएको क्षेत्र पर्ने सुनकोशी गाउँपालिकाले बालिकालाई सहयोगको आश्वासन देखाएको थियो। तर, हालसम्म आश्वासन अनुसार कुनै किसिमको सहयोग प्राप्त भइनसकेको अस्पतालका व्यवस्थापक राम आचार्यले जानकारी दिए।
अस्पतालले बालिकालाई नयाँ पहिचान दिएको छ, फरक परिवेश पनि। अस्पतालको नजरमा उनी बेवारिसे शिशु भए पनि उनको जन्म दर्ता चाहिँ भइसकेको रहेछ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा उनको जन्मदर्ता भएको रहेछ, गत भदौ ११ गते। सुमन भनेर चिनिएका चिपबहादुर तामाङ श्रीमती सुनितालाई लिएर गाउँ पुगेका रहेछन्। उनी घर नगई सरासर वडा कार्यालय पुगेर छोरीको जन्म दर्ता गराए।
'चिपबहादुरसँग आएकी त उनकी कान्छी श्रीमती रहिछन्। उनीहरुको विवाह दर्ता नै भएको थिएन,' इन्द्रावती १० का वडा अध्यक्ष जीवन थापा मगरले पहिलोपोस्टसँग भने। चिपबहादुरले आफ्नो सन्तान भएको दाबी गरेपछि वडा कार्यालयले जन्म दर्ता भयो - सुष्मा तामाङ।
आमा : सुनिता तामाङ
बुबा : चिप बहादुर तामाङ
जन्म मिति: २०७६/०३/१७
मतलव अस्पतालले 'सिन्धु' नाम दिएको उनी सुष्मा हुन्। ६ महिनामात्र उनको उमेर। उनको आफ्नै बुबाले हाँकेको गाडीले परिवारका तीनजनालाई तीनतिर बनायो। अनि फेरियो उसको परिचय पनि। धन्न उनका बुबाले आफ्नी जेठी श्रीमतीको आँखा छलेर गाउँ नपुर्याइ जन्म दर्ता गराएका रहेछन्।
अस्पतालका कर्मचारी 'सिन्धु'का तिनै बुबाको प्रतीक्षामा छन्। जो फर्केर आउने कुनै निश्चित छैन।
फरार रहेका चिपबहादुर अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले भने, 'उनलाई पुस ३ गते काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। उनलाई १० दिन हिरासतमा राखी अनुसन्धानमा राख्न अदालतले अनुमति दिएको छ।'
आमा दुर्घटनामै बितिन्। बाबु हिरासतमा। अस्पतालमा रमाउन थालेकी सिन्धुको भविष्य चाहिँ के त अब? जवाफ कसैसँग छैन।