काठमाडौं : क्रिसमसको अघिल्लो रात बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक युवती गम्भीर घाइते भएकी छिन्।
क्रिसमस मनाएर फर्किने क्रममा आफ्नै साथीले चलाएको बाइक दुर्घटना हुँदा युवती गम्भीर घाइते भएकी हुन्। बाइकका चालक युवक थिए, युवती पछाडि बसेकी थिइन्। अहिले युवतीको ग्रिनसिटी अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ। दुर्घटना भएपछि साथी फरार भएका थिए। 'दुर्घटना भएपछि केटा फरार भएको देखिन्छ। हामीले केटालाई नियन्त्रणमा लिइसकेका छौं,' महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेशसिंहले भने।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फरार सोलुखुम्बुका २१ वर्षीय दिलेन्द्र राईलाई नियन्त्रणमा लिइसकेको छ। २ बजे दुर्घटना भए पनि प्रहरीलाई बिहान ४ बजे खबर आएको थियो। प्रहरीले युवतीलाई वीर अस्पतालमा पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि ग्रिनसिटी अस्पताल पुर्याइएको थियो। युवतीको अवस्था गम्भीर छ।
घटनाको प्रकृति हेर्दा युवकले कुटपिट तथा करणी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 'युवतीको अवस्था हेर्दाखेरि करणी गरेको भन्ने पनि देखिन्छ, यसबारे अनुसन्धान गरिरहेका छौं,' प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए।