काठमाडौं : 'भिजिट नेपाल २०२०' उद्घाटन गर्ने मिति अब एक हप्ता बाँकी छ। यही बेला काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डी पूर्ने अभियानमा पनि लागेको छ सरकार।
खाल्डा पुर्ने अभियान चलाइरहेको भनिए पनि दरबारमार्ग नजिकैको कमलादी पुग्ने सडकमा एक हप्ताअघिदेखि फुटेको ढल व्यवस्थापन गर्न भने कसैले ध्यान दिएको देखिन्न। दरबारमार्गबाट हात्तीसारतिर जाने बाटो केही हिँडेपछि कमलादीतिर जाने बाटोको शिरानमै फुटेको छ ढल। यहीबाट ढुङढुङ्ती गन्हाउने ढल बग्दा पैदलयात्री नाक थुनेर हिँड्न बाध्य छन् भने सवारी साधनलाई माथि सडकतिर उक्लिन पनि मुस्किल छ।
ढलले सडकलाई पनि कुरुप बनाएको छ भने खाल्डो झनै गहिरिएको छ।