PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मापदण्ड विपरीत कर्मचारी समायोजन भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित



मापदण्ड विपरीत कर्मचारी समायोजन भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

  • सुमित मिश्र-

जनकपुरधाम : कर्मचारीहरुको समायोजना गर्दा मापदण्ड विपरीत भएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ आन्दोलित बनेको छ। समायोजन ऐन २०७५ अनुसार कर्मचारीको समायोजन नगरी मापदण्ड विपरीत पदस्थापना गरिएकोले यसलाई सुधार गर्न संघले १७ बुँदे माग अगाडी बढाएको छ।

शुक्रवार पत्रकार महासंघ धनुषामा पत्रकार सम्मेलन गर्दै संघले आफ्नो माग सार्वजनिक गरेको हो। संघले समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहले निश्चित मापदण्ड अनुरुप पदस्थापना गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराउने, तलब भत्ता नै नदिई रवाना पत्र दिएर मानसिक तनाव दिन बन्द गर्नुपर्ने लगायतका माग संघले राखेको छ।

त्यस्तै स्वास्थ्य सेवा ऐन, निजामती सेवा ऐन, संसद सेवा ऐन र स्थानीय ऐन खारेज गरी बन्न लागेको संघीय निजामति सेवा ऐनमा स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हुनु पर्ने, बाह्य श्रोतमा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको रकम सुरक्षित हुनुपर्ने समेत संघले माग राखेको छ।

संघले तीन वटै तहको सरकार स्वास्थ्यकर्मीहरुको मागप्रति गम्भीर नरहेको आरोप लगायो। स्वास्थ्यको कार्यक्रमका लागि उपलब्ध गराइने बजेट अन्य शिर्षकमा खर्च हुँदा समग्र स्वास्थ्य क्षेत्र नै प्रभावित भएको संघका केन्द्रीय अध्यक्ष रमेश घिमिरेले बताए।

उनले स्वास्थ्यको रकम प्रदेश सरकार तथा स्थानीय सरकार भौतिक संरचना निर्माणमा प्रयोग गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे। घिमिरेले मागहरु सम्बोधन नगरिए स्वास्थ्य सेवा प्रभावित नहुने गरी आन्दोलन गर्ने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell