कथाहरू सुन्दै गर्दा कल्पना गरिन्छ - पात्रका अनुहार, तिनका समय र परिवेश, अनि कथाको रङ पनि। त्यस्तै कल्पनामा डुब्ने भएकाले कथा सुन्न मज्जा लाग्थ्यो अमिताभ बाग्चीलाई। बुबा अजोय बाग्ची काम सकेर फर्कन्थे। घर फर्कंदा उनको मुहारमा थकानको रङ्ग देखिन्थ्यो। तर, पनि थकाइ मार्ने बहानामा एक्लै बस्दैनथे। न त लुसुक्क कोठाभित्र नै पस्थे।
उनी अमिताभसँग समय बिताउँथे। अनि हाल्थे कथा।
सरकारी कर्मचारी भएकाले अजोय हरेक दिन फरक मानिससँग ठोकिन्थे। ती मानिसहरुसँग भेट हुनुको मतलब अनेक पात्रसँग भेट हुनु र अनेक कथासँग साक्षात्कार हुनु पनि थियो। यथार्थका तिनै पात्रलाई अजोय कल्पनामा बुन्थे र छोरालाई सुनाउँथे। बुबाले सुनाएका कथाका पात्रहरूलाई अमिताभ आफू अनुकूल दृश्यमा कल्पिन्थे। त्यसैले उनी सधैं कथा सुन्न चाहन्थे।
उमेर बढ्दै जाँदा अमिताभले भन्ने र सुन्नेबाहेक पढ्ने कथाहरू पनि भेटे। 'अमरचित्र कथा' लगायत कमिक्समा मिथक हुन्थे। तिनैबाट उनले रामायण, महाभारत लगायत पौराणिक कथाका पात्रहरु चिने। घटनाक्रम बुझे। पछि तिनै मिथक टिभीमा देखाइयो, टेली श्रृङ्खलामार्फत्। अनि ज्ञात भयो उनलाई – पात्रको अनुहार र कथा कल्पनामा र दृश्यमा कति फरक पर्दो रहेछ।
१४ वर्षका थिए बाग्ची। दिल्ली पब्लिक स्कुलमा कक्षा ९ मा पढ्थे। कक्षा ९ कै ८ वटा सेक्सन थिए। स्कुलले कथा प्रतियोगिता आयोजना गर्यो, कक्षा ९ का सबै सेक्सनहरू बीच प्रतिस्पर्धा। बाग्चीले कथा लेख्ने भए, त्यसैका लागि।
‘मानिसहरू यो युगमा हुँदैनन्। भविष्यको कुनै कालखण्डमा बाँचिरहेका हुन्छन्। त्यहाँ उनीहरू पानी वा साबुनका फोकाहरूमा बस्छन्। फोकाभित्रै तिनको संसार हुन्छ,’ बाग्चीको पहिलो कथाको सार।
पहिलो कथा नै ‘साइन्स फिक्सन’। आठ जनामा उनी तेस्रा भए। खुशीको सीमा रहेन, उनको पनि उनका बुबाको पनि। स्कुलमा वाहवाही पाए। त्यसपछि कथाप्रति उनको झुकाव बढ्दै गयो। सिक्ने भोक पनि। उनले फेरि कुनै साइन्स फिक्सन लेखेनन् तर जे लेखे, त्यसले उनलाई बेग्लै उचाइ दियो। र, उनलाई ‘द अमिताभ बाग्ची’ बनायो।
लघुकथाबाट लेखन सुरु गरेका बाग्चीले सन् २००७ मा पहिलो उपन्यास 'अबभ एवरेज' सार्वजनिक गरे। त्यसपछि सन् २०१२ मा 'द हाउस होल्डर', २०१३ मा 'दिस प्लेस'। तेस्रो पुस्तक डब्लिन इम्प्याक लिटररी प्राइजका लागि मनोनित भयो। त्यस्तै सन् २०१४ मा रेमन्ड क्रसवर्ड बुक अवार्डका लागि पनि छानियो। तर, जितेनन्। पुरस्कार रवि सुब्रमण्यमको पोल्टामा पर्यो।
+++
अमिताभलाई किताब लेख्न समय लाग्छ। उनी एकै समय एउटा कुनामा बसेर सरासर लेख्दैनन्। हिँड्दा पात्रबारे सोच्छन्। जे गरिरहँदा पनि उनको दिमागमा घटनाक्रम खेलिरहेका हुन्छ। तिनको तारताम्य मिलाउन खुब सोच्छन्। खाली बसेका बेला आफ्नो भाष्यमाथि काम गर्छन्। उनको लेख्न बस्ने कुनै निश्चित टेबल वा ठाउँ छैन। आम मानिसका जिन्दगीबाट कथा लिन्छन्। दिमागमै खाका तयार पार्छन्। त्यसपछि भाषा र शिल्प निश्चित गर्छन्। अनि जहाँ मन लाग्छ त्यहीँ बसेर लेख्छन्।
बाग्ची कहिलेकाहीँ महिनौंसम्म पनि केही लेख्दैनन्। जब लेखूँ, जस्तो लाग्यो, त्यहीँ सुरु भइहाल्छन्। उनका अनेक खुबीमध्ये एक यही लेखन हो।
कुनै यस्तो समय पनि थियो जब उनको सिर्जनशीलतालाई औपचारिक अध्ययनले पूरै छोपिदियो। विज्ञान, अझ विशेषगरी भौतिकशास्त्रका अनेकौँ पुस्तक र परीक्षामाझ उनी हराए। मेहनतको फल नपाएका होइनन्, इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), दिल्लीमा भर्ना भए। आआईटीमा भर्ना पाउनु चानचुने कुरा थिएन अहिले पनि छैन। भर्ना पाएपछि उनलाई लाग्यो, अब त जिन्दगीका सबै समस्या सकिए। तर, खास समस्या त आउनै बाँकी छन् भन्नेबारे चाहिँ उनी अन्जान।
साहित्यप्रतिको आफ्नो प्रेमलाई उनी मार्न चाहँदैनथे। रूची र जिम्मेवारी फरक भएकै कारण उनको पढाइ सोचेजति राम्रो भएन। र, पछि यी दुई आयामको कुशल व्यवस्थापन गर्दै जाँदा पढाइ पनि राम्रो हुँदै गयो। कम्प्युटर विज्ञानमा विद्यावारिधी गरे। अहिले आईआईटीमै उक्त सहप्राध्यापक छन्।
उनका छोरा सानै छन्, आमा र श्रीमती पनि सँगै।
'यसलाई बहाना मान्न सकिन्छ तर मैले लेखाइ सँगसँगै पेशा र परिवारलाई बराबर समय दिनुपर्छ,' उनले प्रस्ट पारे।
जे होस्, उनलाई लेख्न समय लाग्छ। त्यसैले 'हाफ द नाइट इज गन' सक्न लगभग साढे चार वर्ष लाग्यो उनलाई।
‘बीसौँ शताब्दीको सुरुवातको कथा। भारतमा एक प्रसिद्ध उपन्यासकार हुन्छन्- विश्वनाथ। एकदिन अचानक अमेरिकाबाट खबर आउँछ- दुर्घटनामा परी उनका छोराको मृत्यु भयो। शोकाकुल बनेका विश्वनाथ आफ्ना पीडा शब्दहरूमार्फत् पोख्न थाल्छन्। कथामा विश्वनाथ सम्बन्धका कुरा गर्छन्, सम्बन्धमा वियोगका कुरा पनि। लाला मोतीचन्दको सम्भ्रान्त परिवारको कथा बुन्दै जाँदा बीचमा आउने निम्न वर्गका पात्रलाई उनी अन्याय गर्दैनन्। स्वतन्त्रतापछि भारतमा आएको सामाजिक परिवेशबारे लेख्छन् विश्वनाथ। साथै, धर्म र साहित्यका अनेक आयामलाई प्रश्न गर्छन्।‘
लाला मोतीचन्द विश्वनाथका लेखनीबाट जन्मिएका हुन् भने विश्वनाथ बाग्चीका लेखनीबाट। यसैले उनलाई नवौं दक्षिण एसियाली साहित्यका लागि डिएससी पुरस्कार दिलायो। पच्चीस हजार अमेरिकी डलर नगदसहितको पुरस्कार लिन उनी मञ्चमा उक्लँदा दर्शकदीर्घामा दङ्ग देखिन्थे उनका छोरा कुशो र श्रीमती रतिका कपुर। रतिकाका दुई उपन्यास प्रकाशित छन्।
बाग्चीले जसलाई पुस्तक समर्पित गरे, उनीहरू त्यो जितको साक्षी बने। उनका लागि निकै खुशीको क्षण बन्यो त्यो। उनको अनुहारमा जितको रङ गजब देखिन्थ्यो।
'मेरी आमा, श्रीमती र छोरा मेरो जिन्दगीको सबैभन्दा नजिकका हुन्। म जहाँ उभिएको छु त्यो जग उनीहरूले नै बनाइदिएका हुन्। मेरा हरेक कथा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उनीहरूसँग जोडिएका हुन्छन्। उनीहरूले महसुस गराउने भावनाबारे जोडिएका हुन्छन्,’ उनले पुस्तक परिवारलाई समर्पण गर्नुको अर्थ खुलाए।
बाग्चीका यसअघिका पुस्तक पुरस्कारका लागि मनोनित भए तर जितेका थिएनन्। यस पटक डिएससी पुरस्कारका लागि मनोनित अन्य ६ पुस्तकलाई उनले बलिया प्रतिस्पर्धी मानेका थिए। फरक-फरक दमदार कथा, सबै लेखकका आ-आफ्ना अनुपम शैली। जमिल जान कोचाइले उपन्यास 'नाइन्टी नाइन नाइट्स इन लोगर'मा प्रयोग गरेको भाषाले अमिताभलाई नै आकर्षित गरेको थियो। माधुरी विजयको 'द फार फिल्ड'को मूलधारका सञ्चारदेखि सामाजिक सञ्जालमा बेग्लै चर्चा। मनोरञ्जन व्यापारीको सरल भाषाले भन्ने गम्भीर कथा। राजकमल झाका हरेक दिन देखिने वा भोगिने घटनाका असामान्य प्रस्तुति। यी सब देख्दा बाग्ची स्वयं लोभिएका थिए।
पाठक भएर पढ्दा उनलाई उत्कृष्ट लागेका पुस्तकहरू प्रतिस्पर्धामा थिए। त्यसमाथि पाँच फरक निर्णायकका फरक धारणा र रूची। पुस्तकप्रतिको फरक बुझाइले पनि निर्णयमा प्रभाव पार्नु स्वभाविक थियो। त्यसैले यस पटक जित्ने आशाभन्दा बढी कामना गरेका थिए। जब निर्णायक मध्येमा हरिष त्रिवेदीले उनको नाम घोषणा गरे त्यतिखेर सोचे, 'आहा! यो त मेरो सौभाग्य हो।'
अमिताभका आख्यानहरू समीक्षात्मक हिसाबमा अब्बल छन्। तर, बजारमा चर्चा कम। पुस्तकको बजारभन्दा विषयगत गाम्भीर्यतामा ध्यान दिने र ऐतिहासिक विषय केन्द्रमा रहने कारण उनका पुस्तकहरू सीमित पाठकको रोजाइ बनेको स्वमूल्याङ्कन गरेका छन्।
'यस वर्ष त पुरस्कार जितेँ। सामाजिक सञ्जाल र मिडियामा केही चर्चा पनि भएको छ। पुरस्कारले मलाई आम पाठकसम्म पुग्न र आफ्ना कृति चिनाउन सहयोग पुर्याउँछ भन्ने लागेको छ,' उनले सुनाए।
डिएससी पुरस्कार प्राप्त पुस्तक 'हाफ द नाइट इज गन'मा पनि उनले संकेत गरे झैं पौराणिक कथासँग बीसौं शताब्दीको भारतीय परिवेशलाई ‘कोलाज’ गरिएको छ। इतिहासलाई वर्तमानको 'लेन्स'बाट हेर्नु उनको आख्यानको विशेषता हो। तर, यही विशेषतामाथि कहिलेकाहीँ प्रश्न पनि उठ्छन्।
‘प्रश्न?’
आफूतर्फ प्रश्न सोझिनुअघि उनले प्रस्ट पार्दै भने, 'हाम्रो पुस्ता के सोच्छ भने - आफ्नो विचार सही र प्रगतिशील छ, अनि, त्यस्तै रहिरन्छ। तर, त्यसो होइन। आजभन्दा पचास वर्षपछिको पुस्ताले हाम्रा यिनै विचार र प्रयोगमाथि प्रश्न गर्नेछन्। उनीहरूले हामीलाई निकै पिछडिएको पुस्ता भनी बुझ्नेछन्।'
फरक समयमा बाँचेका मानिस र उनीहरूको कथा 'जज' गर्नु बेकार मान्छन् उनी।
‘मानिस बाँचेको समय होइन, त्यस समय उसले अपनाएको परम्परा र संस्कृतिले व्यवहारमा असर गर्छ। परम्परा परिवर्तनशील हुन्छ त्यसैले हाम्रो अघिल्लो पुस्ता र हाम्रो विचार, शैलीमा फरक प्रभाव पार्यो।’
उनी चाहन्छन् नयाँ पुस्ताले इतिहास स्वीकारोस् र भोलि हुने परिवर्तन पनि आत्मसात् गर्ने सामार्थ्य राखोस्। त्यसैले उनले ९ वर्षीय छोरा कुशोलाई पौराणिकदेखि आधुनिक परिवेशका कथाहरूसँग परिचित गराएका छन्। इन्टरनेट र अध्ययन गर्ने विभिन्न एप्लिकेसनमार्फत् कुशो कथा हेर्छन्, सुन्छन्, पढ्छन्।
छोरा मोबाइल या ट्याबलेटमा रमाइ रहँदा बाग्ची भने आफ्नो विगत सम्झन्छन् - कथा सुन्नकै लागि बुबा कामबाट फर्कने समय पर्खनुपर्थ्यो। रामायणको एक भाग हेर्न पनि हप्तादिन पर्खनुपर्थ्यो। छोराको पुस्ताले त प्रविधि पायो। घण्टौं सँगै बसेर आफ्ना बुबाले आफूलाई सुनाएजस्तै कुशोलाई कथा सुनाउन सक्दैनन्। बाग्ची, व्यस्त छन्। तर, पनि उनको छोराको कथाप्रतिको रूचीमा भने कमी आएको छैन।
'अहिलेका बालबालिका भाग्यमानी छन्, उनीहरूले इन्टरनेट पाए। आफूले चाहेका कथा वा श्रृङ्खला सक्ने भए। मन लाग्दा दोहोर्याउने भए। मन परेको पात्रलाई पटकपटक हेर्न पाउने भए। हरेकपटक हेर्दा फरक बुझाइ र दृष्टिकोण विकास हुने सम्भावना रह्यो,' उनले भने।
बालबालिकाको हातमा ग्याजेट कि पुस्तक भन्ने बहस चलिरहन्छ अहिले। 'यस्ता विषय निकै आवश्यक छन्। तर, बालबालिकामा बढ्दो प्रविधिको प्रयोगका कारण धेरै मानिस चिन्तित भएको पाउँछु। प्रविधिले बालबालिकाको कल्पनशीलता घट्यो, त्यसैले प्रयोग गर्न दिनुहुन्न भन्ने तरिकाले पनि सोच्न सकिन्छ। तर, प्रविधिको युगमा त्यो सोचले सिर्जनात्मक नतिजा दिँदैन,' उनको बुझाइ छ।
प्रविधिका कारण कथाहरूले ढाँचा फेर्लान्, ती सुन्ने, भन्ने, हेर्ने माध्यम फेरिएलान्। फेरिएको माध्यमलाई समय परिस्थिति अनुकुल अपनाउनुपर्ने बताउँछन् उनी। कम्प्युटर साइन्समा विद्यावारिधी गरेका उनले प्रविधिलाई चिन्ताको विषय मान्ने कुरै भएन। उनी समयसँग चल्नु, परिवर्तन स्वीकार्नु र इतिहास नबिर्सनुमा विश्वास राख्छन्।
बाग्ची आफ्ना सिर्जनामा इतिहाससँगै भाषालाई पनि महत्वका साथ राख्छन्। भाषालाई लेखक र पाठकबीचको ‘पुल’ मान्छन्।
मातृभाषा बंगाली भए पनि उनले हिन्दी कथा, उपन्यास र उर्दु कविता पढे। बोलीचाली र साहित्य लेखनमा अङ्ग्रेजी प्रयोग गर्छन्। उनका सबै पुस्तक अंग्रेजी भाषामै प्रकाशित छन्।
लेखकको लेख, उसले पढ्ने भाषा र सामग्रीबाट प्रभावित हुन्छ होइन?
‘मैले पढेका साहित्यको प्रभाव मेरो लेखमा पनि देखिएला। एउटा भाषामा पढ्नु र अर्कै भाषामा लेख्नु मेरा लागि फलदायी साबित भएको छ। धेरै भाषा बुझेकै कारण धेरै साहित्य बुझ्न पाएँ। ती भाषामा लेख्न पाएँ। त्यसैले ती भाषाबीचको सेतुको काम गर्न पाएँ,‘ उनले भने।
जो एकमात्र भाषा बोल्छन्, लेख्छन् वा पढ्छन्, उनीहरू पनि पुल हुन् - विगत र वर्तमानबीचको। त्यसैले पात्र र घटनाभन्दा भाषा र शिल्पीलाई प्राथमिकता दिन्छन् उनी। उनको एउटै शुत्र छ- अङ्ग्रेजी, हिन्दी, नेपाली, बंगाली, उर्दु वा अरू जुनसुकै भाषा होस्, कथा भनिने शैलीमा मिठास हुनुपर्छ। त्यस भाषामा लेखक स्वयम् घण्टौं घोत्लिन सक्नुपर्छ। त्यसो भयो भने पाठकले पनि लेखकको लेखसँग समय बिताउँन सक्छन्।
तर, कला र साहित्यसँग नजिक हुन भाषा अनिवार्य होइन भन्ने पनि बुझाउन चाहन्छन् उनी। केही समयअघि दिल्लीमा गायक विपुल क्षेत्रीको कन्सर्ट आयोजना भएको थियो। युट्युब र सामाजिक सञ्जालमा विपुलको संगीत सुनेका उनी समय निकालेर कन्सर्टमा पुगे। विपुलले गाएका नेपाली गीतमा झुमे पनि।
‘विपुलको संगीतमा बेग्लै मिठास हुन्छ। उनैले मलाई नेपाली भाषीमा रहेको साहित्यानुरागबारे बुझाए,’ उनले भने।
नेपाल साहित्य महोत्सवमा आएपछि नेपालीहरूको साहित्य मोह अझ फराक रहेको थाहा पाएका छन्। हालसम्म कुनै पनि नेपाली लेखकको पुस्तक नपढेका उनी अब भने नेपाली आख्यान, गैर आख्यानको खोजी गर्न थालेका छन्। केही दिनको पोखरा बसाइमा आसपासका गाउँसम्म हाइकिङ गएका उनले नेपाली समाजमा थुप्रै अलिखित कथाहरू भएको अनुमान गरेका छन्। अनि भन्न पनि भ्याइहाले – ‘अर्को संस्करणमा नेपालकै कथाले पो डिएससी पुरस्कार जित्छ कि?’