PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ह्यान्डसम र घुमन्ते 'दाह्री चरा'लाई सकसै सकस



ह्यान्डसम र घुमन्ते 'दाह्री चरा'लाई सकसै सकस

  • राजु आचार्य -

हिमाली भूभागमा पाइने यो चराको दाह्री निकै लोभलाग्दो हुन्छ। हेर्दा पनि असाध्यै राम्रो। यसले हाडहरूलाई माथि लगेर तल ढुङ्गामा खसालेर फुटाउने र त्यसभित्रको मासी तथा हड्डीका टुक्राहरू  खाने गर्छ। यही कारणले नेपालीमा  यसलाई ‘हाडफोर गिद्ध’ भनिएको हो। यसले  हाडको साथै कम मात्रामा  मासु र सिनो पनि खाने गर्छ। गिद्धहरू प्राय आफैले मारेर खानेभन्दा पनि मरेको सिनो खान मन पराउँछन्। तर यो प्रजातिले कहिलेकाहीँ छेपारा तथा कछुवासमेत मारेको अभिलेख छ।

यसको दाह्रीको कारणले अनुसन्धानकर्मीहरु छोटकरीमा ‘दाह्री ब्रो’, ‘दाह्री चरा’, ‘दाह्री गिद्ध’  आदि नामले पनि सम्झने गर्छन्। वयस्क ‘हाडफोर गिद्ध’को  घाँटी, छाती तथा पेट सुन्तलाको जस्तो  पहेँलो भए पनि पखेटा हल्का कालो/खैरो रङ्गको हुन्छ। चराको  अनुसन्धानमा लागेकाहरू धेरै जसोले यो चरालाई औधी मन पराउँछन्। यसको उपस्थितिले वातावरण कतिको स्वस्थ छ भनेर सूचकको रूपमा कामसमेत गर्दछ।

सन् २०१६ र १७ को बिचमा एसियामा पहिलो पटक नेपालमा १३ वटा ‘हाडफोर गिद्ध’ समातियो। सो मध्ये ६ वटा  वयस्क भाले/पोथी र अन्य अल्प वयस्क थिए। यिनको ढाडमा स्याटलाइट ट्रान्समिटर जडान गरेर  छोडियो। ‘हाडफोर गिद्ध’ को विषयमा विद्यावारिधि गरेका ‘हिमाली प्रकृतिका’ कार्यक्रम निर्देशक डा. तुल्सी  सुवेदी भन्छन् ‘युरोप तथा  दक्षिण अफ्रिकामा यो प्रजातिको यस्तो अध्ययन गरिए पनि एसियामा भने  पहिलो पटक अध्ययन भएको हो। सो अवधिमा स्याटलाइट ट्रान्समिटर  लगाएर चराहरूले  ६० हजार वर्ग किलोमिटर  भन्दा बढी पहाडी र हिमाली छेत्रमा  विचरण गरेको  नतिजा आयो। चराहरू  समुन्द्र सतहबाट  ६९१ मिटर देखि ६४०० मिटर सम्मको उचाइमा पुगेका थिए। सो मध्ये एक चरा चीनसम्म पुगेको थियो।

अनुसन्धानको नतिजाअनुसार यी  घुमन्ते चराहरूको  ३० प्रतिशत विचरण (होम रेन्ज)  नेपालका संरक्षित क्षेत्रभित्र र बाँकी ७० प्रतिशत संरक्षित क्षेत्र बाहिर पाइएको  छ। संरक्षित क्षेत्र बाहिर धेरैजसो मानव बस्ती आसपास भेटिएको छ। यही कारणले प्रतिशोधले मारिने, बिजुलीका हाई टेन्सन लाइनमा ठोक्किने, सिकारी प्रजातिका स्तनधारी मार्न सिनोमा प्रयोग गरिने विष  यिनका लागि सधैँ नै चुनौती हुने गरेको छ। डा. सुवेदी भन्छन् ‘यिनको संरक्षण गर्ने हो भने भूपरिधि स्तरमा काम गर्नु पर्ने हुन्छ। कुनै ठाउँ विशेषमा मात्र संरक्षण गरेर हुँदैन’। उनले थपे ‘स्याटलाइट ट्रान्समिटरको तथ्याङ्कले यो  प्रजातिको संरक्षणको  लागि सहज हुन्छ ‘।

उक्त अध्ययनको  नतिजालाई आइबिस नामको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरिएको छ l सुवेदीसहित सो अनुसन्धान, लेखन  र नतिजा विश्लेषणमा सहभागी १० जनामध्ये नेपालको तर्फबाट डा. हेमसागर बराल, सन्देश गुरुङ र  लक्ष्मण पौडेल थिए l

राजु आचार्यको (लेखक) नेतृत्वमा सन् २००२ देखि २००८ सम्म गरिएको अध्ययनबारे प्रकाशित जर्नल (फोर्कटेल ) लेखले उपल्लो मुस्ताङमा   यिनको अवस्था नाजुक देखिएको थियो। खडानन्द पौडेलको नेतृत्वमा प्रकाशित गरेको अर्को वैज्ञानिक (फोर्कटेल ) लेखले सो क्षेत्रमा सन् २०१४ सम्म पनि यिनको अवस्थामा सुधार नआएको उल्लेख गरिएको छ। अन्य गिद्ध सरह यिनलाई पनि गाईबस्तुमा प्रयोग गरिने डाईक्लोफेनिकले असर गरेको अनुमान गरिन्छ।

डा . सुवेदीले गत वर्ष प्रकाशित गरेको अर्को वैज्ञानिक लेखले यिनको वासस्थानमा खानाको कमीको कारणले यिनीहरू सङ्कटमा पर्दै गएको बताइएको छ। जलवायु परिवर्तनको कारणले पनि यिनको वर्तमान वासस्थान खुम्चिदैं गएको तथ्य डा. सुवेदीको विद्यावारिधिको क्रममा पत्ता लागेको थियो।

यिनको सङ्ख्यामा र अवस्थामा आउने नकारात्मक परिवर्तनले वातावरण मात्रै होइन संस्कृतिमा पनि असर गर्छ। यिनलाई लामाहरूको ‘अवतारी रूप’ समेत मानिन्छ। उपल्लो भेगमा यसको बिष्टा र आन्द्रालाई मानिसको पेट सम्बन्धी रोगको उपचारमा अचुक औषधी मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell