एक पात्र मञ्चमा देखिन्छन्। मञ्च उसको प्रस्तुतिका लागि निर्धारित क्षेत्र अर्थात् ‘टेरिटोरी’ हो। त्यहाँ उनी पृष्ठभूमिमा बज्ने अनौठा संगीतहरु सँगसँगै अनेक भावभङ्गी देखाउँछन्। केही बेर आफ्नो परिधीभित्र रहेका सरसामानसँग खेल्छन्, फरक धुन अनि संगीतसँग। संगीत सँगसँगै अनौठा आवाज निकाल्न थाल्छन्। उनी चिच्याउँछ, कराउँछ, रुन्छन्। सुर मिलाएर गाउँछन् पनि। उनले गाएको गीतको शब्दहरु सबैले बुझ्दैनन्। किनकि हामीसँग सीमित भाषाको मात्र ज्ञान छ। टेरिटोरियमको विशेषता नै यही हो - विविधता।
पात्रले गाइराख्दा वा बजाइराख्दा पृष्ठभूमिको पर्दामा केही दृश्य खेल्छन् जुन संगीतसँगै परिवर्तित हुन्छन्। पर्दामा सल्बलाउने ती दृश्य र पात्रको हाउभाउले दर्शकको संवेदना छुन्छ।
तर, जे देखाइयो त्यसको अर्थ के? त्यो भने प्रस्ट हुँदैन।
फोटो: ट्रिब्युन बाली
प्रस्ट हुँदैन, त्यसैले केही फरक हुँदैछ। पात्रहरु कलाकार नभइ ‘आफू’ बनेर मञ्चमा उत्रँदै छन्। उनीहरुले महसुस गर्ने संवेदना दृश्य भाषामा उतार्दै छन्।
‘नाटक होइन। केही नबोली धेरै कुरा भन्न कलात्मक प्रयोग गर्दैछौं। कला बुझाउन भाषा चाहिँदैन भन्ने कुरा स्थापित गर्न सक्छौं कि?,’ नर्वेबाट सांगीतिक पर्फर्मेन्स आर्ट (भावभङ्गी कला) लिएर नेपाल आएकी कलाकार दुर्गा विश्वकर्माले भनिन्।
प्रस्तुतिको नाम ‘टेरिटोरियम’ अर्थात् सीमित क्षेत्र। जुन क्षेत्रमा भाषा, संस्कृति, परम्परा, मानिसको भोगाइ, बुझाइ, अनुभूती पनि सीमित हुन्छ। तर, के हुन्छ? जब फरक क्षेत्रका मानिसहरु त्यो भोगाइ र बुझाइसँग नजिक हुन्छन्? तिनलाई अनुभूत गर्छन्?
प्रश्नको जवाफ दुर्गा स्वयम् दिन्छिन्, ‘बुझाइको दायरा फराकिलो बनाउँछ। फरक कुराहरु खोज्न सहयोग पुर्याउँछ। त्यसैले पनि यो प्रस्तुति नेपालमा ल्याउनु महत्वपूर्ण लाग्यो। यसले दर्शक साथै नेपाली रङ्गकर्मीमा पनि अभिनयप्रतिको बुझाइ फराकिलो बनाउन सहयोग पुर्याउँछ।’
दुर्गाले दुई वर्षअघि ‘टेरिटोरियम’ हेरेकी थिइन्। तत्काल निर्माता एवम् कलाकार ओस्टेन ऐलेलाई उक्त प्रस्तुति नेपाल लैजाने प्रस्ताव पनि राखेकी थिइन्। ऐलेको विद्यावारिधी अन्तर्गतको ‘निर्माण’ जापान, कोरिया लगायत अन्य एसियन मुलुकमा प्रस्तुत गरिसकेका थिए।
‘दर्शकले बुझ्लान् कि नबुझ्लान्?’ भन्ने अन्यौलताबीच गरिएको प्रस्तुती दर्शकले ‘हामीले अनुभव गर्यौं’ भन्नेमा पुगेर टुङ्गियो। ऐलेकी विद्यार्थी रहेकी दुर्गाले त्यही अनुभूती नेपाली दर्शकसँग साट्न चाहिन्।
र, यो वर्षको उनको रहर पूरा भयो।
दुर्गा।
नेपाली रङ्गमञ्चमा ‘प्रयोग’को नयाँ खुड्किलो
नेपाली रङ्गमञ्चमा निकै कम त्यस्ता प्रयोग भएका छन्। पछिल्लो समय कौसी थिएटरमा सुदाम सिकेको निर्देशनमा नाटक ‘पाँच’ मार्फत् कुनै शब्द वा भाषा नखर्ची कथा भनिएको थियो - शरीरको अनि समाजको पनि।
पाँचले मौनताबीच आशा निराशा, प्रेम घृणा, सुख दु:ख समेट्यो। आफ्ना अनुभूतिहरूसँग जोडेर, फरक बुझ्न र दृष्टिकोण बनाउन पर्याप्त ठाउँ दर्शकलाई नै छोडिदिएको थिए निर्देशक सुदामले।
पाँच नेपाली रङ्गमञ्चमा ‘थिएटर एक्सपेरिमेन्ट’को सुरुवात थियो।
लगत्तै, सन् २०१९ मा भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा रामहरि ढकालले नर्वेबाट अर्को प्रयोगात्मक नाटक ल्याए - ‘इन्साइड आउटसाइड’। नाटकले जनयुद्धको प्रभावबारे कथा भन्यो। तर, नाटकको कथा लेखकको लेख, निर्देशकको सोच र कलाकारको अभिनयमा सीमित भएन। त्यसमा दर्शक पनि सहभागी बने। कलाकारसँगै उनीहरुको आँखा छोपेर, नाङ्गै पैताला मञ्चमा उकालियो। त्यसपछि पाँच इन्द्रीयहरुको प्रयोगमा समय, स्थान र वातावरण महसुस गर्न लगाइयो।
ढकालले उक्त नाटक नर्वेमै निर्देशन गरेर ल्याएका थिए।
पुन: एक पटक नर्वेका कलाकारहरु प्रस्तुत हुँदैछन्, टेरिटोरियम मार्फत्। पक्कै पनि यस प्रस्तुतिको प्रयत्न दर्शकलाई कलाकारको संवेदनासँग जोड्नु हुनेछ।
‘दर्शक हसाउँनै पर्छ वा उनीहरुलाई रुवाउनै पर्छ भन्नुमात्र नाटक होइन। हाँसो र आँशुभन्दा फरक केही किन नगर्ने? एकअर्कालाई छोऔं, सोंच बुझौं, संवेदना महसुस गरौं, कलाकारसँगै दर्शक पनि यस प्रक्रियामा सहभागी बनाऔं भनेर यो म्युजिकल कन्सर्ट नेपाल ल्याएका हौं,’ दुर्गाले भनिन्।
उनी स्वयं पनि निर्देशकले निर्धारण गरेको क्षेत्रमा उभिएर आफ्ना अनुभूतीहरु प्रस्तुत गर्दैछिन्। त्यहाँ उनी महिला भएर भोग्नु पर्ने अप्ठ्याराहरु, नेपाली समाजमा रहेको जातीय विभेदको स्वरुप, अन्धविश्वासका अनेक प्रकारबारे आफ्ना भोगाइहरु अभिव्यक्त गर्नेछिन्।
खासमा आठ वर्षपछि नेपाली मञ्चमा प्रस्तुत हुँदैछिन् उनी, बिल्कुल फरक प्रस्तुति लिएर। निर्माता, निर्देशक एवं कलाकार समेत रहेका ऐलेले टेरिटोरियम संगीत केन्द्रित बनाएका छन्। किनकि उनको क्षेत्र नै संगीतको हो। दुर्गाको क्षेत्र भने ‘बडी मुभमेन्ट’, नृत्य, मास्क लगायत। दुई भिन्न रुची र क्षेत्रको भएर पनि संयुक्त प्रस्तुति दिँदैछन्।
‘नयाँ कुरा खोज्न र हाम्रो कामको दायरा फराकिलो बनाउन पनि यो सहकार्य आवश्यक थियो,’ उनले भनिन्।
अब उनीहरु माँझ एउटै चुनौती छ - दर्शकको प्रश्न।
‘यो के गरेको?’ वा ‘म पैसा तिरेर हेर्न आउने अनि मैले नै किन सोच्ने? तिमीहरुले बुझाउनु पर्छ,‘ भन्दै प्रश्न तेर्स्याए के गर्ने?
‘हामीले दर्शकले बुझ्दैनन् भन्नु जायज हुँदैन र दर्शकमाथि प्रश्न गर्ने अधिकार हामीसँग छैन। तर, हाम्रो रङ्गमञ्च, कलाकार, नाटकले फरक दिन कोसिस नै गरेनौं जसका कारण आज केही फरक गरौं भन्दा दर्शकको प्रश्न नै पहिलो चुनौती बनेको छ,’ दुर्गाले चिन्ता व्यक्त गरिन्।
अर्को चुनौती- सबै कलात्मक प्रस्तुति नाटक होइन भनेर बुझाउनु। जुन प्रस्तुतिको निर्माण प्रक्रिया फरक हुन्छ, प्रस्तुति शैली र त्यसले राख्ने अर्थ फरक हुन्छ। जहाँ संगीत र शरीरमार्फत् कथा भनिन्छ। नयाँ दर्शकका लागि यो एक ‘क्रेजी पर्फर्मेन्स’ ठहरिन सक्छ तर दुर्गा र उनको टोली भने विश्वस्त छ - एक घण्टाको अवधीमा केही नयाँ कुरा हुनेछ। कलाकारले अरु कुनै देशमा गरेको प्रस्तुतिमा भएभन्दा केही फरक अनुभूती गर्नेछन्, दर्शकले र नेपालका रङ्गकर्मीले पनि।
नेपाली रङ्गमञ्चमा कलाकारले देखाउँदै आएको र दर्शकले हेर्दै आएको संवाद, अभिनय केन्द्रित नाटक सँगसँगै अनुभव केन्द्रित केही थपियोस् भन्ने टेरिटोरियम टोलीको इच्छा हो। एक दुईवटा प्रस्तुतिले भयङ्कर परिवर्तन गर्दैन भन्ने पनि बुझेका छन्। किनकि प्रयोगात्मक प्रस्तुतिका लागि आवश्यक जनशक्ति, ‘स्कुलिङ’, स्रोत साधनको अभाव छ यहाँ। तिनको विकासका लागि केही वर्ष लाग्छ। स्थापित कलेजहरुमा पनि अभिनय कसरी गर्ने? क्यामेरा कसरी फेस गर्ने? एक्स्प्रेसन कसरी दिने सिकाइन्छ तर कसरी सोच्ने, कसरी अनुभूती गर्ने सिकाइँदैन। सिकाउने जनशक्ति नहुनुलाई नै मुल समस्या मान्छिन् उनी।
‘तर रङ्गकर्मीको सोचमा त परिवर्तन ल्याउन सकिन्छ कि भनेर यो प्रयास गरेका हौं। अभिनयप्रतिको बुझाइ, मञ्चको उचित प्रयोग, संवेदना आदन प्रदानको हकमा परिवर्तन ल्याउन सक्छौं भन्ने आशा छ,’ उनले प्रस्ट्याइन्।
शिल्पी थिएटर हुँदै मण्डलामा केही समय नाटक निर्माण र अभिनय गरेकी थिइन् दुर्गाले। हाल उनी स्वयम् पनि नर्वेजियन थिएटर एकेडेमीमा पर्फर्मेन्स आर्टमा स्नातकोत्तर गर्दैछिन्। यसका लागि एक सय बीसजना विद्यार्थीसँग प्रतिस्पर्धा गरिन्। र, पढ्नका लागि छानिएका ६ जनामा परिन्।
सोही कलेजमा स्नातक तहबाट उनको औपचारिक पढाई सुरु भएको थियो। जसमा सीमित आठ सिटका लागि उनले असी जनासँग प्रतिस्पर्धा गरेकी थिइन्।
‘नेपालबाट धेरै कलाकारले अभिनय र कलाकारिता सम्बन्धी औपचारिक शिक्षा लिन आवश्यक छ। भोलि सरकारी निकायले आँटे त्रिभुवन विश्वविद्यालयले अन्तर्गत बेग्लै डिपार्टमेन्ट खोल्न सक्ने जनशक्ति तयार हुनुपर्यो नि,’ उनले मुस्काउँदै भनिन्, ’आशावादी हुन त पाइयो नि?’
देश विदेशका कलाकर्मीसँगै पढ्दा, काम गर्दा नेपाल र नेपाली निकै पछाडि छुटेको महसुस गरेकी छिन् उनले। त्यसैले अभिनयमा पनि उनी परम्परा र संस्कृतिको विषय जोड्छिन्, नेपाली परिवेश जोड्न। त्यसपछि बल्ल कुन माध्यमबाट, कसरी ती विषयलाई अभिव्यक्त गर्ने? भन्ने बारे सोच्छिन्।
‘म शरीरसँग खेल्न सक्छु। त्यसैले शरीरलाई नै माध्यम बनाएर आफ्नो देशको कथा भन्छु। मैले विदेशमा गर्दै आएको त्यो प्रयोग नेपालमा देखाउँदैछु,’ उनले भनिन्।
कलाको आर्थिक मूल्य हुँदैन, अनुभूतीको त झन् हुँदै हुँदैन भन्ने हेतुले नर्वेबाट एउटा टोली नेपाल आउँदैछ। नेपालमा उनीहरु एक सय पचास रुपैयाँमा प्रस्तुति देखाउँदै छन्। प्रस्तुतिका निर्देशक ओस्टेन ऐलेले भने, ‘टेरिटोरियम मेरा लागि कलात्मक अन्तर्क्रियाको माध्यम बनेको छ। यसले मलाई फरक राजनीतिक, सामाजिक स्थितिमा बाँचिरहेकाहरुलाई भेट्ने र बुझ्ने मौका दिएको छ। यस पटक नेपालको प्रतिक्रिया जान्न उत्सुक छु।‘
ऐले र दुर्गा विश्वकर्मासँगै जेन होम पनि निर्माण टिममा छिन्। उनी रङ्गमञ्चकी निर्देशक हुन्। त्यस्तै प्रस्तुतिमा प्रयोग स्क्रिनप्ले र साउन्ड आर्टका लागि गनहिल्ड म्याथिए ओलाउसेन, ग्राफिक डिजाइनर ज्यान हसट्याग पनि नेपाल आउँदै छन्।
ऐलेले प्रस्तुत गर्ने नर्वेजियन लोक भाकाहरुमा नेपाली लोक संगीत समिश्रणका लागि साथ दिँदैछन् कुटुम्ब ब्यान्डका सारङ्गीवादक किरण नेपालीले।
एकपटकको प्रस्तुतिमा जम्मा ५० जना दर्शकले सहभागिता जनाउन पाउने छन्। र, प्रस्तुति पछि टेरिटोरियम टोलीले पर्फर्मेन्स आर्ट अर्थात् भावभङ्गी कला सम्बन्धी कार्यशाला सञ्चालन गर्दैछन्। जनवरी ५ तारिखदेखि सुरु हुने तीन दिन लामो कार्याशालापछि पुन: एक प्रस्तुति रहनेछ। जसमा कार्यशालामा सहभागी कलाकारहरुले प्रस्तुति दिनेछन्।
प्रस्तुतिका फोटोहरु: निर्देशक ओस्टेन ऐले