प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि विधेयक आइतबार बहुमतले पारित गर्यो। विधेयकमाथि नेपाली कांग्रेसको फरक मत रहेको छ।
कांग्रेस प्रवक्ता लगायत अन्य शीर्ष नेता सँगै आम मानिसले पारित विधेयकमाथि टिका टिप्पणी गरिरहेका छन्। कलाकार दीपकराज गिरीले पनि आफ्नो धारणा राखेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्: 'फेसबुक लगायतका सामाजिक संजाल दूरूप्रयोगकर्तालाई तह लगाउन सरकारले नीति पास गरेको छ त्यो अत्यन्त स्वागत योग्य छ।'
दीपक पारित् विधेयकको समर्थनमा देखिए।
समसामयिक विषयमा सटिक टिप्पणी राख्ने उनले थप लेखेका छन्- 'लोकतन्त्रको नाममा मनपरीतन्त्र चल्दै आएको थियो। भविष्यमा यही कानूनलाई टेकेर बिरोधी सिध्याउने अभिलाषा चाहिँ कसैमा नपलाओस्। शुभकामना।'
दीपक सामाजिक सञ्जालमै आलोचकहरुसँग भिड्ने र व्यङ्ग्यात्मक पोस्टहरुका कारण कहिले काहीँ गसिपको विषय बन्ने गरेका छन्। त्यसैले उनी स्वयंले यस विषयको पक्षमा स्टाटस लेख्दा आएका कमेन्टहरु निकै रोचक र रमाइला लाग्छन्।
बिबेक धिताल नाम गरेका प्रयोगकर्ताले लेखेका छन्- दाइ भनेसी अब तपाईलाई सामाजिक सन्जालमा गाली गर्नेहरुले भेटेर मात्र गाली गर्नु पर्ने भो। बिचरा तिनिहरु... तपाईँलाई गाली नगरी निन्द्रा आउँदैन थियो। क्या गर्छन् अब?'
त्यस्तै दीपेन्द्र सापकोटा सोध्छन्- 'एक नम्बरमा हजुर पनि पर्नु हुन्छ। खिल्ली उडाउँदै केही वर्ष अगाडि ऋचा शर्मालाई गरेको गाली ताजा छ। हरेक कुरामा मजाक गर्दै लेख्ने?'
सापकोटाको प्रश्नको जवाफ दिँदै दीपक लेख्छन्- 'कलाकार हूँ भन्दैमा जे पनि सहनू पर्दैन। शिष्ट ढंगबाट नाम नलिइ मज्जाले लेख्न पाइयो।'
प्रश्नहरु सँगै केही प्रयोगकर्ताले दीपकले पठाएको मेसेजको स्क्रिनसट समेत सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टमा गरेको कमेन्टको जवाफ दीपकले मेसेजमा दिएका छन्। जीवन भारती नामक प्रयोगकर्ताले दीपकको मेसेज देखाउँदै लेखेका छन्- 'फेसबुक पोस्टमा बिमती राख्यो भन्दैमा एक राष्ट्रिय कलाकार भएर पनि इन्बक्समा आएर यसरी थर्काउने महाराजालाई चाहिँ कस्तो कार्वाही होला कुन्नी?'
उक्त पोस्टमा भने दीपकले प्रतिक्रिया जनाएका छैनन। दीपकको धारणामाथि व्यङ्ग्य गर्दै अर्जुन गिरीले लेखेका छन्,'हिरा हिरै हुन्छ। फेसबुकको गाली ले फरक पर्दैन। कायर सरकार जनतादेखि डराउँदै छ। अब कम्युनिस्ट बिरोधिलाई ठेगान लगाउँदै छ। देश उत्तर कोरिया हुनेछ। शुभकामना दिनु पर्दैन।'