PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

'मिथिला यें' अर्थात् श्यामसुन्दरको त्यो कोलाज जसले मिथिला र काठमाडौं जोडिरहेछ

'मिथिला यें' अर्थात् श्यामसुन्दरको त्यो कोलाज जसले मिथिला र काठमाडौं जोडिरहेछ

स्वेच्छा राउत/पहिलोपोस्ट


भौगोलिक र सांस्कृतिक हिसाबले धेरै पर र निकै फरक छन् मिथिला र काठमाडौं। सबै हिसाबले फरक, सामाजिक अनि सांस्कृतिक रुपमा पनि। भाषा र भेष त हुने नै भयो। फरक यी दुई ठाउँलाई एकै 'कोलाज'मा अटाउन १४ वर्षदेखि लागि परेका छन् श्यामसुन्दर यादव। उनी चाहन्छन् मिथिलाले काठमाडौंको कला, संस्कृति, परम्परा चिनोस्। त्यसैगरी काठमाडौंलाई पनि मिथिलाको कला बिरानो नलागोस्। देशको हरेक समुदाय, संस्कृति र परम्परा विश्वले चिनोस्।

मिथिला अर्थात् नेपालको दक्षिणपूर्वी भूभाग। अनि नेपाल भाषामा येंको अर्थ चाहिँ काठमाडौं। यी दुई जोडिँदा बन्छ 'मिथिला यें' अर्थात् एउटा फरक कोलाज।

ठमेलको चाक्सिवारीमा छ 'मिथिला यें'। नाममात्र सुन्दा मिथिला वा नेवारी चित्रकला विशेष ग्यालरी जस्तो लाग्न सक्छ। तर, यहाँ विविध विधा र विषयका चित्रहरु प्रदर्शनमा राखिएका हुन्छन्। कहिले 'स्थिर' शीर्षकका चित्र त कहिले कृष्ण चरित्र। कहिले थाङ्का वा कुनै लोक कला विशेष त कहिले आधुनिक मिथिला। यस्तै फरक फरक विषय केन्द्रित चित्रकलाहरु यहाँ देख्न पाइन्छ। पर्व र अवसर विशेष प्रदर्शनी पनि भइरहन्छ। अर्थात्, मिथिला यें - एउटा कोलाज शैलीकै ग्यालरी।

विविधतालाई एकै ठाउँमा जोड्ने ग्यालरी स्थापनाको कथा भने निकै रोचक छ। कथा जान्नका लागि पुग्नु पर्छ झण्डै तीन दशक अघिको सिराह।

+++

गाउँमा अधिकांश महिलाको हातमा 'गोदना' हुन्थे। गोदना अर्थात् शरीरको भागमा खोपेर कालो, निलो रङ भर्नु, ट्याटु जस्तै।

सिराह सुखीपुरका श्यामसुन्दर यादवकी हजुरआमा देवकी देवीको हातमा पनि गोदना थिए। उनी सबेरै उठ्थिन्। भाडोमा माटो र अनेक रङ लिन्थिन्। झण्डै ६ सय वर्गफुटको फराकिलो आँगन लिपपोत गर्थिन्। आँगन सँगसँगै घरका भित्ताहरुमा विभिन्न चित्र बनाउँथिन् र तिनमा रङ भर्थिन्।

श्यामसुन्दरलाई हजुरआमा माटो र रङ्गहरुसँग खेलेको हेर्न खुब रमाइलो लाग्थ्यो। उनलाई पनि भित्तामा त्यसैगरी चित्र बनाउन र रङ भर्न मन लाग्थ्यो। तर, लिपपोत गर्नु वा चित्र बनाउनु महिलाहरुको मात्र काम मानिन्थ्यो। त्यसैले श्यामसुन्दर हेरेरै चित्त बुझाउँथे। तर, सधैं आफ्नो मन बाँधेर राख्न कहाँ सक्थे र? बिस्तारै उनले हजुरआमालाई सघाउन थाले।

घरको वातावरण नै कलामय थियो। उनका बुबा पशुपाल यादव माटोका मूर्तिहरु बनाउँथे। ती मूर्तिमा रङ भर्न सघाउँथे उनका दिदी बहिनी। अनि हातमा हात मिलाउन पुग्थे श्यामसुन्दर।

कसैले गाली गर्थे- छोरी मान्छेले गर्ने काम किन गरेको?

धेरैले जिस्क्याए पनि। तर, उनी रङसँग नजिक भइसकेका थिए।

एक बिहान सधैंझै हजुरआमाको काम हेरिरहेका थिए श्यामसुन्दर। उनको ध्यान खिच्यो हजुरआमाको हातको गोदनामा। सोधे- 'तपाईंको हातमा भएको गोदनामा के छ?'

जवाफ दिइन्- जर्मन लडाई।

हजुरआमाको हातमा ध्यान दिएर हेरे। वरपर बार, बीचमा राजा र दुई छेउमा सिंह। आसपासमा सेनाहरु र एउटा पानीको पोखरी पनि।

उनको हजुरआमालाई जर्मन के हो? थाहा थिएन। तर, उनको हातमा जर्मन लडाई झल्काउने सिङ्गो चित्र अटेको थियो।

'त्यतिखेर सोच्थेँ - यति मसिनो हातमा कसरी त्यति ठूलो युद्धको चित्र अटायो?', श्यामसुन्दर सम्झन्छन्।

पछि उनले बुझे हजुरआमाको हातमा त निकै ठूलो 'एब्ट्र्याक्ट आर्ट' अटाएको रहेछ। चित्रकलालाई निरन्तरता दिनुले र त्यसबारे औपचारिक शिक्षाले दिएको ज्ञान यही थियो।

स्कूल पढ्दापढ्दै आफ्नो समुदायको लोक कला र मिथिला कलामा निपुण भइसकेका थिए श्यामसुन्दर। २०५३ सालमा एसएलसी दिए लगत्तै काठमाडौं आएका उनी चित्रकला पढ्नका ललितकला क्याम्पस भर्ना भए।

दुई वर्ष रङ्ग, कुची र क्यानभाससँग खेले। चित्रकला प्रतियोगिताहरुमा भाग लिए। केहीमा जिते पनि। पढ्दै जाँदा अन्यौलमा पर्दै पनि गए - 'फाइन आर्ट'लाई पूरा समय दिँदा आफू निपुण लोक कलाको बाटो पो मोडिने त होइन?

अन्यौलताकै बीच एकदिन उनले आफ्ना गुरुसँग सोधे- मेरो रुचीको काम गर्न सर्टिफिकेट अत्यावश्यक छ?

गुरुको सल्लाह र उनकै रहरले श्यामसुन्दरलाई पुन: गाउँ फर्कायो- लोक कला, विशेष गरी मिथिला चित्रकलाबारे अध्ययन गर्न।

'मैले खोज्न र बुझ्न पर्ने त त्यहाँ पो थियो,' उनले भने, 'मैले क्याम्पसमा जेजे पढेँ चित्रकलाका ती प्रकार त मिथिला क्षेत्रका महिलाको शरीरमा हुने गोदनामै रहेछन्।'

एब्सट्र्याक्ट आर्ट हजुरआमाको हातमै देखे। मोडर्न एक्स्रे आर्ट पढेका थिए उनले जसले परिभाषित गर्ने चित्रहरु - हात्ती वा मानिसका पेटभित्र बच्चा देखिने चित्र, दुई मयुरको एउटै शरीर भएको चित्र त गाउँका अन्य महिलाको हात, खुट्टामा उहिले देखि नै थिए त।

यस्तै मिहिन विषयको अध्ययन र खोज गर्दै ६ वर्ष बित्यो। २०५६ देखि २०६२ सम्म मिथिला क्षेत्रमा पर्ने ५० प्रतिशत गाउँ घुमे। भित्ता नियाले। मिथिला चित्रकलालाई नजिकबाट बुझेर फर्किए।

+++

काठमाडौं फर्किएर उनले मिथिला चित्र बनाउन थाले। घण्टौं लगाएर बनाएको लोक चित्रहरु बोकेर शहरका ग्यालरीहरुमा धाए। आफ्नो चित्र राखिदिन आग्रह गरे। तर, जवाफ पाउँथे- 'यस्ता चित्र बिक्दैनन्, बेक्कार ठाउँ ओगटेर किन राख्नु?'

श्यामसुन्दर ती ग्यालरीहरुमा झुण्डिरहेका वरिष्ठ चित्रकार किरण मानन्धरहरुको चित्र हेरेर फर्कन्थे, आफ्ना चित्र झोलामा पट्याएर। उनको मन दुख्थ्यो, रीस उठ्थ्यो। त्यस्तो अवस्थामा सोच्थे 'कुनै दिन म आफ्नै आर्ट ग्यालरी खोल्छु।'

उनले आफ्नो चित्र राख्ने अनुनय गरेका धेरै आर्ट ग्यालरी अहिले बन्द नै भए। तर, आज ठमेलको एउटा कुनामा श्यामसुन्दरको 'मिथिला यें' विशेषता बोकेर ठडिएको छ। जुन आर्ट ग्यालरी चौध वर्षअघि केबल स्टोर रुम थियो। त्यहाँ थोत्रिएर फालिएका सामानहरु थुपारिएका हुन्थे। तर, त्यही कोठामा अनेक आकर्षक रङ्ग र अर्थ बोक्ने चित्रहरु सजिएका छन् आज।

श्यामसुन्दरलाई त्यो स्टोर रुमसम्म पुर्‍याए आर्किटेक्ट विभूतिमान सिंहले।

२०६१ सालमा विभूतिमानले ३० जना कलाकारको चित्र कुनै प्रतियोगिताको लागि मागेका थिए। के र कस्तो प्रतियोगिता? श्यामसुन्दरलाई थाहा थिएन। बस्, सहभागी भए।

चित्र पठाएको दुई वर्षपछि उनलाई खबर आयो- 'तपाईंको चित्र बिक्री भयो। पैसा लिन आउनु।'

बिक्री हुनु उनका लागि खुशीको कुरा थियो। त्यसभन्दा धेरै खुशी चाहिँ विभूतिमानलाई भेट्न पाउनुमा थियो। भेटमा उनले आफ्नो रुची र उद्देश्यबारे कुराकानी गरे। त्यही भेटले श्यामसुन्दरलाई सिंहको नयाँ प्रोजेक्टमा जोड्यो।

सन् २००७ को अन्तिमतिर विभूतिमानले उनलाई फोन गरे। सोधे - काम पायौ भने गर्छौ?

चित्रहरु बिकेको थिएन। लोककथाको संरक्षण र प्रवर्द्धनको कुरालाई कसैले पत्याउने समय थिएन। त्यस्तोमा काम पाए किन नगर्नु?

यादव राजी भए। दश महिनामा काम सक्काउने सम्झौता भयो। लोक र आधुनिक दुवै चित्रकलामा पोख्त यादवको काम थियो- मन्दिरको टुँडाल डिजाइन गर्नु। उनले त दिइएको काम तीन महिनामै सक्काए।

काम सकिए पनि सम्झौताका कारण उनी सधैं कार्यालय धाउनु पर्थ्यो। हरेक बिहान सानेपास्थित कोठाबाट ठमेल जान्थे। सिंहको कार्यालय टेक्निकल इन्टरप्राइजेसमा घाम तापेर बस्थे।

'केही दिन त्यतिकै बसेपछि मलाई नै दिक्क लाग्यो। अनि मुखै फोरेर भने- कलाकारलाई यसरी हात बाँधेर नराख्नु।'

उनको वचन खस्न नपाउँदै सिंहले उनलाई सोही भवनको तल्लो फ्ल्याट देखाउन लगे।

धुलोले ढाँकेको सिसाबाट हेरे- माकुरोको जालोबीच काठ र फलामका सामान अस्तव्यस्त, मुसा मरिरहेका।

'पाँच दिनमा सफा गरिसक्यौं। असनबाट धुप ल्याएर बाल्यौं, दुर्गन्ध हटाउन। आफ्ना चित्रहरु ल्याएँ। लिस्टी ठोक्दै भित्तामा टाँसें,' ग्यालरीले आकार लिँदाको क्षण सम्झिए।

त्यहाँ उनले केही समय चित्र कोर्न स्टुडियो बनाएका थिए। 'छोटो समयमै भावनात्मक रुपमा जोडिएँ। आफ्ना चित्रहरु नबिक्दाको ग्यालरी खोल्छु भन्ने जोश पनि ताजै थियो। मैले विभूति सरसँग प्रदर्शनी केन्द्र खोल्ने प्रस्ताव राखें, मिथिला येंको सुरुवातबारे सुनाएँ,' उनले भने।

आर्किटेक्ट विभूतिमानले प्रस्ताव नकार्ने कारणै थिएन। उनी र श्यामसुन्दर केन्द्रलाई व्यवसायिक नभइ कलात्मक महत्वका साथ अघि बढाउने सम्झौतामा बाँधिए। दुवैको समान उद्देश्य - चित्रकलाको नाममा हिमाल मात्र बेचेर हुँदैन। नेपाली मौलिकता, परम्परा र संस्कृति झल्कने चित्रहरुको बिस्तार।

प्रदर्शनी केन्द्र त खुल्ने भयो तर नाम के दिने?

२०६३ सालमा अन्तरिम संविधानक विषयलाई लिएर मधेश आन्दोलन चर्कियो। त्यही आन्दोलनले पहाडी र मधेशीका नाममा मतभेद बढाउन मलजल पनि गर्‍यो।

कलामार्फत् सबै परम्परा, मौलिकता, संस्कृति जोड्ने जोगाउने हुटहुटी लिएर काम गरिरहेका श्यामसुन्दरले काठमाडौंमा नेवारी समुदायले परम्परालाई दिएको महत्व नजिकबाट नियालेका थिए। फेरि ठमेल आसपास विभूतिमान सिंहजस्ता रैथाने नेवार नै थिए। त्यसैले उनले मिथिला र काठमाडौं अर्थात् यें जोडेर 'मिथिला यें' स्थापना गरे।

यसरी एउटा कला केन्द्रले दुई फरक भौगोलिक र सांस्कृतिक क्षेत्रलाई जोड्यो। तिनै फरकपनलाई चित्रमा उतार्ने र प्रदर्शन गर्ने ठाउँ बन्यो। हरेक उमेर समूह, जात, धर्म, लिङ्गका कलाकारले चित्रकला प्रस्तुत गर्ने ठाउँ पाए। प्रदर्शनी केन्द्र खुलेपछि ठमेल आसपास मिथिला चित्रकलाबारे चर्चा चल्न थाल्यो। अहिले त बजारका प्राय सबै ग्यालरीमा मिथिला चित्रकला झुन्डिन थालेको छ।

श्यामसुन्दरले व्यक्तिगत् रुपमा भने मिथिला लगायत नेपाली मौलिक चित्रकलाको प्रचार र बिस्तारमा समय दिँदै आएका छन्। तर, केही व्यक्ति र कुनै संस्थामात्रको पहलमा लोक चित्र कलाको जगेर्ना सम्भव नभएको उनको बुझाइ छ।

'राज्यले मिथिला चित्रकला केन्द्रित कुनै योजना बनाएको छैन। हाम्रो चित्रकलाको कोर्सहरुमा आधुनिक र विदेशी कलाका प्रकारहरु प्राथमिकताका साथ पढाइन्छ। नयाँ पुस्ताले मौलिक चित्रकलाबारे जान्न चाहे कहाँ के खोजेर पढ्ने?,' उनको चिन्ता।

+++

कलाप्रेमी हरेक देशका नागरिकमा मिथिला चित्रप्रति रुची भएको पाएका छन् यादवले। चित्रकला अन्य देशको तुलनामा केही सस्तो भएका कारण पनि पर्यटक नेपालमा किन्न रुचाउँछन्। लाखौंको चित्र किनेर लैजान्छन् पनि।

'तर, आफ्नै देशका सरकारी निकायहरुमा चित्रकलाको साटो हिमालको पोस्टर टाँसेको देख्दा दिक्क लाग्छ,' उनी असन्तुष्ट सुनिए, 'म एक दुईपटक विदेश जाँदा त्यहाँ कलालाई दिइएको महत्व देखेर दङ्ग परेँ। महिना महिनामा विदेशिने सरकारी कर्मचारीदेखि नेताहरुलाई महसुस हुँदैन भन्या?'

मिथिला क्षेत्रका हरेक घरहरुमा मिथिला चित्र बनाइयोस्, घर बनाउँदा समुदाय अनुरुप परम्परा झल्कने कलाहरुले सजावट गरियोस् भन्ने लाग्छ उनलाई। 'काठमाडौंलाई हर्न निषेधित बनाउन पैसा लाग्यो र? सरकार बोलिदिए पुग्छ क्या,' उनले सुझाए।

यतिखेर उनी पर्यटन वर्ष २०२० सफल पार्न तल्लिन छन्। भ्रमण वर्ष लक्षित कार्यक्रमहरु राखेका छन् मिथिला येंमा।

जनवरी ११ देखि 'कला यात्रा' सुरु गर्दैछन्। मिथिला एवं अन्य लोक चित्र कला अन्य देशमा प्रदर्शनीका लागि लैजाने तयारी छ। त्यस्तै, कोरिया, जापान, इन्डोनेसिया, बंगलादेश, अमेरिका, थाइल्यान्ड लगायतका देशबाट चित्रकारहरु आउँदै छन्, श्यामसुन्दरकै निमन्त्रणामा। उनीहरुले आफ्नो देशको मौलिकता झल्कने चित्रकलाहरु मिथिला येंमा प्रदर्शनमा राख्नेछन्।

बंगलादेशका चित्रकार टोलीले त नाटक मञ्चन समेत गर्नेछन्। त्यहाँकै सांस्कृतिक नाटक काठमाडौंको सर्वनाम थिएटरमा १४ र १५ जनवरीमा देखाइने छ। र, मञ्चित नाटकका आधारमा नेपाली एवं विदेशी चित्रकारहरुलाई चित्र बनाउन लगाइने छ।

सर्वनाम थिएटरमै एक सातासम्म मिथिला चित्रकला प्रदर्शनमा राखिने तयारी छ।

पहिलो साताका लागि ठमेल केन्द्रित चित्रकला प्रदर्शनी, लाइभ पोट्रेट र ट्याटु स्केच लगायत योजनाहरु बनेका थिए। जसका लागि ठमेल पर्यटन बोर्डले सहकार्यको आश्वासन पनि देखायो तर पूरा गरेन।

'आर्थिक भारका कारण म एक्लैले गर्न सम्भव पनि भएन। त्यसैले अब निश्चित भइसकेका कार्यक्रमहरुको तयारी धुमधामका साथ गर्दैछु,' उनले सुनाए। नयाँ वर्ष २०२० मा उनको योजना सफल रहोस्, यही कामना।



ट्रेन्डिङ पोस्ट

Ncell