PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बगदाद विमानस्थलमा रकेट आक्रमण, इरानी सैनिक जनरलसहित उच्च अधिकारीको मृत्यु



बगदाद विमानस्थलमा रकेट आक्रमण, इरानी सैनिक जनरलसहित उच्च अधिकारीको मृत्यु
फोटो :AFP

बगदाद : इराकको राजधानी बगदादस्थित अन्तर्राष्ट्रियमा विमानस्थलमा रकेट आक्रमण भएको छ। आक्रमणमा इरानी सेनाका जनरल कस्सिम सोलेमानीको मृत्यु भएको अलजजिराले जनाएको छ। उनी 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' का प्रमुख समेत थिए।

सुरक्षा अधिकारीहरुका अनुसार आक्रमणमा इराकी ह्यास्ड समूह पपुलर मोबिलाइजेशन फोर्सका सहायक कमान्डर अबु महदी अल मुहानदिश , विमानस्थलका प्रोटोकल अफिसर मोहम्मद रेडन लगायतको मृत्यु भएको छ। रकेट आक्रमणमा हालसम्म ८ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ। 

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। इरानको समर्थन रहेको अर्धसैनिक बलले आक्रमण अमेरिकाले गराएको आरोप लगाएको छ। पेन्टागनले यो विषयमा केही सार्वजनिक गरेको छैन। बगदादस्थित अमेरिकी दूतावासमा सुरक्षा बढाइएको छ।

अमेरिका र इराकबीच बढ्दो तनावबीच भएको यस आक्रमणले दरगामी प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुबै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ। त्यसपछि ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो। रकेट आक्रमणमा मृत्यु हुने सोलेमानी त्यही 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' का मेजर जनरल हुन्।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो। अमेरिका, इराकलगायतका देशले इरानमाथि मध्यपूर्वी क्षेत्रमा रहेका पानीजहाजमाथि आक्रमण गरेको, विमान ड्रोन आक्रमण गरेको आरोप लगाउँदै आएको छन्।

इरानका राष्ट्रपति हसन रुहानीले मध्यपूर्वी क्षेत्रमा तैनाथ विदेशी सेनाका कारण अस्थिरता फैलिएको भन्दै उनीहरुलाई मध्यपूर्वी क्षेत्रबाट बाहिरै बस्न चेतावनी दिँदै आएका थिए। इरान-इराक युद्धको वार्षिकोत्सव समारोहमा बोल्दै रुहानीले विदेशी सैनिकका कारण मध्यपूर्वी क्षेत्रमा अशान्ति फैलिएको र यहाँका नागरिकहरु असुरक्षित भएका बताउँदै विदेशी सेनालाई मध्यपूर्वी क्षेत्रभन्दा बाहिर बस्न भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell