PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इरानका ५२ स्थानमा आक्रमण गर्ने ट्रम्पको चेतावनीबीच 'इरानियन ह्याकर्स' द्वारा अमेरिकी वेबसाइट ह्याक



इरानका ५२ स्थानमा आक्रमण गर्ने ट्रम्पको चेतावनीबीच 'इरानियन ह्याकर्स' द्वारा अमेरिकी वेबसाइट ह्याक
फोटो : Federal Depository

अमेरिकाले इरानी सैन्य जनरल कस्सिम सोलेमानीको 'हत्या' गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। शुक्रवार भएको हवाई आक्रमणपछि इरानले अमेरिकासँग बदला लिने घोषणा गरिसकेको छ।

इरानले अमेरिकालाई कसरी जवाफ फर्काउला भन्नेबारे अन्तर्राष्ट्रिय रुपमा नै बहस भइरहेको छ। दुई देशबीच हुने यस युद्धले विश्व शान्तिमा नै असर पर्ने भएकोले दुवै देशलाई संयमित भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायले सुझाव दिइरहेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपतिले इरानले आफ्ना नागरिक वा अमेरिकी सम्पत्तिमाथि आक्रमण गरे त्यस लगत्तै इरानका ५२ स्थानलाई ध्वस्त बनाउने प्रतिक्रिया दिएका छन्।

उनको यो प्रतिक्रिया समाचारका हेडलाइन बन्दै गर्दा अर्कातर्फ आफूलाई इरान समर्थित दावी गर्ने 'इरानियन ह्याकर्स' समूहले भने अमेरिकी वेबसाइटहरु ह्याक गरेका थिए।

कस्सिमको हत्याको बदला स्वरुप र इरानले के गर्न सक्छ देखाउने उद्देश्यका साथ आफूहरुले अमेरिकी वेबसाइट ह्याक गरेको उक्त समूहले जनाएको छ।

अमेरिकाको फेडेरल डिपोसिटोरी लाइबेरी प्रोग्रामलाई 'इरानियन ह्याकर्स' ले आफ्नो नियन्त्रणमा लिएको हो। उनीहरुले वेबसाइटमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र इरानी झण्डा राखेर सुलेमानील शहिद बनेको उल्लेख गरेका छन्।

यस्तै वेबसाइटमा राखिएको तस्विरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी मिसाइलले मुक्का हानी रहेको देख्न सकिन्छ।

सोलेमानी इरानी राष्ट्रपति हसन रुहानीपछि शक्तिशाली व्यक्ति थिए। उनको मृत्युसँगै इराकका तेल उत्पादन कम्‍पनीमा कार्यरत अमेरिकीहरु अहिले अमेरिका फर्कदैछन्। शुक्रवार नै तेलको मूल्य ४ प्रतिशतले वृद्धि भइसकेको थियो। दुई देशबीच 'अहमता' को लडाँइले विश्वमा तेलको व्यापारमा समस्या हुन सक्ने खतरा पनि उत्तिकै रहेको छ।

इराकमा करिब ५ हजार अमेरिकी सैनिक छन्। तर, अमेरिकाले सुरक्षा चुनौती बढेको भन्दै थप ३ हजार सेना मध्यपूर्वी क्षेत्रमा पठाउँदैछ। अमेरिकी मिसाइल, युद्धपोत र पानीजहाज पहिलेदेखि नै मध्यपूर्वमा तयार अवस्थामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell