PahiloPost

Jul 3, 2024 | २० असार २०८१

इराकबाट इरान ल्याइयो सोलेमानीको शव : अन्तिम बिदाईको तयारीमा जुटे इरानी, अमेरिकासँग बदला लिन माग



इराकबाट इरान ल्याइयो सोलेमानीको शव : अन्तिम बिदाईको तयारीमा जुटे इरानी, अमेरिकासँग बदला लिन माग
फोटो ; AP

इरान यतिखेर शोकमा छ। अमेरिकाले बग्दादमा आफ्ना सैन्य जनरलमाथि रकेट आक्रमण गरेर 'हत्या' गरेपछि इरान शोकलाई शक्तिमा परिणत गर्ने रणनीति बनाउँदैछ।

शुक्रवार भएको आक्रमणमा जनरल कस्सिम सोलेमानीसँगै ६ जनाको मृत्यु भएको थियो। अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो। उक्त कर्पका प्रमुख थिए कस्सिम। कस्सिमको शव केही घण्टा अगाडिमात्रै इरानको अभाज शहर पुगेको छ। इरानीहरु आफ्ना 'रकस्टार' जनरललाई अन्तिम श्रद्धाञ्जली दिँदैछन्।

इरान पुगेको सोलेमानीको कफिनमाथि कालो लूगा लगाएका हजारौं इरानी फूल बर्साउँदै रोइरहेका छन्। 'अमेरिका ठूलो शैतान हो', 'डेथ टु अमेरिका' नारा लगाउँदै उनीहरु अमेरिकासँग बदला लिन माग गरिरहेका थिए। इरानी झण्डाले लत्पतिएको कस्सिमको शव ढोग्न मानिस लाम लागिरहेका छन्।

विश्वलाई भने 'विश्व युद्ध ३' को आभाष भइरहेको छ। ट्वीटरमा 'वर्ल्ड वार ३' ट्रेन्डिङमा छ। इरानले अमेरिकालाई कसरी जवाफ फर्काउला भन्नेबारे अन्तर्राष्ट्रिय रुपमा नै बहस भइरहेको छ। दुई देशबीच हुने यस युद्धले विश्व शान्तिमा नै असर पर्ने भएकोले दुवै देशलाई संयमित भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायले सुझाव दिइरहेका छन्। रसियाले इरानी जनरलमाथि भएको आक्रमण अन्तर्राष्ट्रिय मान्यताविरुद्ध भएको प्रतिक्रिया दिइसकेको छ।

कस्सिमको शवलाई श्रद्धाञ्जली दिँदै इरानीहरु । फोटो : AFP

कस्सिमलाई अन्त्य गर्नु अमेरिकी हितमा रहेको अभिव्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले दिइसकेका छन्। इरान पनि आफ्ना जनरलको मृत्युको बदला लिन कस्सिएको छ। शनिवार इरानका सडकमा इरानीहरु निस्किए र अमेरिकाको अन्त्यको माग गरिरहेका थिए। त्यसैबीच इराकको बग्दादमा रहेको अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको समाचार बाहिरियो।

हफिङ्टन पोस्टका अनुसार अत्याधिक सुरक्षा रहने ग्रीन जोन क्षेत्रमा केही रकेट आक्रमण भएका थिए। सो आक्रमणमा मानवीय क्षति भने भएको थिएन। आक्रमण कसले गरेको भनेर पुष्टि नभए पनि यसमा इरान समर्थित समूहको संलग्नता रहेको अनुमान गरिएको छ। इराकको अति संवेदनशील उक्त क्षेत्रमा करिब दुई महिनायता १३ पटक आक्रमण भइसकेको छ। बिहीवार मात्रै अमेरिकी दूतावासमाथि इरानी समर्थित समूहले आक्रमण गरेको थियो। त्यसलगत्तै अमेरिकाले 'एयर स्ट्राइक' गरेको थियो।

बलाद एयर बेसक्याम्पमा भएको उक्त आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिए।

उनले, 'इरानले अमेरिकी जनता वा अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने हामी चुप बस्दैनौं। इरानका ५२ स्थानमाथि हामी आक्रमण गर्न तयार अवस्थामा छौं।'  कस्सिमको शव इरान पुग्नुअघि उनले इरानमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिएका थिए।

इरानले पनि आफूले लुकेर आक्रमण नगर्ने प्रतिक्रिया जनाइसकेको छ। इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले त अमेरिकालाई 'अपराधी' को संज्ञा दिँदै प्रतिरोधको बाटोमा निरन्तर लाग्ने घोषणा नै गरिसके।

फाइल फोटो : कस्सिम सोलेमानी

इरानी सर्वोच्च नेताको घोषणासँगै अमेरिका पनि सचेत भइसकेको छ। मध्यपूर्वमा बढ्ने सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अमेरिकाले थप ३ हजार सुरक्षाकर्मी मध्यपूर्वी क्षेत्रमा पठाउँदैछ। इराकमा यसअघि नै करिब ५ हजार अमेरिकी सैनिक छन्। इरानको पहिलो टार्गेट यही सैन्य क्याम्प हुने अनुमान गरिएको छ। अमेरिकी मिसाइल, युद्धपोत र पानीजहाज पहिलेदेखि नै मध्यपूर्वमा तयार अवस्थामा छन्।

भौतिक कारवाहीको सम्भावनाबीच अमेरिकामाथि साइबर आक्रमणसमेत सुरु भइसकेको छ। कस्सिमको हत्याको बदला स्वरुप र इरानले के गर्न सक्छ देखाउने उद्देश्यका 'इरानियन ह्याकर्स' समूहले अमेरिकाको फेडेरल डिपोसिटोरी लाइबेरी प्रोग्रामलाई ले आफ्नो नियन्त्रणमा लिएको थियो।

यता, अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई इराक छाड्न निर्देशन दिइसकेको छ। हजारौं संख्यामा अमेरिकी नागरिकले इराक छाडिसकेको बताइन्छ। अमेरिकासँग राम्रो समबन्ध रहेको र इरान विरोधी राष्ट्रहरुले समेत मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरिसकेको छ।

बेलायतले पनि मध्यपूर्वमा रहेका आफ्ना नागरिकका साथै पानीजहाजको सुरक्षाका लागि 'स्पेसल एयर सर्भिस' लाई त्यहाँ पठाउँदैछ। ५० जना सैनिकको टोलीलाई नेभी स्पेसल बोट सर्भिस र स्पेसल फोर्स सपोर्ट ग्रुपले सहायता गर्नेछ।

अमेरिकी वेभसाइट ह्याक गरि 'इरानियन ह्याकर्स' समूहले राखेको ट्रम्पको तस्विर

इराकमा १४ हजारभन्दा बढी बेलायती सैनिक र बेलायती कुटनीतिज्ञ रहेका छन्। बेलायतले इरान समर्थित सिया लडाकू समूहले बेलायती नागरिकमाथि आक्रमण गर्न सक्ने खतरा रहेको महसुस गर्दै यो निर्णय लिएको हो। यसअघि नै बेलायतले पर्सियन गल्फमा दुईवटा युद्धपोत पठाइसकेको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसबारेमा छिट्टै बैठक बोलाउने तयारी गरिसकेका छन्।

भारतले पनि मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सचेत रहन भनेको छ। भारत प्रशासित जम्मू कश्मिरमा अमेरिकी आक्रमणमा सोलेमानीको मृत्युपछि केही समूहले विरोध प्रदर्शन गरेको थियो।

विश्वभर तेलको मूल्यमा वृद्धि हुँदा भारतमासमेत त्यसको असर परेको छ। मध्यपूर्वी देशबाट भारतले ८३ प्रतिशत तेल आयात गर्दै आएको छ। विशेषगरी इराक र साउदी अरेबियबाट तेल आयात गर्दै आएको भारतको अर्थतन्त्रमा सोलेमानी घटनाले निकै प्रभाव पार्ने विश्लेषण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell