काठमाडौं : सुडान घोटाला काण्ड भ्रष्टाचार अभियोगमा थुनामा रहेका ठेकेदार शम्भु भारतीलाई थुनामुक्त भएका छन्। ठेकेदार भारती आइतवार सदरखोर डिल्लीबजारबाट थुनामुक्त भएका हुन्।
गत मंसिर २६ गते सर्वोच्च अदालतले मुद्दा पुनः सुनुवाई गर्ने आदेश दिएको थियो। न्यायाधीशहरु तेजबहादुर केसी, मनोजकुमार शर्मा र प्रकाशकुमार ढुंगानाको इजलासले पुनः सुनुवाइ गर्न आदेश दिएको थियो। अब ठेकेदार भारतीले जेल बाहिर बसेर नै मुद्दा लड्न पाउने छन्। 'धरौटी बुझाएर छोड्नु भन्ने जानकारी आएको थियो। ४ बजेतिर उहाँ जेलबाट निस्कनु भएको हो,' सदरखोर डिल्लीबजारकी निमित्त जेलर सीता अधिकारीले भनिन्।
गत भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शम्भु भारतीलाई लालितपुरको भैसेपाटीबाट नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख रुपैयाँ र एक वर्ष कैद सजाय सुनाएको थियो।
सुडान घोटलामा सर्वोच्चले २०७३ जेठ १७ गते पूर्व महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो।