PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्यान इन्फोटेक मेलामा विभिन्न रोबोटहरुबीच प्रतिस्पर्धा हुने



क्यान इन्फोटेक मेलामा विभिन्न रोबोटहरुबीच प्रतिस्पर्धा हुने

वीरगंज : आगामी माघ ९ गतेदेखि वीरगंजमा प्रदेशस्तरीय पाँच दिने क्यान इन्फोटेक मेला आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा हुने मेलामा सूचना, प्रविधि, सञ्चारको ब्यापकतालाई समेटिने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

पत्रकार सम्मेलनमा क्यान पर्साका अध्यक्ष दिपक साहले वीरगंजको नगर सभागृहमा भव्य रुपमा यसपालीको इन्फोटेक मेला आयोजना हुने बताए। यस वर्षको मेला आयोजनाका लागि करिब ३४ लाखको खर्च लाग्ने उनले जानकारी दिए। प्रदेश २ मा सूचना प्रविधि बारे जनचेतना बढाउन र त्यसका लागि चाहिने प्रविधि उपलब्ध गराउनको लागि पनि ईन्फाटेक मेला केन्द्रित रहने विश्वास व्यक्त गरिएको छ। मेलाको अवसरमा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाइने आयोजकले जनाएको छ।

‘यसले व्यवसायी तथा ग्राहकका लागि अन्तर्क्रियाको एउटा प्ल्याटफर्म सिर्जना गर्नेछ,’ उनले भने, ‘ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन्। आजको प्रविधिको युगमा कुन सामान कतिको विकसित र सहज रुपमा आएको छ, त्यो पनि हेर्न मिल्छ।’

स्वदेशी, विदेशी कम्पनी तथा व्यवसायीहरु बीच नेटवर्क सिर्जना गर्ने लक्ष्य रहेको बताउँदै उनले मेलामा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाई, इन्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जनाएको छ। मेलामा नेपालका विभिन्न इन्जियिनरिङ कलेजका विद्यार्थीहरुले अविष्कार गरेका रोबोटहरुको प्रतिस्पर्धा पनि गराइने उनले बताए। रोबोट प्रतियोगिता जित्नेलाई उचित पुरस्कार पनि दिइने प्रदेश २ का अध्यक्ष आलोक कुमार चौरसियाले बताए।

मेलामा गत वर्ष ४० वटा स्टल राखिएकोमा यसपाली ६० भन्दा बढि व्यापारिक स्टल राखिने आयोजकको दावी छ। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि क्यान इन्फोटेकको मेलामा राखिने बताइएको छ। मेलामा यस वर्ष ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell