PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सिड्नीमा नेपाल भ्रमण वर्षको र्‍यालीमा प्रहरीको अवरोध? गलत प्रचार भएको पर्यटनमन्त्रीको दाबी



सिड्नीमा नेपाल भ्रमण वर्षको र्‍यालीमा प्रहरीको अवरोध? गलत प्रचार भएको पर्यटनमन्त्रीको दाबी

अस्ट्रेलियामा अहिले डढेलोका कारण आपतकाल घोषणा गरिएको छ। लाखौँ हेक्टर जंगल डढेलोका कारण विनाश हुँदा पर्यावरणमा ठूलो समस्या भएको छ। ५० करोड भन्दा बढी जनावरहरुको मृत्यु भएको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचारका लागि अहिले सिड्नीमा छन्। अस्ट्रेलिया भ्रमण पूर्व निर्धारित भएको हुँदा भट्टराई सिड्नी पुगेको बताइएको छ। 

अस्ट्रेलियामा प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भइरहँदा नेपालका मन्त्री भने त्यही कै नागरिकलाई नेपाल घुम्नलाई निम्तो दिन गएको भन्दै विरोध पनि भइरहेको छ। यद्यपि, उनले अस्ट्रेलियामा रहेका नेपाली र कुटनीतिक नियोगलाई भने आपत्तका बेलामा सहयोग गर्न निर्देशन दिएका छन्।

आज मन्त्री भट्टराईले सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरे। उनलाई न्यू साउथ वेल्सका सांसद जोनाथन ओ डीले साथ दिएका थिए।

शुभारम्भ कार्यक्रमपछि भएको र्‍यालीलाई भने अस्ट्रेलियाली सुरक्षाकर्मीले केही बेर रोकेका थिए। साउथ एसियाका अनुसार आयोजकले र्‍यालीका लागि अनुमति नलिएकाले उनीहरुलाई रोकिएको उल्लेख गरिएको छ।

न्यु साउथ वेल्स प्रहरीले आयोजकहरुलाई उक्त कार्यक्रम 'व्यवसायिक प्रायोजन र आर्थिक नाफाका लागि' भएकाले र्‍याली नगर्ने पहिला नै सूचित गरेको उक्त अनलाइनमा दावी गरिएको छ। प्रहरीले र्‍यालीमा उपस्थित मानिसहरुको संख्यालाई लिएर समेत असन्तुष्टि जनाएको बताइएको छ। 

साउथ एसियाका अनुसार सिड्नीमा रहेका डिला खरेलले आयोजकहरुलाई र्‍यालीको अनुमति नमिलेको बारे पहिला नै जानकारी गराएका थिए। त्यसपछि र्‍यालीको कुनै कार्यक्रम राखिएको थिएन।

यद्यपि, क्यानबेरामा रहेको नेपाली दूतावासले भने पर्यटनमन्त्री सवार र्‍यालीलाई सुरक्षाकर्मीले रोकेको भन्ने कुरा गलत रहेको बताएको छ। 

दूतावासले कार्यक्रममा कुनै र्‍याली आयोजना नगरेको र कार्यक्रम सकिएपछि सिड्नी ओपेरा हाउसतर्फ सबैजना हिँडेर गएको बताएको छ। सुरक्षाकर्मीहरुले त्यहाँ उपस्थित मानिसको संख्याका बारेमा मात्रै चासो राखेका थिए।

मन्त्री भट्टराईले पनि आफूलाई रोकिएको भन्ने समाचार गलत रहेको प्रतिक्रिया दिएका छन्।

फेसबुकमा उनले मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको भन्दै गलत समाचार प्रकाशित गरेर मित्र राष्ट्रसँगको सम्बन्धसँग खेल्ने प्रयास भएको भन्दै लेखेका छन्, 'काल्पनिक र गलत समाचार सम्प्रेशन गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ!'

यता, अस्ट्रेलियामा रहेका प्रकाश हुमागाइले भने सिटी स्टेट काउन्सिलले जुलुस वा परेड गर्न अनुमति नदिएको बताउँदै मन्त्री भट्टराईसहित सहभागीलाई रोकेको दावी गरेका छन्। पर्यटनमन्त्रीले गरेको पोस्टमा कमेन्ट गर्दै उनले कानूनी राज्यमा कानूनको पालना गरौं भनेर सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell