PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘चिसो एस्ट्रे’को रिलिज डेट तय, अर्को वर्ष मात्र प्रदर्शनमा आउने



‘चिसो एस्ट्रे’को रिलिज डेट तय, अर्को वर्ष मात्र प्रदर्शनमा आउने

काठमाडौं :

भूपि शेरचनको चर्चित कविता छ- 'चिसो एस्ट्रे'।

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्

र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्

यस्तो छ यो चारभञ्ज्याङ् खाल्डो
एउटा चिसो एष्ट्रे जस्तो छ।

उर्जा बोकेर काठमाडौं छिर्नेहरु यहाँ भित्र भोग्नु पर्ने समस्याको दलदलमा कसरी फस्छन् अनि सपना पूरा नभएपछि निराशा लिएर फर्कन्छन् भन्ने आशय व्यक्‍त गरेका छन् शेरचनले। कवितामा उनले काठमाडौंलाई ज्वाला निभाउने सामर्थ्य राख्ने चिसो एस्ट्रेका रुपमा प्रस्तुत गरेका छन्। 

कविले इंगीत गरेझै आज हजारौं युवा काठमाडौं खाल्डोमा पस्छन्, लक्ष्य लिएर। तर, सबै लक्ष्यसम्म पुग्दैनन्। उनीहरुको बाटो मोडिन्छ। नियतीले वा नियतले गर्दा। यही विषयमाथि फिल्म बन्दैछ। नाम- 'चिसो एस्ट्रे' नै।

फिल्मले गाउँबाट शहर आएको एक युवाको कथा भन्‍छ। जसले सहरिया बन्ने होडमा आफैलाई गुमाउँछ। फिल्मलाई फिल्मलाई दिनेश पाल्पाली (दिन्श)ले निर्देशन गरेका हुन्। निर्देशकका अनुसार फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा उतारेका छन्। 'एउटा गाउँले केटोले आधुनिक बन्न गर्ने यात्रा र यात्राका क्रममा भेटिने र उसँग जोडिने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो’, निर्देशकले भने।

फिल्मको पटकथा र गीत लेखन पनि निर्देशक स्वयंले गरेका हुन्।

फिल्ममा दिव्य देव मुख्य भूमिकामा छन्, मदनको रुपमा। उनको सहयात्री बनेका छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ।

फिल्म युनिटले फिल्म सार्वजनिक मिति तय गरेको छ। फस्ट लुक सार्वजनिक गरिसकेको फिल्म वर्ष २०७७ को जेठ १६ गते मात्र रिलिज हुने भएको छ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। फिल्ममा संगीत अजर जंगमको रहेको छ।

उज्ज्वल बस्ताकोटीले खिचेको फिल्मलाई उज्जवल ढकालले सम्पादन गर्दैछन्। नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रोडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell