PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वुमन इन ब्ल्याक : जो नाइट क्लबको 'रिस्क जोन'मा यसरी हुन्छन् तैनाथ



स्वेच्छा राउत

वुमन इन ब्ल्याक : जो नाइट क्लबको 'रिस्क जोन'मा यसरी हुन्छन् तैनाथ

भदौ महिनाको एक साँझ। सानुमाया तामाङ काममा निस्कन तयार थिइन्।

कालो टिसर्ट, कालै पाइन्ट र छालाको बुट - उनको युनिफर्म। दिउँसैदेखि पानी परिरहेकाले मौसम चिसो चिसो थियो। हातमा कालै रङको आउटर बोकेर केही बेर ढोकामा कुरिन्। पानी रहने छाँट देखिएन।

ढिला भइसकेको थियो। त्यही छट्पटी थुम्थुम्याउन लुसुक्क कोठामा फर्किइन् र फेसबुक ‘स्क्रोल’ गर्न थालिन्। उनको ध्यान खिच्यो नमीठो खबरले -

प्रतीकात्मक फोटो

‘वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार। स्कूल जाने बाटोमा पर्खिरहेका दुई युवाले एसिड छ्यापेर भागेको प्रत्यक्षदर्शीले बताए।'

खबर पढेपछि सानुको छट्पटी चुलियो। घाँटी तन्काएर कोठा बाहिर हेरिन्, अध्यारो बढ्दै थियो। उनको मनमा अनेक कुरा खेले। एसिड कस्तो हुन्छ, देखेकी थिइनन् तर कल्पना गरिन्। डर झन् बढ्यो। फेसबुक बन्द गरिन्। ढोकाको चाबी लगाइन्। परिरहेको पानीको पर्वाह नगरी हुत्तिइन्।

गोंगबुबाट ठमेलसम्म पुगुन्जेल उनले हरेकलाई शंकाकै नजरले हेरिन् - बाटोमा अनि गाडीमा पनि। कुनै कारण थिएन असुरक्षित महसुस गर्न। समाचार पढेपछि उनलाई सुरक्षित छु जस्तो पनि लागेन। लगातार पढेका बलात्कार, एसिड अट्याकका खबरहरुले उनलाई पनि तर्साएका थिए।

एलओडीमा रमाउँदै युवा। फोटो : एलओडीको फेसबुकबाट 

ठमेलस्थित एलओडीमा छिरेपछि बल्ल ढुक्कको सास फेरिन्। एलओडी अर्थात् लर्ड अफ ड्रिङ्स - शहरको व्यस्त नाइट क्लब।

त्यहाँ भित्रको उज्यालोले उनलाई ढुक्क महसुस गराएको भने होइन। यहाँ छिरेपछि डराउन नपाउनु उनको बाध्यता। डराएकाहरुलाई सुरक्षित महसुस गराउनु चाहिँ जिम्मेवारी। डर लागे पनि नलागे जस्तो देखिनु उनको पेशाको आवश्यकता। आवश्यकतासँग मिसिनु उनको धर्म। किनकि उनी बाउन्सर हुन्, लेडी बाउन्सर।

हरेक रात आठ बजेदेखि बिहानको पाँच बजेसम्म उस्तै आत्मविश्वास र एटिट्युड लिएर उभिन्छिन् उनी। तर, त्यस रात युनिफर्म लगाएपछि पनि सानुमायालाई डर भने लागिरह्यो। किनकि आफूजस्तै एक किशोरीमाथि भएको एसिड प्रहारको खबरले उनलाई नै नमज्जाले पोलेको अनुभूति भइरहेको थियो।

सानुमाया तामाङ

ड्युटीमा रहेकाले डरलाई अनुहारमा नझल्काउन सक्दो प्रयास गर्दै थिइन्। निगरानीमा घरी यता घरी उता शतर्क अवस्थामा रहिरहिन्। डर लाग्दा उनले ठ्याक्कै सम्झिएकी थिइन् ती गेस्टहरु जो बोल्ने बहानामा नजिक आउँथे, ठ्वाँस्स गह्नाउने मुख लिएर। कति त शरीरमा हात हाल्न अनि गाला चिमोट्न समेत पछि पर्दैन थिए।

अचानक सुपर भिआइपी कक्षबाट चर्को आवाज आउन थाल्यो। कुदेर पुगिन् - एक जोडीको झगडा परेछ। श्रीमान् र श्रीमतीबीच हुक्का हानाहान भइरहेको दृश्यले उनलाई नै अत्यायो सुरुमा। तर, दरिलो अडिइन् र श्रीमतीलाई आफूतर्फ तानिन्। निकै आक्रोशमा थिइन्, ती महिला। सायद् रीसले आँखा देखिनन् - सानुमायाको पाखुरामा नमज्जाले टोकिदिइन्। घाउ निकै गहिरो लागेछ। ह्वालह्वाल्ती रगत बगिरह्यो।

क्लबभित्र रहुन्जेल जस्तोसुकै परिस्थिति आइलागोस्, बाउन्सर भएपछि सम्हालिनु पर्छ। यस्ता अप्ठ्याराहरु सहजै सहनु पर्छ, जिम्मेवारी नै यस्तै।सानुमाया साथी ज्ञानु आचार्यसँग। 

सानुमायालाई चर्कोगरी दुखेको थियो। तर न रुन सकिन् न त रीस पोख्न नै। आफूलाई टोक्ने गेस्टलाई 'सरी म्याम' भनिन्। ती महिला क्लबबाट निस्कँदै गर्दा पर पुगुन्जेल औंला तेर्स्याउँदै, गाली गरेको अझै सम्झना छ सानुमायालाई।

बिहान करिब साढे चार बजे ड्युटी सकियो। कोठामा जान निस्किइन्। अरु बेला कोठासम्मको चार किलोमिटरको दुरी आधा घण्टा नलगी पार लाग्थ्यो। बिहानीको त्यो चकमन्नमा उनलाई निदाइ रहेका कुकुरहरुले पनि झस्काए। बाटोमा गुडेका हरेक गाडी आफैँतिर सोझिएजस्तो पनि लाग्यो। 'सडकमा सधैं जम्मा भएर बस्ने केटाहरुको झुण्डले आफैलाई पर्खिएजस्तो लाग्यो,' उनले भनिन्। त्यसदिन उनलाई कामदेखि कोठासम्मको दुरी निकै लामो लाग्यो।

'चिनजानका मान्छेहरु भन्थे - छोरी मान्छे भएर पनि छोरा मान्छेजस्तो बाउन्सर बनेकी छेस्। खुब साहसी रै'छस्। मलाई गर्व थियो। तर त्यस दिन म डराएँ,' सानुमायाले सुनाइन्, 'छोरी मान्छे जति साहसी भए पनि तुच्छ सोच भएकाहरुको हर्कतले हाम्रो साहसलाई जित्छ भन्ने महसुस भयो।'

उनलाई त्यसदिन लाग्यो - सबै छोरी मान्छे बाउन्सर बन्नुपर्छ, आफ्नै सुरक्षाका खातिर।

वुमन इन ब्ल्याक

नुवाकोटमा सानुमायाकी आमा छिन्, भाइ छन्। दाइ भने विदेशमा। दाइले बेला मौकामा पठाएको पैसाको भरले कहाँ सबै खर्च टर्नु?

काठमाडौं पढ्न आएलगत्तै उनले काम थालिन्- फेन्सी पसलमा। त्यहाँबाट आउने मासिक ८ हजार रुपैयाँ त बस्न र खानमै ठीक्क।

‘छोरी काम गर्ने भएपछि आमालाई पनि त आश हुन्थ्यो होला। त्यसैले म अर्को काम खोज्दै थिएँ। अलि बढी पैसा आउने,’ उनले विगत कोट्याइन्।

नयाँ काम खोज्दै गर्दा कसैले उनलाई क्लबका लेडी बाउन्सरबारे सुनायो। ट्रेनिङ र काम सहजै पाइने थाहा पाएपछि त्यतैतिर तानिइन्।

तर, ड्युटी आवर ?

रातभर।

स्थान - डान्स क्लब, दोहोरी साँझ अनि लन्ज।

जिम्मेवारी - रातमा बिउँझने तिनै क्लब अनि लन्जहरुमा आइलाग्ने परिस्थिति सम्हाल्नु। झैझगडा हुन नदिनु, भएमा साम्य पार्नु। सुरक्षाका लागि खटिनु।

सुरुवातमा त झस्किइन् पनि। तर,‘सक्दिन’ भन्न उनको मन मानेन।

केही दिनमै सेभेन स्टार सेक्युरिटी सर्भिसमार्फत् तालिम थालिन्।

तालिम अवधिभर गरिरहेको पसलको काम भने छाडिनन्। बरु हरेक दिन पसलमा ढिला पुग्नुको कारण दिइन् - जापानी भाषा सिक्दैछु।

तालिम सकिनासाथ काम निश्चित भयो - एलओडीमा। दङ्ग पर्दै आमालाई सुनाइन्।

छोरी मान्छेले रातको काम गर्ने, त्यो पनि क्लबमा?

आमाले सहजै स्वीकारिनन्।

आमासँग केहीथान प्रश्नहरु थिए -

राति हिँड्दा अरुले के भन्लान्?

केही अप्ठ्यारो परे?

सक्छेस् र?

सहज बनाइदिए दुबईमा सेक्युरिटी गार्ड रहेका आफ्नै दाइले। उनले आमालाई सम्झाए, 'बाउन्सर भनेको मैजस्तो गार्ड हो आमा। केही गाह्रो हुँदैन। फरक यत्ति हो म केटा, बहिनी केटी। मैले सक्छु भने उसले पनि सक्छे।’

त्यसपछि हो २४ वर्षीया उनी हररात चुनौतीहरुसँग लड्न दृढ भएर उभिन थालेको।

+++

सानुमायाजस्तै ‘लेडी बाउन्सर’हरुको ठूलै समूह बनिसकेको छ जो व्यस्त शहरमा रातको पहरेदार बन्छन्। उनीहरु सन्देश हुन् - महिला साहसिक छन्, समाजको सुरक्षा गर्न सक्षम पनि।

कविता गुरुङ।

उनीसँगै एलओडीमा काम गर्छिन्, ताप्लेजुङकी कविता गुरुङ। काम खोज्दै काठमाडौं आएकी कवितालाई कक्षा ८ सम्मको पढाई र घाँस दाउरा गर्नुको अनुभवले यो शहरमा कुनै काम दिलाएन। त्यसपछि उनले सेक्युरिटी गार्डको तालिम लिइन् र क्लबमा भर्ती भइन् - बाउन्सर पदमा।

अब त उनी क्लबमा बल्ने बत्तीको रङ र संकेतदेखि सहकर्मीको इशारा अनुरुप चल्न सक्ने भइसकेकी छिन्। थाहा पाइसकेकी छिन्- समाजले उनलाई देखाएको ऐनामा भन्दा कति फरक रहेछ आफ्नै चित्र।

‘यसरी सयौं मान्छेको भिडमा शिर ठाडो बनाएर उभिन सक्छु भन्ने सोचेकै थिइँन। त्यो पनि सुरक्षा दिलाउने बाउन्सर बनेर। यहीँ आएर थाहा पाएँ - हाम्रै समाजका छोरीहरु पनि घुम्न, डुल्न, खुलेर नाच्न स्वतन्त्र रहेछन् भन्ने,’ कविताले आफ्नो अनुभव सुनाइन्।

अर्घाखाँचीकी २८ वर्षीया ज्ञानु आचार्यसँग बाउन्सर हुनुको १४ महिना लामो अनुभव छ। ठमेलकै इभिजा लन्ज एण्ड बारमा पहिलोपटक बाउन्सर भएर छिर्दा थुप्रै टेक्निकहरु सिकेकी थिइन्। सोच्थिन्- 'गलत हर्कत गर्ने एक दुईजना त टिपेरै फाल्छु।'

'बाउन्सरको काम टेक्‍निकभन्दा बढी बोली र व्यवहारले 'डिल' गर्नु रहेछ,' उनको फेरिएको बुझाई, 'गेस्टहरु बीच समस्या हुन दिनु भएन। आफूलाई त जे गरे पनि सहनु पर्ने। धेरै बोले पनि नहुने थोरै बोले पनि नहुने। सबैकुरा ठीक्क।'

ज्ञानुको अनुभव भन्छ - बाउन्सर हुनु सहनशील हुनु हो। निडर उभिनु हो। दुई सन्तानको झगडाबीच सम्झाउन बसेको अभिभावक जस्तै बन्‍नु हो।

बेला मौकामा क्लब धाउने उनी बाउन्सरका चुनौती, बाध्यता र समाजले उनीहरुलाई हेर्ने दृष्टिकोणलाई बुझेरै यस पेशामा छिरिन्। २८ वर्षीया ज्ञानुलाई समाजले सोध्ने प्रश्नसँग डर थिएन। हक्की स्वभावकी उनी प्रतिप्रश्नका लागि तयारै रहन्थिन्।

'हाम्रो समाजसँग प्रश्नैप्रश्न छन् तर जवाफ सुन्ने धैर्यता छैन। त्यसैले जवाफ दिनुको साटो उल्टै प्रश्न सोध्ने हो, म राति चोर्न हिँडेकी हुँ र? होइन भने काम गरेर खाँदा कसैको टाउको किन दुख्छ?', उनको प्रश्नमा समाजप्रतिको आक्रोश पनि घुल्छ।

ज्ञानु आचार्य।

पेशासँग जोडिएका तीता अनुभव पनि छन्। हाँस्दै छिरेको गेस्ट रक्सी पिएपछि बाउन्सरको क्षमता, चरित्र, औकातमाथि प्रश्न गर्न थाल्छन्। कतिलाई सहेरै बिदाई गर्नुपर्छ अनि कतिलाई गलहत्याएरै बाहिर निकाल्नु पनि।

'मातेर बोल्नेहरुको मतलव लाग्न छोड्यो। खुट्टा टेक्न नसक्नेहरुको बोलीको के भर? बरु हाम्रो साहस र सहनशीलताको तारिफ गर्नेहरुले बेग्लै उर्जा दिन्छन्,' उनले खुशी व्यक्त गरिन्।

ज्ञानु इभिजा लन्जमा सुपरभाइजर हुन्, बाउन्सरहरुको।

सुपरभाइजर बन्नु आफूजस्तै बाउन्सर टोलीको नेतृत्व लिनु हो। त्यसैले प्राय बाउन्सर लक्ष्य त्यही पुग्नु हुन्छ जहाँ पुगेर नेतृत्व गर्न सकिन्छ। सुपरभाइजरको जिम्मेवारी केही बढी हुन्छ सँगै तलब सुविधा पनि।

धरान, लेलाङकी दुर्गा मगरमा पनि रहर छ, सुपरभाइजर बनेर आफ्नो 'टिम लिड' गर्ने।

२९ वर्षीया दुर्गाको सपना त नेपाल प्रहरीको इन्स्पेक्टर बनेर समाज लिड गर्ने नै थियो। तर, सानैमा बुबा बितेपछि पढ्ने अनि पुलिस बन्ने सपनामा ब्रेक लाग्यो। पढाई छाड्नु पर्‍यो। फोक्सोको समस्याले थलिएकी आमा र दुई बहिनीका लागि कमाउनु उनको बाध्यता बन्यो।

जम्मा १२ वर्षकी थिइन्, खानका लागि कमाउन हिँड्दा, परिवारको जिम्मेवारी आफ्नो काँधमा थाप्दा। त्यसैले दुर्गा जिम्मेवारीसँग डराउँदिनन्।

चार वर्ष विदेशमा काम गर्नुले उनमा आत्मविश्वास बढाइदियो। अभावलाई जित्‍न विदेशिएकी थिइन्- तीन वर्ष मलेसियास्थित एक होटलमा र एक वर्ष दुबईमा क्लिनरका रुपमा। त्यहीँ बुझिन् - प्रेम र आफ्नोपनको अभाव सहन झनै गाह्रो हुने रहेछ।

'अर्काको देशमा चार वर्ष खटेपछि मलाई लाग्यो- अब त जे पनि गर्न सक्छु। गरेर खानसक्छु भने आफ्नै देशमा गर्छु, बहिनीहरुसँगै बस्न त पाइन्छ भनेर फर्किएँ,' उनले देश फर्कनुको कथा सुनाइन्।

आत्मविश्वास बोकेर आएकी थिइन् उनी। लामो प्रयासपछि बल्लतल्ल काम पाइन्- काठमाडौंको एक क्याफेमा। बिहानभर ग्राहक सर्भ गर्ने। तलब मासिक ८ हजारमात्र।

न दिनभर काम हुनु न त्यति तलबले परिवारको खर्च टर्नु! त्यसैले नयाँ कामका लागि बुझ्दै जाँदा थाहा पाइन् - बाउन्सरबारे। काम रातको होस् या दिनको, गाह्रो होस् या सजिलो, उनी भइन् राजी। फेरि यो काममा समय र पैसा दुवैको हिसाब ठ्याक्कै मिल्यो।

प्रशिक्षण लिइन्। सिटिइभिटीमार्फत् सेक्युरिटीको तालिम पनि काम लाग्यो। कामका लागि कुर्नै परेन। जागिर पाइन्, व्यस्त क्लब फरेन हाइटमा।

पहिलोपटक बाउन्सरको कालो युनिफर्ममा ठाटिँदा कसैले उनलाई सोध्यो- काम चाहिँ के हो?

‘मैले त भन्दिएँ- पुलिसको जस्तै हो, सुरक्षा दिने,’ यति सुनाइसक्दा उनी मज्जाले हाँसिन्।

उनको दैनिकी बन्यो - बिहान सात बजेदेखि दिउँसो दुई बजेसम्म क्याफेमा खट्नु। त्यसपछि कोठामा जानु अनि आराम गर्नु। राति आठ बजे क्लब पुग्नु। बिहान पाँच बजेसम्म ड्युटी। बिहान क्लब बन्द भएपछि क्याफे नखुल्दासम्म खाली। त्यस समय चाहिँ सडक पेटीमा बेच्न राखेका चिया चाख्नु, भर्खर ब्युँझिएका कुकुरलाई बिस्कुट खुवाउँनु अनि मन्दिरतिर धाउनु।

उनी काम गरेर थाक्दिनन्। खाली बस्नु पर्दा बरु पट्यार लाग्छ उनलाई। काम गर्न चाहनेलाई निकै हौसला दिलाउँछिन्।

गंगा र तारादेवी।

इलामकी २१ वर्षीया गंगा राई र १९ वर्षीया तारादेवी राई दिदी बहिनी हुन्। दुवैजना दुर्गासँगै बाउन्सर भएर आएका। मस्ती गर्न क्लब धाउने उनीहरु दुर्गा लगायतलाई देखेरै यो पेशामा आकर्षित भए। ‘रहर त लाग्यो तर देखेजस्तो सजिलो हुँदैन रै'छ,’ तारादेवीले केही धकाउँदै बोलिन्।

दुर्गाले उनलाई सहज महसुस गराउन भनिन्, 'यो उमेरमा आफ्नो खर्च जुटाउन काम आँट्नु नै ठूलो कुरा हो, त्यो पनि क्लबजस्तो रिस्की ठाउँमा।'

+++

सेभेन स्टार सेक्युरिटी सर्भिसका सञ्चालक रुद्र लिम्‍बु क्लबहरु धाइरहन्छन्। आफ्नो कम्पनीबाट खटाइएका बाउन्सरको काम हेर्न।

दुई तीन वर्षयता काठमाडौंका अधिकांश क्लब, लन्ज, दोहोरी साँझहरुमा पुरुष बराबर महिलाहरु रमाउन थालेको देखेका छन्। तर, बाउन्सरहरु चाहिँ केटा मात्रै देखेपछि उनले त्यहाँ स्पेस देखे महिलाहरुका लागि। त्यहाँ आउने महिलाहरुको सुरक्षाका लागि महिला नै बाउन्सर खटाउन पाए गज्जब हुन्छ भन्ने लाग्यो उनलाई। त्यसपछि उनले महिला बाउन्सरका लागि प्रशिक्षण र भ्याकेन्सी खोले।

सुरुवाती दिनमा कोही आएनन्। बुझ्न आउनेहरु पनि रातको काम भनेपछि तर्किएर गए। तर, बिस्तारै रोजगारीको खाँचो परेकाहरु जोडिन थाले। एक महिनाको प्रशिक्षण लिए। शारीरिक व्यायाम गरे। 'सेल्फ डिफेन्स', 'लक टेक्निक', बोली र व्यवहारदेखि विभिन्न संकेत र इशाराहरु बारे सिके।

बाउन्सर बन्न मेहनत गर्ने यस्ता युवतीहरुलाई निडर र आत्मविश्वासी बनाउनु सुरुमा त चुनौतीपूर्ण नै थियो। तर, जब फिल्डमा उत्रिए तब सकारात्मक संदेश प्रवाह भयो। एकपछि अर्को गर्दै क्लबहरुले महिला बाउन्सरको माग ह्वात्‍तै बढाए।

अहिले हरेक क्लबमा तीनदेखि पाँचजना महिला बाउन्सरहरु खटिएका हुन्छन्।

यी सबै परिवर्तनहरु नजिकबाट नियालेका प्रशिक्षक अग्नि राई भन्छन्, 'बाउन्सर भन्नासाथ कुट्ने, पिट्ने मानिस भनेर बुझ्नेहरु पनि छन्। तर, हाम्रा बाउन्सरहरुले कुट्न होइन बचाउन सिकेका छन्।'

+++

सानुमाया, ज्ञानु, दुर्गा लगायतका पात्रहरु फरक कथा बोकेका एउटै किताबका च्याप्टरहरु हुन्।

उनीहरु हरेक दिन फरक अनुहार, प्रवृत्ती, सोच र संस्कार बोकेका सयौं मानिससँग ठोक्किन्छन्। तर, उनीहरु उस्तै साहस र विनम्रता बोकेर उभिरहन्छन्। जहाँ उभिन्छन् त्यहाँ उनीहरुको पारिवारिक, आर्थिक, सामाजिक पृष्ठभूमिको आवाज मधुर सुनिन्छ। किनकि उनीहरु काम गर्ने ठाउँ नै त्यस्तै छ, जहाँ हरेक चिज भुलेर रमाउनेहरु आउँछन्। चर्को संगीतमा झुम्छन्। अनि चर्को आवाजमा हल्ला मिसाउँदै नाच्नेहरुको निगरानीमा एकत्रित हुन्छन्, फरक पहिचान र कथा बोकेका यी लेडी बाउन्सरहरु जो कालो कपडा र जिम्मेवारीमा भने बिल्कुल उस्तै देखिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell