PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

खाडीमा 'अल इज नट वेल' : ट्रम्प र इरानको आ-आफ्नै दाबी



खाडीमा 'अल इज नट वेल' : ट्रम्प र इरानको आ-आफ्नै दाबी
Illustration by The New York Times; photographs by Anna Moneymaker/The New York Times and Mehdi Ghasemi/ISNA, via Associated Press

सामाजिक संजाल प्रयोगकर्ताको तर्क मान्ने हो भने हामीहरु 'विश्व युद्ध ३' को संघारमा छौं। केही दिनयता #WW3 ट्रेन्डिङमा समेत रह्यो। कारण थियो – इरानी सैन्य जनरलको अमेरिकी हवाई कारवाहीमा मृत्यु।

गत शुक्रवार अमेरिकाले इराकस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गर्‍यो र त्यसमा इरानका 'सेकेन्ड म्यान' कस्सिम सोलेमानीको मृत्यु भएको थियो। मेजर जनरल कस्सिम इरानी रिभोलुस्नरी गार्ड कोर्प अन्तर्गत कुड्स फोर्सका प्रुमुख थिए।

इरानको नीति निर्माणमा महत्वपूर्ण निर्णय लिने कस्सिमलाई इरानी जनता 'रकस्टार' मान्थे। तर, अमेरिकी कारवाहीमा उनैको मृत्यु भएपछि खाडी नै अशान्त बन्न पुग्यो। इरानीहरु अमेरिकासँग बदला लिन भन्दै सडकमा आर्लिए।

फलस्वरुप मंगलवार इरानी संसद्ले अमेरिकी सेना र रक्षा मन्त्रालय 'पेन्टागन' लाई आतंककारी समूह घोषणा गर्‍यो र खाडी छाड्न चेतावनी दियो। बुधवार सोलेमानीको 'हत्या' को बदला स्वरुप इरानले अमेरिकी सेना रहँदा आएको सैन्य आधार शिविरमा हवाई आक्रमण गर्‍यो। १२ वटा भन्दा धेरै मिसाइलहरु प्रहार भए। त्यसमध्ये केही ब्यालास्टिक मिसाइल समेत थिए।

आक्रमणपछि अमेरिकी राष्ट्रपतिले ट्वीट गरे र भने सबै ठीक छ।

'अल इज वेल! ' ट्रम्पले ट्वीटमा लेखेका छन्,' इरानले दुईवटा सैन्य मिसाइल आक्रमणमा गरेको छ। अहिले आक्रमणबाट भएको क्षतिको विवरणहरु संकलन हुँदैछ। अहिले सम्म सबै ठीक छ। हामीसँग विश्वकै शक्तिशाली र हातहतियारले सुसज्जित सेना छ।'

ट्रम्पले सबै ठीक छ भनिरहँदा क्यानडा, बेलायत,भारत, पाकिस्तान, फिलिपिन्स, नेपाल लगायतका राष्ट्रले त्यहाँ रहेका आफ्ना नागरिक र सेनालाई सचेत रहन निर्देशन दियो। कतिपय राष्ट्रले त आफ्ना नागरिकलाई फिर्ता आउन नै सर्कुलर जारी गर्‍यो। सर्कुलर जारी गरेर आफ्ना नागरिकलाई सुरक्षित बनाउनेमा थियो। अमेरिका।

अमेरिकाले इरानको सम्भावित आक्रमण अघि नै आफ्ना नागरिकलाई इराकबाट फिर्ता लगिसकेको थियो।

इरानले अमेरिकालाई बदला स्वरुप अमेरिकी सैन्य शिविरमा आक्रमण त गर्‍यो नै त्यहाँ करिब ८० अमेरिकी मारिएको दाबी समेत गर्‍यो। यस्तै, ठूलो संख्यामा हातहतियार र हेलिकप्टरहरु नष्ट भएको दाबी गरियो।

तर, अमेरिका भने आफ्ना राष्ट्रपति नै ट्वीटमा अडिग रह्यो। अर्थात अल इज वेल।

बिहिवार ट्रम्पले देशवासीका नाममा सबै ठीक भएको कुरा दोहोर्‍याए। मिसाइल आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको उनले दाबी गरे।

इरानी आक्रमणलाई लक्षित गर्दै अमेरिकाले सजगता र सतर्कता अपनाएका भन्दै ट्रम्पले कुनै पनि क्षति नभएको बताए।

इरानले ८० जना मारेको दाबी गरिरहँदा ट्रम्प त्यही इरान माथि खनिए। इरानले गरेको आक्रमणबाट इरान नै तल परेको बताए।

ट्रम्पले दाबी गरे, 'खाडीमा अमेरिकाको प्रभाव थप बढ्छ। हामी त्यस क्षेत्रमा आफ्नो सेनाको उपस्थिति अझै बलियो बनाउछौं।'

राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी समेत गरे।

बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिका र इरानबीच आणविक सम्झौता भएको थियो। तर ट्रम्पले भने इरानसँग उक्त सम्झौता तोड्दै इरानमाथि प्रतिबन्ध लगाएका थिए। त्यहीबाट चिसिएको इरान र अमेरिकाबीचको सम्बन्ध युद्धमा पुगेको विश्लेषकहरु बताउँछन्।   

ट्रम्पले अल इज बेल भनिरहँदा दुवै पक्षबाट फेरि आक्रमण हुन सक्ने सम्भावना उत्तिकै रहेको छ। ट्रम्पले यस अघि नै इरानका ५२ स्थानहरु अमेरिकी सेनाको 'टार्गेट' मा रहेको भन्दै चेतावनी दिइसकेका छन्। ५२ स्थानमा धेरैजसो इरानका सांस्कृतिक धरोहर रहेका छन्।

यता, इरान पनि के कम। उसले पनि आफ्नो निशानामा खाडीका क्षेत्रका १०० स्थान रहेको भन्दै ट्रम्पलाई जवाफ फर्काइसकेको छ। इरानले अमेरिकाको साथ दिने राष्ट्रलाई आफ्नो निशानामा रहेको बताइसकेको छ।

न त दुवै राष्ट्रबीच अहिले नै वार्ता हुने सम्भावना छ। न त दुवै राष्ट्र हातहतियार प्रदर्शन गर्न रोक्ने मनस्थितिमा छन्। यस्तो अवस्थामा ट्रम्पले भने झै सबै ठीक कसरी हुनसक्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell