PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

प्रधानमन्त्री कायर भएकैले सूचना प्रविधि विधेयक आएको गगनको भनाई, ‘भीम रावल र रामकुमारी झाँक्री पनि थुनिन्छन्’



प्रधानमन्त्री कायर भएकैले सूचना प्रविधि विधेयक आएको गगनको भनाई, ‘भीम रावल र रामकुमारी झाँक्री पनि थुनिन्छन्’

  • प्रकाश भण्डारी-

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक प्रधानमन्त्री लुते र कायर भएको कारण आएको बताएका छन्। आज कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले माइतीघरमा आयोजना गरेको सूचना प्रविधि विधेयक विरोधसभामा थापाले उक्त आरोप लगाएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री केपी ओली आलोचना सहनै नसक्ने भएकाले विधेयक ल्याउन आतुर देखिएको बताए। भने, 'प्रधानमन्त्री बलियो भएर यो विधेयक आएको होइन, लुते भएर आएको हो, कायर भएर आएको हो।’

थापाले आफ्ना विरुद्ध बाल्ने सबैलाई ५ वर्ष जेल हाल्न चाहेको दाबी गरे। यो विधेयक लागू भएमा सत्तारुढ दलका नेताहरुसमेत थुनिने चेतावनी दिए। 'विधेयक बनेमा विपक्षी दलका नेताहरु मात्र नभइ सत्तारुढ दलकै भीम रावल, रामकुमारी झाँक्री पनि थुनिने छन्,' थापाले भने, ‘जसले श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ बडामहाराज धिराज केपी आलीको जय र श्री ३ महाराज धिराज प्रचण्डकी जय भन्ने मान्छे बाच्यो। नत्र गयो। बोल्ने हो कि होइन अहिले। हिम्मत छ की छैन।’

उनले सञ्चारमन्त्री गोकुल बास्कोटालाई चुनौती दिँदै विधेयकको दफादफामा आफू छलफल गर्न तयार रहेको भनाई राखे। भने,

‘यो विधेयकको धारा धारा, दफा दफामा छलफल गर्न तयार छु। माननीय मन्त्रीजीले भन्नु भएछ विधेयक नपढेर आयो कहाँ छलफल गर्ने हो? सिंहदरबारमा छलफल गर्ने हो? संसदमा, माइतीघरमा छलफल गर्ने हो या धुम्बाराहिमा? नपढेर आएको होइन पढेर आएको हो हामीलाई हेप्ने?'

यसअघि कार्यक्रमलाई सम्बोधन गरेका नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सरकारले संस्थागत रुपमै भ्रष्टाचार गरेको आरोप लगाए।

 पौडेलले प्रधानमन्त्री ओली यती कम्पनीको सिइओ भएकोसमेत आरोप लगाए। उनले सूचना प्रविधि विधेयक नसच्याए आन्दोलनको आँधी ल्याउने चेतावनीसमेत दिए।

 नेता नवीन्द्रराज जोशीले विधेयक कुनै पनि हालतमा पास हुन नदिने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell