- सुमित मिश्र-
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई कारबाहीको माग गर्दै जनकपुरधामका विभिन्न ६ वटा संस्थाहरुले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले विभिन्न ६ बुँदे मागसहित संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई ज्ञापनपत्र बुझाएका हुन्।
जानकी मन्दिरको फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचारका लागि उपमहानगरपालिकाको कार्यालय पुगेका सञ्चारकर्मीहरुलाई गत मंगलवार कुटपिट गरेको आरोप लगाउँदै मेयर साहलाई कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको बताइएको छ।
मधेश अधिकार संघर्ष समिति, भ्रष्टाचार विरुद्धको युवा अभियान, परिवर्तनका लागि युवा अभियान, अंगराजसर संरक्षण समिति, जानकी चौक युवा समूह र जनकपुर नागरिक समाजमा आवद्ध युवाले ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सूचना अधिकारीको नियुक्त हुनुपर्ने, हालसम्म नियुक्त भएका कर्मचारीको भर्ना प्रक्रिया र संख्या सार्वजनिक गर्नुपर्ने, २५ वटै वडामा गरिएको विकास निर्माणको योजना र उपभोक्ता समिति नामावली पारदर्शी हुनुपर्ने, सञ्चारकर्मीले सहज रुपमा सूचना पाउनुपर्ने, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने मागहरु अघि सारेका छन्।