‘मलाई हरेकपटक जहाज चढ्नुअघि औधि डर लाग्छ। बढो जोखिमपूर्ण यात्रा हुन्छ। त्यसको पुच्छरले मात्र छिसिक्क कतै छोयो भने हाम्रो नाम निशान बाँकी रहँदैन,’ बंगाली लेखक मनोरञ्जन व्यापारीले यति भनाइ सक्नासाथ मुखभरी खानेकुरा हाले।
नेपाल साहित्य महोत्सव समापनको अघिल्लो रात, म बंगाली लेखक व्यापारीसँगै थिएँ। खानाभन्दा स्वादिलो थियो, उनको गफ।
म हिन्दी अलिअलि बुझ्छु तर बोल्ने ढङ्ग छैन। हामी दुईबीच भाषाको सहजीकरण गर्दै थिए, पूर्व फुटबलर साइमन सुब्बा।
व्यापारीले खाना चपाउन्जेल मैले सोच्न भ्याइहालेँ - जीवनको २४ वसन्त पार गरिसकेपछि बल्ल ‘क’ लेख्न सिकेका यी लेखक कुनै बेला रिक्सा चालक पनि थिए। साँच्चै यिनले पहिलोपटक प्लेन कहिले चडे होलान्?
मैले टुटेफुटेको हिन्दी भाषामा प्रश्न राख्नु अघि नै उनी बोल्न थालिहाले - ‘धन्न जहाजवालाहरुले बीमा गरिदिन्छन्। मलाई केही भइहाले पनि मेरो परिवारले राहत रकम पाउँछन्, लाखौं।’
उनी खाना चपाउँदैछन् र बोल्दै पनि - 'मेरो किताबबाट आउने रोयल्टीभन्दा ज्यादा।' मेरो मनको प्रश्नको अर्थ रहेन।
त्यस रात खाना खाएर होटल फर्कनासाथ पहिलोपोस्ट चहार्न थालेँ- दिनभरको खबर अपडेटका लागि। बिहान सबेरै छापिएको एउटा खबरले नमज्जाले चिमट्यो - ‘सिन्धुपाल्चोकमा बस दुर्घटना। आठ जनाको घटनास्थलमै मृत्यु। चालक फरार, सँगै रहेकी श्रीमतीको मृत्यु, उनीहरुकी छोरीको विचल्ली।‘
एउटै कुरा मनमा खेल्यो- कस्तो चट्टानको जस्तो मन भएको बाबु?
त्यतिखेरै याद आयो मनोरञ्जन व्यापारीले बोलेको।
लाग्यो - गाडी चड्नेको पनि बीमा हुन्थ्यो भने बेवारिसे छाडिएकी नानीलाई केही राहत हुन्थ्यो नि।
यस्ता दुर्घटनाका खबरले सधैं झस्काइरहन्छ मलाई। कुनै पनि बीमा कम्पनीले ढुक्क तुल्याउन सक्ने दुर्घटना होला त? सचेत हुन्छु। आफैसँग भनेँ - अबदेखि स्कुटर चलाउँदा हतार नगर्ने।
तर, सत्य यो पनि हो - जब एक्सिलेरेटरमा हात पर्छ, हतार भइहाल्छ।
हामी सधैं जोखिमपूर्ण यात्रामा हुन्छौं, आफैलाई ढाँटेर। ट्राफिक नियम विपरीत नजान हाम्रो अगाडि ट्राफिक प्रहरी नै खडा हुनुपर्छ। अथवा, भर्खरै मापसे वा लेन अनुशासन सम्बन्धी प्रहरीले दिने अनुशासनको कक्षा लिएर निस्किएको हुनुपर्छ।
ममात्र होइन धेरैलाई हुने एउटै अनुभव हो - आफूले चलाएकै रफ्तारमा अरुले कुदाए भने डर लाग्ने। हाँक्नेलाई थाहा हुन्छ आफ्नो रफ्तार, पछाडि बस्दा कसरी होस्? सोचेँ - प्लेन उडाउनेहरु पक्कै नडराउँदा हुन्, मनोरञ्जन व्यापारीजस्तै।
त्यसो त मलाई पनि प्लेन ल्यान्ड हुनुअघि चाहिँ औधि डर लाग्छ।
मंसिर ३० गते, बिहान मनोरञ्जन व्यापारीको टोलीले एयरपोर्टका लागि होटल छाड्दै गर्दा बाटोसम्मै पुगेर बिदा गरेँ- यात्रा शुभ रहोस्। उनको डर कम होस्।
(यहाँबाट उनलाई बिदाई गरेँ। उनीसँगको कुराकानीमा आधारित छुट्टै लेख पछि पेश गर्ने नै छु।)
त्यसै दिन दिउँसो दुई बजे आफ्नो फ्लाइट काठमाडौंका लागि। एयरपोर्ट पुग्दा व्यापारीको डर मतिर सल्के झै लाग्यो। मैले पनि व्यापारीले जस्तै सोचेछु। झन्, अघिल्लो रात पढेको दुर्घटनाको खबरको तरंग बाँकी नै थियो। पोखरादेखि काठमाडौंसम्म २५ मिनेटको यात्राभर के सोचेँ, के गरेँ याद छैन। आफैलाई सम्झाएँ- हवाई यात्रा सबैभन्दा सुरक्षित यात्रा माध्यम हो नानु।
सुरक्षित र जोखिमबिहीन कहाँ पो छ त? काठमाडौंभित्रकै सडक सम्झिएँ। अनि दिनदिनै सुन्नु पर्ने दुर्घटनाका खबर पनि। फेरि एकपटक आफैसँग प्रतिवद्धता व्यक्त गरेँ - अबदेखि हतार गर्दिँन।
+++
मैले हप्तौपछि यो ब्लग लेख्नुको कारण प्रस्ट्याउनु पर्छ। शुक्रबार साथी रीना मोक्तानले लेखेको एउटा समाचार पढेंको थिएँ - ‘त्रिशला भन्छिन् अब हेल्मेट किन्छु।’
गायिका त्रिशला गुरुङ चढेको बाइक दुर्घटनामा परेको रहेछ। ड्युटीका लागि चाबहिलबाट अत्तरखेलस्थित नेपाल मेडिकल कलेजतर्फ जानका लागि उनले पठाओ एपमार्फत् राइड बुक गरेकी रहिछिन्। बाइक चिप्लिएर त्रिशला हुत्तिइन्, निधारमा चोट लाग्यो।
चालक त चिप्लो बाटो र त्यही बाटो काट्ने कुकुरको बहाना बनाएर उम्किएछन्। अचम्म त पठाओ सञ्चालकबाट आएको गैरजिम्मेवार जवाफ पढेर पो लाग्यो - ‘महिनाको राइडमा सहुलियत दिन्छौं।‘
अनि अझै चकित त दुर्घटना परेको हकमा यात्रुको सुरक्षाका लागि कुनै बीमा योजना छैन भन्ने पनि रहेछ।
यो खबर पढ्दै गर्दा मैले फेरि मनोरञ्जन व्यापारीलाई सम्झिएँ। एकदिन फेवा किनारमा उभिएर प्याराग्लाडिङ नियालिरहेका उनले भनेका थिए- ‘बीमा त चाहिन्छ। मान्छेमा पो विश्वास गर्न सकिन्छ साधनको के भर?’
निकै उपयोगी पठाओ, टुटलजस्ता राइड सेयरिङ एपहरुले जिम्मेवारीसँग जोडिएको यस्ता विषयलाई ध्यान दिनुपर्छ, सायद। यात्रुको बीमा छैन भन्नु दुर्घटना भए हामी जिम्मेवार छैनौं भन्नुसरह हो।
गत मंसिर ६ गते यातायात व्यवस्थापन विभागले निजी सवारी साधन सार्वजनिक सेवामा प्रयोग गर्न नपाइने भन्दै सूचना जारी गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२)का अनुसार निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइँदैन र दफा १२ का अनुसार कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न नपाइने उल्लेख गरिएको थियो।
पठाओ र टुटलले निजी सवारी साधनको प्रयोगमा यात्रुलाई सेवा दिन्छन्। त्यसैले यस्ता कम्पनीहरुको वैधानिकता माथि प्रश्न उठेका छन्। प्रश्न उठ्दा उठ्दै पनि यात्रुले उनीहरुको सेवा रुचाएका छन्। मतलव मानिसलाई राइड सेयरिङ एपको आवश्यकता छ। एपले जोडेको विश्वासकै भरमा अपरिचित व्यक्तिसँग यात्रा गर्छन् सर्वसाधारण। यो अवस्थामा कम्पनीले कुनै पनि किसिमको दुर्घटनाका लागि सुरक्षा योजना नबनाउनु कति जायज छ? प्रश्न आवश्यक छ, सायद। त्यो दिनसम्म यो प्रश्न रहिरहने छ जबसम्म सार्वाजनिक यातायात सुधारिँदैन र यस्ता सेवा दिनेहरुले बीमाको पोलिसी लागू गर्दैनन्।
निजी नम्बर प्लेटको मोटरसाइकल र स्कुटरमार्फत् यात्रुलाई सेवा दिने ‘टुटल’र ‘पठाओ’ त कम्पनीको नाममा दर्ता भएका छन्। उनीहरुले यात्रुको मागलाई ध्यानमा राख्दै सेवा परिस्कृत गर्दै लैजालान्।
तर, त्यसदिन मैले काठमाडौं एयरपोर्ट उत्रिएपछि बेग्लै राइड सेयर गर्नेको सेवा लिएँ। त्यही सेवाको बारेमा जानकारी दिन पनि यो ब्लग आवश्यक थियो।
+++
एयरपोर्टबाट निस्किँदै गर्दा ‘अब घरसम्म कसरी पुग्ने?’ अन्यौल थियो।
तर, के दु:ख?
हातमा लगेज र पिठ्युमा ब्याग देखेपछि ‘ट्याक्सी हो दिदी ट्याक्सी?’ सोध्दै आउनेहरुको लाइन लागि हाल्यो।
एक दुई जनासँग त मोलमोलाइ भयो। उनीहरु मिटरमा हिँड्न नमान्ने, म मिटरमा उठेभन्दा एक रुपैयाँ नि बढी नदिने। ६ किलोमिटर दुरीका लागि हजार बाह्र सय खर्चने कुरै थिएन। तुलनात्मक हिसाबमा पठाओकै ट्याक्सी सस्तो हुने थाहा थियो। नियमित प्रयोग नगरे पनि फोनमा पठाओ एप थियो। तर, आफ्नै फोन अफ भइसकेको रहेछ।
अलमलबीच अलि अगाडिसम्म के पुगेको थिएँ, पूरानो डिजाइनको स्प्लेन्डर बाइकवालाले सोधे- नानी बाइकमा जाने हो कि?
सकी नसकी भारी घिसारेको देखेर जिस्क्याए झै लाग्यो। पर्वाह नगरी अलिक अगाडि गएर उभिएँ। ठ्याक्कै अगाडि आएर रोकियो अर्को साइन बाइक। बाइकवालाले उस्तै गरी सोधे- ‘बहिनी कहाँ जाने हो? म छोड्दिउँ?’
म त दङ्ग परेँ लिफ्ट दिन खोजेछन् भन्ने ठानेर। तर, मेरो भारी बाइकमा अट्छजस्तो लागेको थिएन। त्यसैले भनेँ- ‘तपाईं कहाँसम्म जाने हो र? फेरि मेरो सामान अट्दैन होला। होस्, जानुस्।‘
उनले त बार्गेनिङ सुरु गरिहाले।
‘होइन मिलाएर जाम् न सस्तोमा लग्दिन्छु। हामी ट्याक्सीवाला जस्तो होइन।’
म छक्क परेँ र सोधें - तपाईं पठाओको राइडर हो र?
उनले ‘हो’ भने। उनी आफै सामान मिलाएर राख्न तम्सिए। फोन अफ भएकाले पठाओ बुक गर्न सम्भव थिएन। त्यसैले पठाओकै हो भने ‘जाम् न त’ भन्ने भयो।
लगेज बीचमा बोकेर बस्न अप्ठेरो त थियो तर उनले मलाई दुई सयमै घरसम्म पुर्याइदिने भए। कहाँ बाह्र सय, कहाँ दुई सय? यो सेवा लिनुअघि एपमा रजिस्टर हुन समेत आवश्यक ठानिनँ मैले। फोन अफ हुनु बहना बन्यो। सुरक्षित यात्रा गर्छु, जोखिपूर्ण यात्रा गर्दिँन भन्ने कुरो नाफा घाटाको हिसाबबीच कता बिलायो बिलायो।
झसङ्ग त त्यतिखेर भएँ जब राइडरसँग कुराकानी भयो। दोलखा घर बताउने ती राइडरले आफू 'टाइम पास' गर्न र चिया खर्च जुटाउन यसरी सेवा दिन हिँडेको बताए। उनी पठाओ वा टुटलसँग आवद्ध रहेनछन्।
मैले उनलाई निजी सवारी साधनमा मान्छे ओसार्नेलाई त ट्राफिकले धमाधम कारवाही गरेको समाचार सुनाएँ।
उनले उल्टै ठाडो जवाफ दिए, ‘हामी त सहमतिमा काम गर्ने हो बहिनी। मन लाग्ने चड्छन् मन नलाग्ने चड्दैनन्।'
‘तपाईंले मलाई त पठाओ भनेर ढाँट्नु भयो नि?’
मेरो प्रश्नको सरल जवाफ दिए- 'पठाओ भए नि नपठाओ भएनि घर पुगे भएन?'
म ट्वाँ।
न कतै दर्ता न कसैको डर। बीमा र जिम्मेवारी त परको कुरा, उनीहरु धमाधम त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलको पार्किङमा प्यासेन्जर कुरेर बस्दा रहेछन्।
‘ट्राफिकले केही गर्दैनन् त?’
उनले भने अनुसार यसरी निजी बाइकमा राइड सेवा दिन बस्नेहरुको समूह नै छ। सबैजना आफ्नो मान्छे कुरे जसरी बस्छन् र कसैलाई सेवा आवश्यक परेजस्तो लाग्यो भने नजिकै गएर बार्गेनिङ गर्छन्। समूह बढ्दै गएकाले केही अप्ठ्यारो भए पनि ट्राफिक आएको खण्डमा एकअर्कालाई इशारा दिने र सतर्क बस्ने गरेका रहेछन्।
डोमेस्टिक टर्मिनलबाट निस्कनेहरुसँग भारी कम हुने भएकाले बाइक सेवा लिने धेरै रहेको समेत सुनाए उनले।
ती राइडरले मलाई घर अगाडिसम्मै पुर्याइदिए।
+++
यातायात व्यवस्थापन विभागमा दर्ता भए यात्रु र राइडरबीच सेतुको काम गरिरहेका कम्पनीहरु माथि प्रश्न उठिरहँदा त्यसरी ट्राफिककै आँखा छलेर सेवा दिनेहरुमाथि चाहिँ कसले नियमन गर्ने? कि नगर्ने? यो त एप हुनेको तुलनामा धेरै जोखिमपूर्ण छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाललाई सोध्न मन लाग्यो। उनलाई त यसबारे थाहै रहेनछ। 'निजी सवारी साधन सार्वजनिक सेवाका लागि प्रयोगमा ल्याएको थाहा पाएसम्म कारवाही गरेका छौं। यसरी नागरिकस्तरबाट पनि सहयोग मिले हामीलाई सहज हुन्छ,' उनले सैद्धान्तिक कुरा नै सुनाए उल्टै।
भन्न चाहिँ एयरपोर्ट बाहिर त्यसरी अवैध राडडर सेवा दिनेहरुमाथि छानबिन हुने बताए।
अनि आफूलाई कम्पनीको रुपमा दर्ता गरेर सेवा प्रदान गर्दै आएका टुटल र पठाओहरुमाथि प्रश्न मात्र गरिरहनुको सट्टा त्यसलाई नियमन गर्नका लागि कानुन बनिहाल्नपर्ने अनुभव भयो।
देशमै केही गरौं भनेर लागि परेका युवाको व्यवसायलाई सहज हुने गरी बनोस् यस्तो कानुन। आवश्यकता अनुसार आम मानिसले सेवा भरपुर प्रयोग गर्न पाउन् सुरक्षित रहेर। अनि कसैले पनि मैले जसरी मिटरमा हिँड्न नमानेकै कारण ट्याक्सीदेखि तर्सन नपरोस्। बाइकवाला राइडरहरुलाई पनि ट्राफिक प्रहरीको आँखा छल्दै यात्रा गर्न नपरोस्।
जीवनभन्दा ठूलो पैसा वा बीमा कम्पनीका पोलिसी होइन। तर, सुरक्षित हुने आधार भने हो। पठाओले पनि यात्रुको सुरक्षाका लागि बीमा योजना ल्याओस्। मनोरञ्जन व्यापारीले भनेजस्तै- ‘मान्छेको पो त विश्वास गर्न सकिन्छ। मान्छेले बनाएको साधनको त भर हुँदैन नि।' कि कसो?