काठमाडौं : प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतवार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा मत विभाजन हुँदा हेटौँडाको पक्षमा दुई तिहाई पुगेको हो।
प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए।
पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रसको समर्थन थियो।
प्रस्तावको विपक्षमा विवेकशील पार्टी मात्रै उभियो। विवेकशीलले काभ्रेलाई राजधानी बनाइयोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए। प्रस्ताव दुई तिहाइले अस्वीकृत भयो।
प्रदेशसभा गठन भएको दुई वर्षपछि स्थायी राजधानी तोकिएको हो। अब प्रदेश १, २ र ५ ले स्थायी राजधानी र नाम टुंगो लगाउन बाँकी छ।