
जनकपुरधाम : १० वर्षअघि आजकै दिन हत्या गरिएका पत्रकार उमा सिंहको ११ औं स्मृति दिवस मनाइएको छ। आइतवार नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकार सिंहको स्मृति दिवस मनाएको हो।
स्थानीय रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका १४ स्थित आफ्नै डेरामा खुकुरी प्रहार गरी हत्या गरिएको थियो।
अदालतको ठहर
धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाएको थियो। न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले हत्या काण्डका मुख्य अभियुक्त यादवलाई जन्मकैदको सजाय सुनाएको थियो।
यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए। धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् ज्यानसम्बन्धी महलको १३ र ४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो। सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव लगायतविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।
२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो। ती दुवै जना अहिले जलेश्वर कारागारमा छन्।
त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए। अन्य प्रतिवादीहरू धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेला परेका बखत कारबाही गर्ने आदेश गरेको थियो।
त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनी आदेश दिइएको थियो। स्वामीजी यादव भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कार गरेको भए पनि २८ चैत २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाको इजलासले उनलाई पुर्पक्षमा राख्ने आदेश दिएको थियो।
हत्याको कारण
उमा कुमारी सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्षदेखि जनकपुरको रेडियो टुडेमा रिपोर्टरबाट काम शुरु गरि समाचार बाचन गर्दै आएको थिइन्। उमाकी आमा शुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र बिहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा पास नगर्न विरोध गर्न थालिन्।
ललिता सिंहले सम्पतिको लागि नै स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासवान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ।
श्रवण यादवको समूहले सिंहलाई १ महिना अगाडि अपहरण गर्ने प्रयास समेत गरेको थियो। स्वामीजीले उमालाई सम्पूर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरिदिनको लागि धम्कीसमेत दिँदै आएका थिए। २०६३ भदौ १५ मा सिरहाको रामनगर मिर्चैया वडा नम्बर ३ स्थित आफ्नै होटेलबाट उमाको बुवा रंजित सिंह र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता बनाइएको थियो।
१० कठ्ठा जग्गा बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि आमाले धुरमी बजारको दुई कठ्ठा जग्गासमेत उमाकै नाममा पास गरेकी थिइन्। उमेश यादव तराई एकता परिषद्का केन्द्रीय अध्यक्ष थिए। उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासवानलाई उमाको हत्या हुनुभन्दा १५ दिन अगाडि भेटेर उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी दिएको बताएका थिए।
उक्त हत्या गर्न प्रशान्तलाई उमेश यादवले निर्देशन दिई जिम्मा समेत दिएका थिए। हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको प्रहरी अनुसन्धानमा खुलेको थियो।