PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालयमा उपभोक्ता समितिको तालाबन्दी



सुमित मिश्र

भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालयमा उपभोक्ता समितिको तालाबन्दी

जनकपुरधाम : गत आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नगरिएको भन्दै उपभोक्ता संघर्ष समितिले धनुषाको जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ। प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएपछि बक्यौता रकम भुक्तानीको माग गर्दै उपभोक्ताहरुले कार्यालयमा ताला लगाएका हुन्।

उपभोक्ताहरुले तालाबन्दी गरेपछि कार्यालयको कामकाज पूर्णरुपले प्रभावित भएको छ। प्रदेश सरकारले भौतिक विकास निर्माणका लागि गठन गरेको उपभोक्ता समितिले सम्झौता अनुसार निर्माण कार्य भइसके पनि सरकारले रकम भुक्तानी नगरेपछि बाध्य भएर पूर्वाधार कार्यालयमा ताला लगाएको एक उपभोक्ता समितिका पदाधिकारी दीपक यादवले बताए। उनले आफूहरुले उधारो मागेर सम्झौता अनुसार कार्य गरेपनि भुक्तानी नहुँदा समस्यामा परेकोले तालाबन्दी गर्न बाध्य भएको बताए।

भुक्तानी नहुने सम्भावना बढि

सांसदहरुले संचालन गरेको योजनाको भुक्तानी नहुने सम्भावना बढेको छ। प्रदेश सभा बैठकबाट गठित उच्चस्तरीय संसदीय समितिले रकम दिन सरकारलाई निर्देशन दिए पनि कर्मचारीहरुले दिन नमिल्ने बताएका छन्। यो रकम भुक्तानी गरिए कर्मचारी नै फँस्न सक्ने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

‘अघिल्लो बर्षकै योजना भएकाले अघिल्लो बर्ष नै भुक्तानी भइसक्नुपर्ने हो’, मन्त्रालयका सचिव प्रेम श्रेष्ठले भने, ‘कानुन अनुसार यो बर्ष गत बर्ष गरिएका कामको भुक्तानी गर्न मिल्दैन।’

अघिल्लो बर्ष व्यवस्था गरिएको बजेटबाट अख्तियारी दिइएकाले यस पटक भुक्तानी हुनै नसक्ने अवस्था रहेको उनको भनाइ छ।

‘या त कार्यक्रमहरु बहुबर्षीय योजनाको हुनुपर्ने थियो, या त १८ नम्बर फारम भरेर राख्नुपर्ने थियो’ सचिव श्रेष्ठले भने, ‘त्यो पनि नभरेको र बहुबर्षे पनि नभएकाले विशेष किसिमको परिस्थिति आएको अवस्था छ।’

कर्मचारी आफैँले पनि निर्णय लिएर नहुने बताउँदै उनले यसो गरिए कर्मचारीमाथि नै प्रश्न आउने बताए।

‘काम नभएर बिल बनाएको पनि हुन सक्छ, यस सम्बन्धी सम्पूर्ण मन्त्रालय र कार्यालयहरुसँग राय मागिएको छ। तर राय आइपुगेको छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell