PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चुरे दोहन रोक्ने प्रयास गर्नेको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं : मुख्यमन्त्री राउत



सुमित मिश्र

चुरे दोहन रोक्ने प्रयास गर्नेको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन नरोकिने बताएका छन्।

नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन्।

जलवायु परिवर्तनलाई रोक्न ‘फिल्ड’मै काम गर्नु पर्ने बताउँदै मुख्यमन्त्री राउतले आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभा गोष्ठीमा केलाउने प्रवृति अन्त्य गर्नुपर्ने बताए।

चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै उनले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गरे।

उनले भने, ‘दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहुँ वन विनास हुँदैछ, रोक्ने प्रयास गर्नेहरुको हत्या हुँदैछ, हामी मुकदर्शक भएका छौं। प्रहरी हाम्रो मातहतमा छैनन्, संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन। यो भन्दा ठूलो दुर्भाग्यको कुरा अरु के होला।’

तलदेखि माथिसम्मको सेटिङमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भइरहेको आरोप समेत उनले लगाए।

विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइरहेको तर्फ सचेत गराउँदै मुख्यमन्त्री राउतले भने, ‘अहिले चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदै छन्। त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ। यसलाई रोक्न पर्यावरण विद्हरुलाई कलम चलाई दिनु पर्दछ। तीनै तहका सरकारको आँखा खोलि दिने काम गर्नु पर्छ।’

प्रकृतिमाथि भइरहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरिरहेको उल्लेख गर्दै उनले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठूलो समस्या निम्तिने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell