PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सदनले नेतृत्व नपाएसम्म पद नछाड्ने उपसभामुखको अडान, 'नेकपाले मलाई राजीनामा दिएर निस्क भन्न मिल्छ?'



सदनले नेतृत्व नपाएसम्म पद नछाड्ने उपसभामुखको अडान, 'नेकपाले मलाई राजीनामा दिएर निस्क भन्न मिल्छ?'

सभामुखमा उम्मेद्वारको टुंगो नलागेपछि अहिले सदन अवरुद्ध छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न केही हप्तादेखि छलफलमा जुटे पनि निर्क्यौल भइसकेको छैन।

यही बेला उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरेको चर्चा चलेको छ। हालै बसेको नेकपा सचिवालयको बैठकले भने उनलाई सभामुखको उम्मेद्वार तय गर्न उपसभामुखबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो। तर, शिवमायाले पदबाट राजीनामा नगर्ने अडान लिँदै आएकी छिन्। यही सन्दर्भमा उपसभामुख तुङ्बाहाङ्फेसँग गरिएको कुराकानीको सम्पादित अंश:

अहिले संसदमा गतिरोध देखिएको छ। तीन तीन पटकसम्म संसदको बैठक बस्न सकेन। यस्तो कहिलेसम्म जारी रहन्छ?

अब यो गतिरोध अन्त्य गर्ने अर्थात प्रतिनिधि सभाको बैठक शुरु गर्ने भन्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ उसको हातमा छ।

सांसद् अवरुद्ध गर्नुको कारण के त?

प्रतिनिधि सभाको सभामुख पद रिक्त छ। उक्त रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया अगाडि बढाउनकै लागि यो भइरहेको छ। उक्त निर्वाचन प्रकृया अगाडि बढाउन सत्तारुढ दलले मैले उम्मेद्वार बनाउँछु भनेर उसले अगाडि भनेको थिएन र अहिले तीन दिन जति भयो उसले सभामुख पद्मा उम्मेद्वार बनाउँछु भनेको छ। यद्यपि त्यो दलले आफ्नो उम्मेद्वार तयार गरेको छैन। जसको कारणले पुस २७ गतेको बैठकलाई पनि केहीदिन पछाडि सारौं भन्ने आग्रह उहाँहरुले गरेपछि बैठक हामीले पछाडि सारेका छौं। 

संसदको गतिरोध त संसद भित्रैबाट खोल्ने अभ्यास हो। तर, राजनीतिक दलको राजनीतिक निर्णयबाट खोल्ने अथवा त्यसको गतिरोध अन्त्य गर्ने भन्ने कुराहरु आइराखेका छन् नि?

यसमा के हुन्छ भने, संसदभित्र देखिएको गतिरोधलाई व्यवस्था गर्न अथवा अन्त्य गर्नको निम्ति प्रतिनिधि सभाभित्र जुनजुन दलहरुले प्रतिनिधित्व गरेका हुन्छन ती दलहरुभित्र कुन विषयमा कसरी गतिरोध भयो भन्ने विषयलाई निक्र्योल गरेर, छलफल गरेर, अन्तरसम्बाद गरेर व्यवस्थापन गर्ने कुरा रहन्छ। तर अहिलेको विषय फरक हो। अहिले प्रतिनिधिसभा सभामुख पद रिक्त छ। त्यो रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रक्रिया बढाउनु पर्ने तर अगाडि बढाउन सत्तारुढ दलले उम्मेद्वार दिन्छु भनेर भर्खर घोषणा गर्‍यो। त्यही कारणले गर्दा हामीले संसद अथवा प्रतिनिधिसभाको बैठकबाट सबैभन्दा पहिला सभामुख पदको निर्वाचन गर्नुपर्ने हो र त्यो प्रकृयालाई अगाडि बढाउनुपर्ने हुन्छ। 

सभामुखमा केन्द्रित पात्रका रुपमा तपाईलाई पनि राखिएको छ। तर, तपाईको त राजीनामा मागिएको छ नि?

केन्द्र विन्दुमा अहिलेको प्रतिनिधिसभा जहाँ सभामुख पद रिक्त छ र त्यो भइसकेपछि प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्ने र नेतृत्वदायी भूमिकामा बसेर कामकारबाही गर्ने उपसभामुख केन्द्रविन्दुमा रहने स्वभाविकै हो यसलाई अन्यथा मान्न मिल्दैन र स्वभाविक रुपले संस्थालाई नेतृत्व प्रदान गर्न पर्छ। र अहिले भर्खरै यहाँले भन्नुभयो मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको नेकपाले राजीनामा दिनको निम्ति निर्देशन जारी गर्‍यो भन्ने थाहा पाएको थिए।

तर म एउटा स्वतन्त्र संस्था, जुन संस्था एउटा देशको तीन प्रमुख संस्थाहरु मध्ये एउटा संस्था व्यवस्थापिका र त्यो व्यवस्थापिकामा प्रमुख पद्मा रहेको व्यक्तिले राजीनामा दिए पछाडि दोस्रो तहमा बसेको व्यक्ति जो उपसभामुखले नेतृत्व गरिराखेको छ त्यसलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाउ भनेर भन्न संविधानतः मिल्दैन। र म अहिले प्रतिनिधि सभामा बसेर काम गरे पछाडि म एउटा स्वतन्त्र व्यक्ति हुँ। जतिबेला मलाई दलले उम्मेदवार बनाएर म निर्वाचित भए त्यस पछाडि मैले दल त्याग गरेको छु। मैले कुनैपनि पदमा साधारण सदस्य समेत नरहनेगरी दलबाट बाहिर निस्किए। र बाहिर निस्किएपछि स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व गर्नुपर्छ र अहिले पनि गरिरहेको छु। उपसभामुख किन राजीनामा नदिइ बस्यो त। दलले निर्देशन दिइसक्यो तर अटेर गर्‍यो भन्ने पनि सुनेको छु। तर यस कुरामा मेरो कुरा के छ भने यो प्रतिनिधि सभा एउटा संस्था हो र जुन संस्थालाई मैले नेतृत्व प्रदान गरिराखेको छु। नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजीनामा दिएर बाहिर निस्क भन्न मिल्दैन र भनेपनि मैले यो संस्थालाई खाली गर्न हुँदैन भन्ने नै हो। किन भने संविधानले प्रतिनिधि सभालाई कुनै एउटा समयमा रिक्त हुन भनेर कल्पना गरेको छैन्। सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छ भनेर नै कल्पना गरेको छ। त्यो परिकल्पनालाई हामिले ग्रहण गर्नुपर्छ। अहिले म उपसभामुखबाट नेतृत्व गरिरहेको छु। जबसम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन त्यतिवेला सम्म मैले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्व विहिन बनाएर छोडने पक्षमा म छैन।

नेकपा सचिवालय बैठकले गरेको निर्णयको आधिकारिक जानकारी तपाईसम्म आएको छैन त्यसो भए?

पठाएको छ रे। तर मैले त्यो बुझेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell