PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विवादमा दीपिकाको जेएनयू यात्रा : बाबा रामदेव भन्छन् ,'ठूलो निर्णय लिँदा उनले म जस्तो स्वामीको सल्लाह लिनुपर्छ'



विवादमा दीपिकाको जेएनयू यात्रा : बाबा रामदेव भन्छन् ,'ठूलो निर्णय लिँदा उनले म जस्तो स्वामीको सल्लाह लिनुपर्छ'

भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) बाहिर विद्यार्थीहरु अहिले दिनहुँजसो 'आजादी' को नारा लगाइरहेका छन्। आजादी अर्थात स्वतन्त्रता।

स्वतन्त्रता विश्वविद्यालयको भाइसचान्सलर (उपकुलपति) बाट। अझ उनीहरु केन्द्रमा सरकारको नेतृत्व गरिरहेका नरेन्द्र मोदीसँग धेरै नै असन्तुष्ट छन्। विश्वविद्यालयमा शूल्क वृद्धि गरेसँगै त्यहाँका विद्यार्थी संगठनहरुले करिब दुई महिनायता विरोध गर्दै आएका थिए।

तर जनवरी ५ मा विश्वविद्यालय भित्रै पसेर विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेपछि 'जेएनयु' राष्ट्रिय मुद्दा बनेको छ। कुरुक्षेत्र बनेको विश्वविद्यालयमा आक्रमणको निशाना बनेकी थिइन् जेएनयु विद्यार्थी संघकी अध्यक्ष आइशी घोष। मास्कधारी समूहको प्रहारबाट उनको टाउको र चोट लागेको थियो। अन्य कयौं विद्यार्थीमाथि रडले प्रहार गरिएको थियो।

उक्त आक्रमणमा भारतको सत्ताधारी दल भातरीय जनता पार्टी (भाजपा) को विद्यार्थी संगठन अखिल भारत विद्यार्थी परिषद् (एबीवीपी) को संलग्नता रहेको आरोप लेफ्टका विद्यार्थीहरुले लगाउँदै आएका छन्। इन्डिया टुडेले गरेको स्टिङ अपरेशमा पनि उक्त आक्रमणमा एबीवीपीको संलग्नता रहेको देखिएको थियो।

यसैबीच जेएनयुमा भएको उक्त घटनाको समर्थन र विरोध भइरहेको छ। भाजपाका समर्थकहरु उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको र लेफ्टको पूर्व योजनामा उक्त घटना भएको बताइरहेका छन्।

जेएनयुमा एकातिर विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन्, अर्कोतर्फ यस आन्दोलनले बलिउडलाई समेत प्रभावित पारेको छ। स्वरा भास्कर, दिया मिर्जा, वरुण धवन, तपस्वी पन्नु, फरहान अखतर लगायतका बलिउड कलाकारहरु दिल्लीको यस आन्दोलनमा सहभागी भए। घाइते विद्यार्थीहरुलाई सहानुभूति दिए र आन्दोलनमा एक्यबद्धता जनाए।

यतिबेलासम्म यी सबै कलाकारहरु भाजपा र एबीवीपीको निशानामा परे। उनीहरुलाई 'राष्ट्रविरोधी' अभियानमा सहभागी भएको आरोप समेत लगाइयो।

तर, बलिउड र राष्ट्रिय राजनीतिमा तब बबण्डर मच्चियो जब यस आन्दोलनमा दीपिका पादुकोणको प्रवेश भयो।

जनवरी ५ मा जेएनयुमा भएको आक्रमणको केही दिनपछि दीपिका जेएनयु पुगेकी थिइन्। त्यहाँ उनले घाइते भएकी घोष लगायतका विद्यार्थीहरुलाई भेटिन्। उनी त्यहाँ पुग्दा बोलिरहेका कहैन्या कुमार। सत्तारुढ पार्टीका लागि कन्हैया 'देशद्रोही' हुन्। तर ६ वर्ष देखि सत्तामा रहेको मोदी सरकारले उनीविरुद्ध प्रमाण जुटाउन सकिरहेको छैन। र त कन्हैया अहिले मोदीसँगै ' मोटा भाइ' अर्थात गृहमन्त्री अमित शाहलाई खुलेर आफूलाई गलत साबित गर्न चुनौती दिइरहन्छन।

दीपिका जेएनयु पुग्दा कन्हैया मोदी सरकारलाई चुनौती दिइरहेका थिए। 'आजादी' का नारा लगाइरहेका थिए। विद्यार्थी उनलाई साथ दिँदै थिए। तर त्यही उभिरहेकी दीपिका भने चुप बसिन्। न केही बोलिन् न त नारा लगाइन्।

केही समय बसेर हिँडिन्। त्यसपछि सुरु भयो महाभारत। दीपिकालाई त्यहाँ आफ्नो फिल्मको प्रोमोशन गर्न पुगेको आरोप लगाइयो। सत्तारुढ दलका नेताहरुले उनको देशभक्ति माथि नै प्रश्न खडा गरे।

केन्द्रीय सरकारमा महिला तथा बाल विकास मन्त्री रहेकी स्मृति इरानीले दीपिकाको राजनीतिक विचारधारामाथि प्रश्न खडा गर्दै भनिन्,'  भारत विभाजित गर्न लागिपरेका मानिससँगै उभिनु दुभाग्यपूर्ण हो।'

अनि प्रश्न खडा भयो वाक स्वतन्त्रताको , प्रदशर्नको अधिकारको।

'के मोदी सरकारको समर्थन गर्नेले मात्रै देशभक्तिको सर्टिफिकेट पाउने हो' भन्दै दीपिकाको बचाउ गर्न एक जमात खडा भयो। सत्तारुढ दलका त्यसको भातृ संगठनले त दीपिकाको फिल्म 'छपक' माथि प्रतिबन्ध लगाउने घोषणा नै गर्‍यो।

यता, दीपिकाले भने आफूले विद्यार्थीमाथि भएको आक्रमणको विरुद्धमा भएको आन्दोलनलाई समर्थन मात्रै गरेको बताइन्। आजतकसँगको अन्तर्वातामा उनले भनिन्,'  मैले दुईवर्ष अघि पद्मावत प्रदर्शन हुने बेला नै सबै भनिसकें। आज जे देख्दैछु, यसले मलाई निकै दुखी बनाएको छ। यसले हाम्रो राष्ट्रलाई बलियो बनाउँदैन।' उनले जेएनयुमा भएको घटनापछि कुनै कारवाही नभएको प्रति आफूलाई क्रुद्ध बनाएको समेत बताएकी थिइन्।

यसैबीच दीपिकाको फिल्म 'छपक' प्रदर्शन भयो। सिनेमा हलहरुमा यसले राम्रै व्यापार गरिरहेको छ। तर, आज योग गुरुका रुपमा प्रसिद्ध रहेका बाबा रामदेवले दीपिकाबारे बोलेर नयाँ बहस सिर्जना गरेका छन्।

भाजपा निकट मानिने रामदेवले दीपिकाजस्तो अभिनेत्रीले सल्लाह लिनका लागि 'स्वामी रामदेव' जस्तो मानिस आवश्यक रहेको तर्क गरेका छन्।

रामदेवले भने,' उनी त्यहाँ गइन्। धेरैले प्रशंसा गरे। तर, विरोध गर्नेहरु पनि थिए। समाज,राजनीति, संस्कृति र देश बुझेर जीवनमा ठूला निर्णय लिनुपर्छ। त्यसलैले मलाई लाग्छ दीपिका पादुकोणलाई सहि सल्लाह दिनका लागि स्वामी रामदेव जस्तो मानिस चाहिन्छ।'

एकातिर भारतीय अदालतले प्रदेशन गर्नु नागरिकको अधिकार रहेको बताइरहँदा अर्को तर्फ त्यस्तै प्रदर्शनमा सहभागी हुन गएकाहरुमाथि लक्षित गर्दै आक्रमण हुनेले भारतमा सहिष्णुता हराउँदै गएको आभाष भएको आरोप लाग्न थालेको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell