PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण, वडाध्यक्षको आरोप : मेयर साहले आर्थिक चलखेल गरे



सुमित मिश्र

व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण, वडाध्यक्षको आरोप : मेयर साहले आर्थिक चलखेल गरे

जनकपुरधाम : विश्व सम्पदामा सूचीकरणको लागि सिफारिस गरिएको प्रदेश २ को राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिर फुलबारीको जग्गा जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा अतिक्रमण गरेको छ। नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत शत्रुधन यादवले जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको बताए।

व्यक्तिगत जग्गा जोगाउन सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागिरहँदा मंगलवार नापी कार्यालय धनुषाले सार्वजनिक गरेको प्रतिवेदनमा आरोप प्रमाणित भएको छ।

उपमहानगरपालिकाले एडिबी परियोजना अन्तर्गत निर्माणाधिन सडक विस्तारको क्रममा व्यक्तिको निजी जग्गा जोगाउन जानकी मन्दिर फुलबारीको करिब ४ कट्ठा १ धुर जग्गा अतिक्रमण गरेको मंगलवार सार्वजनिक गरिएको नापजाँच प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत साता जिल्ला प्रशासन कार्यालयको प्रयासमा नापी कार्यालयद्वारा सरोकारवाला निकाय, बुद्धिजीवी र नागरिक समाजको रोहबरमा गरिएको स्थलगत नापजाँचबाट जानकी मन्दिर फुलबारीको सि.न. १३५५-२४ को कि.नं. ८ मा उत्तर मोडमा ४.८८ र ४.८५ मिटर, बीचमा ०.७० र पुर्व-दक्षिण मोडमा ३ मिटर गरी कुल ०-४-१-० क्षेत्रफल जग्गा अतिक्रमणमा परेको ठहर गरिएको छ।

सो सि.नं. कि.नं. २५४ मा मात्र १ मिटर, २५५ मा ०.९० मि., १५० मा ०.७०, २५२ मा ०.६० मिटर मात्र जग्गा लिइएको छ। तर कि.नं. ३४, ३५, ६२, ६३, १३८ मा एक इन्च पनि जग्गा सडक विस्तारमा नलिइएको नापजाँचपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख छ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्ना नातागोतामा पर्ने व्यक्तिहरुको घर जोगाउन आपसी लेनदेनको आधारमा केहीको कम जग्गा लिइएको र अधिकांशको जग्गा नै अधिग्रहण नगरेको आरोप स्थानीयले लगाउँदै आएका छन्।

अतिक्रमण गरी बनाइएका संरचना हटाई सम्पदा क्षेत्र जोगाउने जिम्मा पाएका मेयर साहले आर्थिक चलखेल गरि जानकी मन्दिरलाई समाप्त पार्ने खेलमा लागेको जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले आरोप लगाए।

नगरप्रमुख साहले अतिक्रमण गरिएको जग्गामा बनाइएको घर हटाउने जिम्मा पाएपनि अतिक्रमणमुक्त बनाउन कुनै तत्परता नदेखाएको भन्दै स्थानीय पटकपटक आन्दोलन समेत गर्दै आएका छन्। जानकी मन्दिरको जग्गा अतिक्रमण गरी ९ मिटरको बाटो बनाउन लागिएको छ।

जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणकै समाचार संकलनका लागि उपमहानगरपालिकाको कार्यालय पुग्दा मेयरकै कार्यकक्षमा पत्रकारलाई कुटपिट गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell