PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सपनामात्रै बाँड्ने मेयरको कुनै काम छैन ‘फेयर’



सुमित मिश्र

सपनामात्रै बाँड्ने मेयरको कुनै काम छैन ‘फेयर’

जनकपुर : स्थानीय तहको निर्वाचन पछि जनताले गाउँगाउँमा सिंहदरबार पुगेको आभाष गर्ने कुरा त परै जाओस् ठूलो भरोसा गरिएको स्थानीय सरकार ‘भ्रष्ट’ बनेको सहजै देख्न सकिन्छ। जनप्रतिनिधिले आफ्नो संवैधानिक हैसियतलाई दुरुपयोग गरी कार्यकर्ता र नातागोतालाई भर्ती केन्द्रको साधन बनाउँदा जनता निराश बनेका छन्।

यसको प्रत्यक्ष उदाहरण हो, धनुषाको जनकपुरधाम उपमहानगरपालिका। विश्व प्रसिद्ध धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरधामलाई समृद्ध तथा नमुना नगर बनाउने योजना रहेको भन्दै उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा देशकै धार्मिक तथा सांस्कृतिक समृद्धिको केन्द्र बनाउने नीति तथा कार्यक्रममा समावेश गरेको थियो।

मेयरको प्रतिवद्धता बोलीमै सीमित

जनकपुरधामका ऐतिहासिक सांस्कृतिक धरोहरहरुको संरक्षण, संवर्द्धन, पर्यटन प्रवर्द्धन र रोजगारीलाई प्राथमिकता दिइएको उपमहानगरका मेयर लालकिशोर साहले सार्वजनिक कार्यक्रमहरुमा पटक पटक प्रतिबद्धता जनाइरहेका हुन्छन्। तर उनका ति प्रतिबद्धता कार्यकाल अवधिको साढे दुई बर्षसम्म पनि बोलीमै सिमित रहेको स्थानीयको गुनासो छ।

उनले उपमहानगरको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण तथा विकासलाई प्राथमिकता, शिक्षा, स्वास्थ्यलगायत सामाजिक पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, सुरक्षित बस्ती सुनिश्चितता, शौचालय तथा रंगभूमि मैदानको सौन्दर्यीकरण, गरिबी न्यूनीकरण, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, हरियाली प्रर्वद्धन लगायतका कामहरु गर्ने प्रतिबद्धता नजनाएका होईनन्। मात्रै त्यसको कार्यान्वयन भने हालसम्म हुन सकेको छैन।

फुलबारी जग्गा अतिक्रमणमा आर्थिक चलखेल

धार्मिक नगरलाई संरक्षण र प्रवर्द्धन गर्ने दायित्व बोकेको स्थानीय सरकारका जनप्रतिनिधि नै आर्थिक प्रलोभनमा परि विश्व प्रसिद्ध जानकी मन्दिरको फुलबारीको जग्गा समेत अतिक्रमण गरेका छन्।

मेयर साहले व्यक्तिगत घरलाई जोगाउन लाखौँ रकम लिइ फुलबारीको जग्गा अतिक्रमण गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह लगायतको आरोप छ।

सडक निर्माणको क्रममा जानकी मन्दिरको फुलबारीलाई अतिक्रमण गरी बाटोमा परेका व्यक्तिका घरजग्गा जोगाउनका लागि जानकी मन्दिर वरिपरिका होटेल व्यवसायीहरुसँग मेयर साहले ८५ लाख रुपैयाँ लिएको युवा अभियन्ता सुशिल कर्णको दावी छ।

आफन्त र नातागोता भर्ती केन्द्र

नगर प्रमुख साहले उपमहानगरपालिकालाई आफन्त, नातागोता र कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा प्रयोग गर्न थालेको आरोप समेत स्थानीयको छ। पछिल्लो पटक मेयर साहले करारमा कर्मचारी भर्ना गरेकामा आफ्ना भान्जा र भतिजा लगायतका व्यक्तिसहित कार्यकर्ताहरु रहेका छन्। 

नगरमा विद्युतिय बल्बदेखि पावर जडान, मास्क लाइट लगायत खरीदमा लाखौं अनियमितता गरेको भन्दै साहका भान्जा अरुण साहसहित ६ जनालाई अख्तियारले कारबाही गरिसकेको छ। भ्रष्टाचार र अनियमिततामा मात्र सिमिति नभई मेयर साह विलासी समेत बनेका छन्। जसको उदाहरण उनले चढ्दै आएको करिब डेढ करोड रुपैयाँ बराबरको विदेशी गाडी हो।

गत आर्थिक बर्षमा मनोमानी खर्च 

मेयर साहले गत आर्थिक वर्ष २०७५/०७६ मा पदाधिकारीको बैठक भत्ता वापत १९ लाख ७५ हजार ७२ रुपैयाँ, अनुगमन मूल्यांकन खर्च वापत १७ लाख ६ हजार ४ सय ९६ रुपैयाँ, नगरसभा सञ्चालन खर्च वापत ५७ लाख ९ हजार ५ सय ६४ रुपैयाँ, पदाधिकारीको इन्धन खर्चमा ५ लाख, कार्यालय प्रयोजनवापतको इन्धनमा ६५ लाख, सरसफाइ संरचना निर्माणमा १ करोड ४४ लाख ४४ हजार ६ सय ९४ रुपैयाँ, विभिन्न कार्यक्रमको खर्चमा ३० लाख ४३ हजार ५ सय ५७ र विविध शीर्षक अन्तर्गत ६९ लाख ४ हजार ५० रुपैयाँ खर्च गरेको स्रोतको दावी छ। तर मेयर साहले सञ्चारकर्मीले सूचना माग गर्दा विस्तृत सूचना उपलब्ध नगराउन कर्मचारीलाई ठाडो निर्देशन नै दिएका छन्। 

जनकपुरधाम उपमहानगरपालिकामा हालसम्म सूचना अधिकारी समेत नियुक्त गरिएको छैन। राज्यको रकम र स्थानीय जनताले तिरेको करमा पनि ब्रम्ह्लुट हुन थालेको सेवाग्राहीहरुको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell