जनकपुरधाम : धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज (बुधवार)देखि शुरु भएको छ।
प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो। मकर मेला प्रत्येक वर्ष माघ १ देखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ। मेलाभरि लाखौंको संख्यामा दर्शनार्थीहरुको सहभागिता रहन्छ।
धनुषाको मकर मेलामा छाला रोग, ऐल्हा रोग निको हुने किंवदन्ती छ। मसाला (तेजपात) एक महिनाकै लागि मेलाभरी आकर्षणको केन्द्र मानिन्छ। नेपालसहित भारतका विभिन्न स्थानबाट पनि पर्यटकहरु मेला भर्न धनुषाधाम आउने गर्छन्।
धनुषाधामको महत्व
त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ।
विष्णु पुराणका अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो। परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए। रामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको थियो। एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरधामको धनुष क्षेत्रमा छ।
धनु खसेको जनकपुरधामको पोखरी धनुषसागरको नामले चिनिन्छ। मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताए। धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ। उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ। अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ।
धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको हो। भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन्। जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाआर्चना गर्न वर्षेनी लाखौँको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउँछन्। यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउँछन्।
वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए। यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ।
प्रदेश २ को पर्यटकीय गन्तव्य
शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वतःस्फूर्त रूपमा अध्यात्मिक केन्द्रविन्दु रहँदै आएको धनुषाधामलाई कतैबाट पनि गम्भीरतापूर्वक पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम नगरिएको पूजारी दास बताउँछन्।
धनुषाधाममा बाह्रै महिना श्रद्धालुहरू पुग्ने गरेको भएपनि माघभरिको मेला अवधिलाई नै प्याकेजको रूपमा विकसित गर्नुपर्ने उनको भनाइ छ।