गत शुक्रबार दिउँसो चितवन रत्ननगरका प्रमिश भण्डारीलाई एक्कासी रुघा लाग्यो। खेलिरहेका छोरालाई रुघाले ग्रस्त पारेपछि बुबा रमेश भण्डारी चुप बस्ने कुरै भएन। रमेश आफैँ स्वास्थ्यकर्मी भएकाले उनी तर्क गर्दै थिए - रुघा भन्दैमा चुप बस्नु हुँदैन।
नारायणी सामुदायिक अस्पताल पुर्याउँदा डाक्टर नारायणबहादुर थापाले बच्चाको अवस्था सामान्य नै रहेको निर्क्यौल गरे। तर, त्यसै दिन बेलुकीपखदेखि नै प्रमिशले सुस्त व्यवहार गर्न थाले। उनको प्रतिक्रिया निकै ढिला अनि असामान्य देखिन्थ्यो।
बेलुकी खाना खाएपछि एकपटक वान्ता पनि गरे। बिस्तारै उनको शरीर चिसिँदै गयो। अनि काम्न थाले।
र, पुन: नारायणी सामुदायिक अस्पताल नै लगियो उनलाई। इमर्जेन्सीमा राखियो।
फेरि उस्तै गरी औषधी दिइयो र वार्डमा सारियो। उनको दिसा, पिसाब परीक्षणका लागि पठाइयो। रिपोर्ट नआउन्जेल कुर्नुको विकल्प थिएन। प्रमिशले पटकपटक वान्ता गरेपछि भने अवस्था सामान्य रहेन। सामुदायिक अस्पतालमा आइसियु छैन। त्यसैले चितवनकै निको बाल अस्पताल रेफर गरियो। त्यहाँ पनि अवस्था उस्तै। आइसियु खाली रहेनछ। प्रमिशलाई निकै गाह्रो भइसकेको थियो। बिहानसम्म खेलिरहेको बालक राति भने सास फेर्नका लागि संघर्ष गर्दै थिए।
अस्पतालले ‘हाइपोभोल्मिक सक’ घोषणा गर्यो। अर्थात्, प्रमिशको शरीरको केही प्रतिशत भागमा रक्त सञ्चार भएको छैन भनियो। सामान्य रुघा बाहेक केही नभएको छोराको शरीरमा रक्त सञ्चार कम भएको कुरा परिवारका लागि पत्याइनसक्नुको विषय थियो। अस्पतालले पनि त्यहाँ उपचार सम्भव नभएको बताएपछि काठमाडौं ल्याइने भयो।
सास प्रस्वास असामान्य थियो। झण्डै सय किलोमिटर लामो दुरी एम्बुलेन्समा पार गर्नु थियो। फेरि राजमार्गको यात्रा, जामको टुङ्गो हुन्न। त्यस्तो अवस्थामा उसलाई हातले पम्प गर्ने एम्बु ब्यागको सहायतामा ल्याइयो।
काठमाडौंको आशा गर्ने ठाउँ थिए। किनकि यहाँ मुलुककै एक मात्र सरकारी बालबालिका केन्द्रित कान्ति बाल अस्पताल थियो। शनिबार बिहान करिब ७ बजे उनलाई कान्ति पुर्याइयो। तर, त्यहाँ पनि आइसियु खाली थिएन। नजिकै रहेको अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल त पुर्याइयो तर अस्पतालले भर्ना भने लिएन। प्रमिश मृत घोषित भए।
खेल्दाखेल्दैको जीवनको अप्रत्याशित अन्त्य भयो।
उसको मृत्युको कारण के? प्रश्न भने अनुत्तरित नै रह्यो।
अनि त्यही अनुत्तरित प्रश्नको जवाफ पर्खिरहेका थिए चितवन रत्ननगरकै प्रकाश आचार्य। उनी शुक्रबार बिहानै मैत्री बाल अस्पताल पुगेका थिए, ६ वर्षीय भतिज समिक आचार्यलाई लिएर। उनको पनि समस्या उस्तै।
गत सातादेखि समिकलाई रुघा लागेको थियो। ज्वोरो, खोकी थिएन। चिसोमा रुघा लाग्नुलाई सामान्य नै माने सुरुमा। तर, बिहीवार बिहान समिकले एक्कासी वान्ता गरे। प्रकाशले उनलाई स्थानीय मेडिकलमा लिएर गए। मेडिकलमा वान्ता रोकिने औषधी दिइयो। तर, औषधीले काम गरेन। वान्ता थामिएन। त्यसैले सोही दिन नारायणी सामुदायिक अस्पतालमा लगियो। भर्ना गराइयो। वान्ता हुने क्रम रोकिएन।
रातको बाह्र बजेपछि भने उनी काम्न थाले। जिब्रो, हात, खुट्टा दह्रो बनाएर बेहोस् भए। नारायणी अस्पतालले उपचार सम्भव नभएको बताएपछि काठमाडौं रेफर भयो।
उसलाई पनि प्रमिशलाई जस्तैगरी सास प्रस्वासमै समस्या। एम्बु ब्यागको सहायतामा काठमाडौं ल्याइयो। शुक्रबार बिहानै अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल पुर्याएको थियो उनलाई। उपचार भने खासै भएन किनकि उनलाई सिधैं भेन्टिलेटरमा पुर्याइयो।
‘भेन्टिलेटरमा रहनुको अर्थ सास रहनु हो। सास रहुन्जेल आश रहने त हो,’ समिकका काका प्रकाशले पहिलोपोस्टसँग भने, 'उस्तै समस्या भएर ल्याएको अर्को बाबुको निधनले भने अत्यायो।' यता अस्पतालमा भेन्टिलेटरमा रहनुबाहेक अरु उपचार भएको थिएन। समस्या पत्ता नलाग्नु अर्को समस्या बनेको थियो।
शनिबार अस्पतालले समिकको ढाडको पानी जाँच गर्दा परिवारमा आशा पलाएको थियो- उसलाई ठीक हुन्छ। तर, अमेरिकाबाट समिकका आमाबुबा मुना सुवेदी र शिवप्रसाद आचार्य आइपुग्नु र समिक मृत घोषणा हुनु एकै पटक भयो।
दु:खद घटनाले फैलाएको त्रास र यथार्थ
चितवनका दुई बालक। एकै उमेर समूहका। अनि लक्षण पनि एकैखाले। दुवै काठमाडौं नै रेफर भएका पनि। एम्बु ब्यागको सहारामा सास फेराउँदै ल्याइएका दुवै अन्तत: सासविहीन भए। यतिखेर दुवैको परिवार शोकमा छ। सँगै चितवनका धेरै अभिभावक त्रासमा। समिक र प्रमिशको निधनको खबरसँगै उनीहरुको जस्तै समस्याको प्रकोपबारे 'अफवाह' फैलियो - 'चितवनकै १५ जनामा यस्तै समस्या देखेर कान्ति अस्पतालमा भर्ना गरिएको छ।'
‘मेरा चिनजानका मानिसहरुले आफ्नो छोराछोरी काठमाडौं पठाउन थालिसके। समस्या पहिचान नभइ मानिस आतंकित भएका छन्। अब यो सबै नियन्त्रण कसले गर्ने?,’ प्रमिशका बुबा रमेश भण्डारीले भने। उनलाई चितवनमा डाक्टरले जाँच नगरी सामान्य रुघाको औषधी दिनु र अवस्था गम्भीर भएपछि उपचार गर्न सक्दैनौं भन्दै रेफर गरेकोमा चित्त बुझेको छैन।
अस्पतालले समस्या पत्ता लगाउनु पर्छ र त्यस बारे मानिसलाई सचेत गराउनु पर्छ भन्ने लाग्छ उनलाई। ‘अस्पतालले अनुमानको भरमा सामान्य रुघा वा ज्वरो भनेर औषधी दिनु भएन। हामीले त सबैकुरा गुमायौं तर यस्तो अब कसैलाई नहोस्। त्यसका लागि पनि उचित अनुसन्धान हुनुपर्छ,’ उनले भने।
यसै विषयलाई लिएर नारायणी सामुदायिक अस्पतालका बाल रोग विशेषज्ञ नारायण थापालाई प्रश्न गर्दा उनले भने- ‘छारे रोगजस्तो लक्षण देखिएछ। तुरुन्तै अन्त रेफर भयो। हामीले अनुसन्धान गर्नै पाएनौं।'
चितवनमा धेरै बालबालिकामा उस्तै समस्या देखिएर काठमाडौं रेफर गरिएको हल्ला फैलिएको भए पनि नारायणी सामुदायिक अस्पतालमा भने हाल समिक र प्रमिशपछि त्यस्ता केस आएको छैन।
त्यस्तै भरतपुर अस्पतालले पनि एउटामात्र उस्तै प्रकृतिको बिरामी काठमाडौं रेफर गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। भने, 'हल्ला भएजस्तो धेरै सङ्ख्यामा बिरामी आएका छैनन्।'
भरतपुर अस्पतालबाट रेफर गरिएको यस्तै प्रकृतिका एक अर्का बालकको भने कान्ति अस्पतालमा उपचार भइरहेको छ। उनलाई पनि भेन्टिलेटरमा राखिएको कान्ति अस्पतालका निर्देशक आरपी गाच्छीले जानकारी दिए। भने, 'हाललाई बच्चा बचाउनु प्राथमिकताको विषय हो। उसलाई के भएको भन्ने निश्चित छैन। भेन्टिलेटरबाट निकालेपछि आवश्यक अनुसन्धान र जाँच हुनेछ।'
कारण: एक्युट एन्सिफ्लाइटिस सिन्ड्रोम?
प्रमिशको निधनको कारण पुष्टि भएको छैन। वीर अस्पतालका डाक्टर सुधांशु केसी भन्छन्, 'हामीकहाँ पुलिस केसबाहेक पोस्ट मार्टम् गर्ने चलन छैन। यसले गर्दा धेरै कुरा थाहा हुँदैन।'
समिकको हकमा भने अस्पतालले ‘डेथ सर्टिफिकेट’ दिएको छ। जसमा उसलाई एक्युट एन्सेफ्लाइटिस सिन्ड्रोम भनिएको छ।
एक्युट एन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात् दिमागी ज्वरो वा दिमाग सुन्निएको अवस्था। जुन अवस्थामा मानिसको शरीरको रोग प्रतिरोधक क्षमता निकै कमजोर हुन्छ। वीर अस्पतालका न्युरोलोजिस्ट डाक्टर सुनिल कोइरालाका अनुसार जापानी एन्सेफ्लाइटिस भाइरसको संक्रमणलाई यसको प्रमुख कारण मानिन्छ। त्यसबाहेक विविध किटाणु वा भाइरसका कारण हुने संक्रमणले पनि यस्तो असर देखाउँछ। संक्रमितमा अत्याधिक टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने, मांसपेशी र जोर्नीहरु दुख्ने, थकाइ लाग्ने, बेहोस हुने, पक्षघात वा बोल्न सुन्न असहज हुने लगायत समस्या देखिन्छ।
तर, के ज्यान गुमाएका दुवै बालकमा यसैको संक्रमण भएको हो?
विशेषगरी लामखुट्टे, भुसुना लगायत अन्य किराहरुको टोकाइबाट एन्सेफ्लाइटिस सर्ने गर्दछ।
'सबै संक्रमण सरुवा हुँदैनन्। संक्रमित मानिसकै चाहिँ दिमाग हुँदै अन्य अंगहरुमा पनि असर पार्दै फैलन्छ,' कोइरालाले भने, ‘एन्सेफ्लाइटिसको लक्षण ढिला देखुनुका कारण यो समस्या समयमा पहिचान हुँदैन। समस्या समयमा पहिचान नहुनुका कारण उपचारका लागि ढिला हुन्छ।’
उक्त समस्या पहिचान गर्नका एमआरआइ गरेर शरीरका अङ्गहरुको अवस्था जाँच्नु पर्छ। त्यस्तै सिटी स्क्यान, रगत, दिसा र पिसाब जाँच, ब्याक्टेरिया वा भाइरस पहिचान गर्न स्पुटम कल्चर र दिमागी अवस्था जाँचका लागि इइजी आवश्यक पर्छ।
तर, काठमाडौं ल्याइएदेखि भेन्टिलेटरमा भएका समिकको लक्षणको आधारमा समस्या 'डायग्नसिस' गरियो। संक्रमण कम गर्नका लागि एन्टिबायोटिक र भाइरलका लागि एन्टिभाइरल दिइयो। दिमाग सुन्निएको कम गर्नका लागि आवश्यक औषधी समेत दिइएको रिपोर्टमा जनाइएको छ।
तर, अस्पताल आइपुग्दा बच्चाको अवस्था बारे बुझ्न खोज्दा, मैत्री बाल अस्पतालले जवाफ दिन खोजेन। अस्पतालका प्रमुख शान्तचन्द्र काफ्लेले सोही अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर मीनराज पाण्डेतर्फ औंला तेर्साइदिए। डाक्टर मिनराजले पनि दैनिक धेरै बालबालिकाको उपचारमा खट्ने भएकाले आफूलाई उक्त केसको बारेमा याद नभएको भन्दै पन्छिए। उनले अस्पतालका प्रशासन अधिकृत सुरेन्द्र श्रेष्ठसँग यस विषयमा कुरा गर्न भने।
सुरेन्द्रले भने, 'अस्पताल ल्याइपुर्याउँदा बच्चाको अवस्था नाजुक थियो। परिवारसँगको सहमतिमै भेन्टिलेटरमा राखिएको हो।'
भेन्टिलेटरमा राखिएको बालकको आवश्यक जाँचबिना कसरी समस्या पहिचान भयो त? सुरेन्द्रले लक्षणहरुलाई आधार मानेर एक्युट एन्सेफ्लाइटिस सिन्ड्रोम अनुमान गरिएको जानकारी दिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले भने यसरी एकै ठाउँका एकै उमेर समूहका बालबालिकामा एउटै किसिमको समस्या देखिनुमा अनुसन्धान आवश्यक भएको बताए। रोग अथवा शारीरिक अवस्थाको पहिचान केही प्रतिशत लक्षणहरुबाट हुने भए पनि समस्या नियन्त्रण वा न्यूनीकरणका लागि संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
'कारण पत्ता नलागी उपचार सम्भव छैन। यो निकै संवेदनशील विषय हो। संक्रमितको सङ्ख्या बढ्दो छ भने अनुसन्धान थाल्नुपर्छ,' उनले भने।
+++
प्लोस नेग्लेटेड ट्रपिकल डिजिजेजमा सन् २०१३ मा प्रकाशित एक जर्नलका अनुसार एसियामा मात्र वार्षिक एक लाख तेत्तिस हजार बालबालिका एक्युट एन्सिफ्लाइटिस सिन्ड्रोमबाट संक्रमित हुने गरेका छन्। जसमध्य एक चौथाई संक्रमण जापानी एन्सिफ्लाइटिसका कारण हुने गरेको देखिएको छ। उक्त अध्ययनकर्ताहरुले ७२ जना एक्युट एन्सिफ्लाइटिस संक्रमणको उपचार गराएका पाँचदेखि १२ वर्षका बालबालिकाको 'न्युरोलोजिकल फङ्सन', उनीहरुको सामाजिक सहभागिता र उपचार खर्च विवरण बारे अध्ययन गरेका थिए। संक्रमितमध्ये ६ जना बालबालिकाको मृत्यु भएको थियो भने ४८ प्रतिशत संक्रमित बालबालिका शारीरिक रुपमा अपाङ्ग भएका थिए। तीमध्ये आधाको चाहिँ नियमित उपचारपछि अवस्था पुन: सामान्य बन्दै गएको समेत जनाइएको छ।
सन् २०१९ मा भारतको बिहारमा एन्सिफ्लाइटिसको प्रकोप फैलिएको थियो। टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार बिहारको मुजाफ्फरपुरमा सन् २०१९ को जुनको पहिलो र दोस्रो सातामा मात्र १०८ जना बालबालिकाको मृत्यु भयो। त्यस समय लिचीमा भएको प्राकृतिक विषादीका कारण दिमागी ज्वरो फैलिएको र नियन्त्रणमा नआएको खबर भारतीय सामाचार माध्यमहरुमा प्रकाशित भएका थिए।
डाक्टर सुनिल कोइराला भन्छन्, 'नेपालमा सबै भाइरस पहिचान गर्न सक्ने मेसिन छैनन्। त्यसैले यो अवस्थामा अभिभावक सचेत रहन आवश्यक छ। छोराछोरीमा एन्सिफ्लाइटिसको कुनै पनि लक्षण देखिए जाँच गराउन लगौं।'
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चाँडो असर गर्ने उनको तर्क छ। त्यसैले सबै अभिभावकलाई सचेत र संवेदनशील हुनुपर्ने उनले बताए।
छोरो गुमाएका रमेश यतिखेर शोकमा छन्। शोकसँगै उनले सामना गर्नुपरेका प्रश्नहरुले उनलाई पनि नराम्ररी चिमोट्छ। आफै स्वास्थ्यकर्मी रमेशलाई मानिसहरुले सोध्ने गरेका छन्- 'के कस्तो लक्षणहरु देखिएको थियो?'
'तर यसमा लक्षण तत्काल देखिने रहेछ। एकै पटक रुघा लाग्यो अनि सुस्त भइहाले,' रमेशले भने, 'हामीले त सबै गुमायौं तर अरुलाई यस्तो नपरोस्।'