PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसपटकको लाटोकोसेरो महोत्सव स्याङ्जाको राङभाङ-भैसेगौंडामा



यसपटकको लाटोकोसेरो महोत्सव स्याङ्जाको राङभाङ-भैसेगौंडामा

काठमाडौं : किसानको साथी भनेर चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि स्याङ्जाको राङभाङ-भैसेगौँडामा लाटोकोसेरो उत्सव हुने भएको छ। उत्सव यही माघ २४ र २५ गते दुई दिन हुनेछ।

उत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य समेत राखिएको छ। नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ। यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा आयोजना गरिएका थिए। यस किसिमको उत्सव नेपाल बाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ।

उत्सव शुरु हुनुभन्दा दुई हप्ता अघि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिविरहरु सञ्चालन गरिने छ। उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु र सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिने छ। सोही दिन भुरुम, घोचा गाड्ने, ठेला, पाङग्रा घुमाउने, घुयत्रो जस्ता स्थानीय लोपोन्मुख खेलको प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरिने छ।

उत्सवको पहिलो तथा दोस्रो दिन स्वागत गीत, स्थानीय साँस्कृतिक कार्यक्रमहरु घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटि आदिको प्रदर्शनी हुनेछ। वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच समेत प्रदर्शन गर्ने बताइएको छ।

उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिताको आयोजना र उत्कृष्टको प्रदर्शनी समेत गरिनेछ। सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएका सूचना, चित्र, तथा फोटो प्रदर्शनी पनि गरिने छ। गहुँको छ्वालीबाट, चुराबाट, ढुंगाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन्।

आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ। उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ। उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ।

उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ।

यस वर्ष पुरस्कृत हुनेहरुमा पोखरा पंक्षी समाजका अध्यक्ष एवम संरक्षणकर्मी मनशान्त घिमिरे, धनघढीका पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष एवं काठमाडौं निवासी संरक्षणकर्मी विश्वनाथ रिजाल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेल रहेका छन्।

त्यस्तै लामो समयदेखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि सम्मान गर्न लागिएको छ। यसरी सम्मानित हुनेमा बर्दिया जिल्लामा कार्यरत बर्दिया प्रकृति संरक्षण क्लब र पाँचथरमा कार्यरत दिपज्योती युवा क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell