PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘कसैले पनि आफ्नो जरा बिर्सनु हुन्न, धरातल भुल्नु हुन्न’



‘कसैले पनि आफ्नो जरा बिर्सनु हुन्न, धरातल भुल्नु हुन्न’
डाक्टर शिवमाया तुम्बाहाङ्फे।

काठमाडौं : अन्तत: उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिने जनाएकी छिन्।

संसदमा उपसभामुख तुम्बाहाङ्फेले सम्बोधनका क्रममा मार्ग प्रशस्त गर्ने जनाएकी हुन्।

उपसभामुख डा तुम्बाहाङ्फेले संसदमा गरेको संवोधनको पूर्णपाठ :

सार्वभौम संसदको महत्वपूर्व अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएको जटिलता र समस्याबारे हामी जानकार नै छौँ। यस्तोस्थिति अब कायम हुनु हुँदैन। यसले छिट्टै निकास पाउनुपर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई मैले पटकपटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ।

अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर गरिमामय सदनलाई नेतृत्वविहीन राख्न नुहुने मान्यताका आधारमा सभामुख चयनको ठोस् आधार चयन भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु।

समावेशी लोकतन्त्र हाम्रो संवैधानीक व्यवस्थाको महत्वपूर्ण व्यवस्थाको रुपमा रहेको छ। संविधानको यो मर्म अक्षर या बचनबाट होइन हाम्रा अभ्यास र आचारणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ। राज्यको उच्च ओहोदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्किन सकेमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नु हुने राजनीतिक दल र नेतृत्ववर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएको छु।

यसै विश्वासमाथि आधारित रहेर आफ्ना धारणा सम्बन्धित निकायमा प्रस्तुत गरेको हुँ। मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वाकांक्षाका वा अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्नेमा दृढ छु। समयले यसबारेमा वस्तुनिस्ट मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ। लोकतन्त्र र खुल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन्। तिनको औचित्य परीक्षा समयको कसिमा घोटिएर भए झै हुन्छ। निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित समन्जस्यता हुनुपर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्‍याउनुपर्छ भन्ने लाग्छ।

दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएपनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ। उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन्, संविधान र कानुनको प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशिल हुन्छ। मैले पनि यसै अनुसार नै इमान्दारिताका साथ कर्तब्य पुरा गर्ने प्रयास गरेको छु।

तर, कसैले पनि आफ्नो जरा बिर्सनु हुन्न। धरातल भुल्नु हुन्न। र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा सचेत छु। विभिन्न पक्षमा यस अन्यौलको निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेकी छु। प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था छ। हाम्रो प्रचलित कानुनी र संवैधानिक व्यवस्थाका आधारमा सहजीकरण गर्नुपर्ने भएको छ। यसै अनुसार मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा निवेदन गर्न चाहन्छु।

उपसभामुखको रुपमा झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताएको अवधि मेरो जीवनमा अविस्मरणीय र सुखद अवधीको रुपमा स्मृतिमा रहेनछ। एउटा महिला,  त्यसमाथि पनि एकल अवस्थामा रहेको जनजाती पृष्ठभूमिबाट आएको व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसर। यसको श्रेय लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ।

न्यायपूर्ण र समृद्द समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र विश्रान्त रुपमा क्रियाशिल भइरहन्छु। कर्तव्य निर्वाहको सिलसिलामा सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell