PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आस्था राउत प्रकरण : कलाकारहरु भन्छन्, ‘आस्था गलत थिइन्, सहमतिमा यो मुद्दा टुंग्याउनुपर्छ’



आस्था राउत प्रकरण : कलाकारहरु भन्छन्, ‘आस्था गलत थिइन्, सहमतिमा यो मुद्दा टुंग्याउनुपर्छ’

गायिका आस्था राउत अहिले कन्सर्टका लागि सिक्किममा छिन्। तर, केही दिनयता भने नेपालमा उनको चर्चा ह्वात्तै बढेको छ।

बुधवार दिउँसो कार्यक्रमको लागि झापाको भद्रपुर जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा एक महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले भिडियोमार्फत आक्रोश पोखेकी थिइन्।

आफूमाथि दुर्व्यवहार भएको दावी गर्दा उनले प्रहरीलाई लिएर अपशब्द प्रयोग गरेकी थिइन्। त्यसपछि राउतको व्यवहारलाई नै लिएर विरोध भयो। सामाजिक सञ्जालमा उनको समर्थन र विरोध गर्ने जमात खडा भयो।

उनले प्रहरीलाई तल्लोस्तरमा उत्रिएर गालीसमेत गरेकी थिइन्। उक्त लाइभ भिडियोमा उनले प्रहरीलाई 'डन्ठिनी' देखि 'प्युसा प्युसिनी' समेत भन्न भ्याएकी छिन्।

प्रहरीलाई गाली गलौज गर्दा उनी आफै विवादमा फसेकी हुन्। त्यसो त विमानस्थलमा महिला सुरक्षाकर्मीले आफूलाई 'तँ' भनि सम्बोधन गरेको राउतले दाबी गरेकी थिइन्।

'रुट्स नै बिग्रको छ। आस्थाले भनेकी थिइन् 'नालीका किराहरुलाई कहिले सुधार्ने ? त्यो पुलिस डन्ठिनीहरु। त्यो सिपाही प्युसा प्युसीहरु। तिमीहरुको बोल्ने ढंग छैन् भने नबोल के।'

शुक्रवार प्रहरीले उक्त घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरिसकेको छ। भिडियो सार्वजनिक भएसँगै यो प्रकरण थप चर्चामा आएको छ।

भिडियो सार्वजनिक भएसँगै आस्थाले विमानस्थलमा देखाएको व्यवहार नराम्रो भएको प्रतिक्रिया ओइरियो। प्रहरीले आइतवार गायिका आस्था राउतविरुद्ध प्रशासन कार्यलय काठमाडौंमा उजुरी दर्ता गर्‍यो र उनी विरुद्ध पक्राउ पुर्जी जारी भयो।

आस्था प्रकरणलाई लिएर कलाकारहरु पनि विभाजित भएका छन्। कोही आस्थाको समर्थनमा छन् भने कोही उनको विपक्षमा छन्।

कलाकार दीपकराज गिरिले भने आस्थाले प्रहरी महिलासँग माफी माग्नु पर्ने बताएका छन्।

‘आस्थाले प्रहरी महिलासँग माफी माग्नुपर्छ। तर यसलाई ठुलो अपराधको रुपमा भने लिनुहुन्न’, गिरीले पहिलोपोस्टसँग भने, ‘सेलिब्रेटीलाई चाहिँ जाँच नै नगरी पठाउने भन्ने पनि हुँदैन। त्यसैले यो मुद्दा अदालतसम्म नपुर्‍याइ आस्था र प्रहरी महिला दुवैबीच सहमतिमा टुंग्याउनुपर्छ।’

त्यसो त कमै गायक गायिकाहरु मात्र आस्था प्रकरणको विषयमा खुलेर बोलेका छन्। हालै गायक प्रमोद खरेल पनि यस विषयमा बोलेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आस्था राउतलाई पक्रने आदेश दिएको छ। जहाँ सम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शब्दका कारणले  नै हुन्। जुन आफैमा केहि अस्वाभाविक र कलाकारलाई असुहाँउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरीका लागि निश्चय नै आपत्तिजनक हुन दुई मत छैन।’

<

उनले अघि लेखेका छन्, ‘सिसिटिभी फ़ुटेजमा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहाँ दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिङमा सहयोग नगर्ने आस्थाको कमजोरी हो दुई मत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ। उनी बिनाकारण नै रिसाइन त? पक्कै पनि होइन।’

साथै अनुसन्धान दुई पक्षीय नै हुनुपर्ने समेत उनले बताएका छन्।

अभिनेत्री करिष्मा मानन्धर पनि गायक प्रमोद खरेलको भनाइसँग सहमत छिन्।

उनले लेखेकी छिन्, ‘प्रमोदको कुरा १०० प्रतिशत सहि हो। दुवै महिला व्यक्तित्वहरुको आ-आफ्नो क्षेत्रमा महत्वपूर्ण स्थान छ। अनि घटनामा दुवैको गल्ती छ।’

आस्था प्रकरणमा दुवैको तर्फबाट छानबिन हुनुपर्ने मानन्धरले उल्लेख गरेकी छिन्। 

त्यस्तै गायक बद्री पंगेनीले भने यस विषयमा दुवै पक्ष नै जिम्मेवार रहेको बताए।

उनले भने, ‘आस्थाको गल्ती हो भने ठीकै छ, नियम अनुसार दुवै पक्षको गल्ती होला। तर प्रहरी प्रशासन पनि यस्तो घटना बारम्बार नदोहोरिएला भनेर जिम्मेवार चाहि हुनुपर्छ।’

यसै क्रममा गायक राजेश पायल राईले पनि विमानस्थलमा जाँच गर्नु प्रहरीको अधिकार रहेको बताएका छन्।

उनले केही दिन अघि सामाजिक सञ्जालमा आस्थालाई धेरै 'रुन्ची' नबन्न आग्रह गरेका थिए।

उनले लेखेका थिए, ‘विमानस्थलमा शाहरुख खानलाई त झन कट्टुमै चेक गरेको थियो। त्यो उसको अधिकार हो अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो? चेकिङमा कफी पानी लान पाइदैन् इभन वाल्लेट पनि पाइदैन्। आफ्नो इज्जत ठाँउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु पर्छ तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार। धेरै रुन्ची नबन अब तिमी ठुली भइसक्यौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell